शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

कुश्मा नगर अधिवेशनमा जोशी प्यानलको एकलौटी, हारेपछि धाँधलीको आरोप

बिहीबार, २१ माघ २०७२, १२ : ४२
बिहीबार, २१ माघ २०७२

पर्वत–कुश्मा नगरपालिकाको नगर अधिवेशनमा रामचन्द्र जोशी प्यानल भारी मतान्तरले विजयी भएको छ । नगर अधिवेशनमा संस्थापन पक्षका रामचन्द्र जोशी र शेरबहादुर देउवा पक्षका मोहन आचार्य प्यानल सहित चुनावी मैदानमा उत्रिएका थिए । पराजित समुहले निर्वाचनमा धाँधली भएको र पुनः निर्वाचनको माग सहित अन्तिम समयमा मतगणना वहिष्कार समेत गरेको थियो । मोहन आचार्यलाई सात सय ९८ मतले पछि पार्दै रामचन्द्र जोशी नगर सभापति बनेका हनु् । अन्य सबै पदमा पनि ठुलो अन्तरले जोशी प्यानल नै विजयी भएको छ । जोशी प्यानलमा सचिव कमलप्रसाद पौडेल दया सुवेदी भन्दा सात सय ६९ तथा कोषाध्यक्ष शिवराज शर्मा प्रितमकुमार गुरुङ्गलाई पाँच सय ५८ मतले पछि पार्दै विजयी भएका छन् । सदस्यहरु कालिकाप्रसाद शर्मा नौ सय ७६, कुलप्रसाद पाध्या नौ सय ९९, कौशलचन्द्र रिमाल नौ सय १०, चित्रबहादुर क्ष्ोत्री नौ सय २०, झलक शर्मा पोखरेल आठ सय ७६, दु्रपती रिजाल आठ सय ५०, धनबहादुर भण्डारी सात सय ८४ र सुरेन्द्र केसीले आठ सय ७८ मत ल्याएर विजयी भएका छन् । जोशी प्यानलले सबै पदमा आचार्य प्यानल लाई पाँच सय मतान्तरले पछि पारेको छ । क्षेत्रीय प्रतिनिधी तर्फ पनि जोशी प्यानलनै विजयी भएको छ । आदिवासी जनजातितर्फ जोशी प्यानलबाट तीनजना र आचार्य प्यानलबाट एकजना क्षेत्रीय प्रतिनिधीले उम्मेदवारी दिएतापनि जोशी प्यानलका तीन जनामात्र निर्वाचित भएका छन् । प्रेमबहादुर गुरुङ्ग एक हजार १०, मना पुन नौ सय ४४, सुन्दरप्रसाद जोशीले नौ सय ७९ मत ल्याउँदा आचार्य प्यानलका युनबहादुर गुश्रङ्गले एक सय ९८ मत मात्र प्राप्त गरेका छन् । दलिततर्फ पनि जोशी प्यानलले नै एकलौटी गरेको छ । आचार्य प्यानलबाट मिठाराम विश्वकर्मा तीन सय ४५ तथा रामबहादुर विकले एक सय ७६ मत ल्याउँदा जोशी प्यानलका निर्मल विश्वकर्मा एक हजार ७४, प्रेमबहादुर विक नौ सय ४० तथा भागिरथी नेपालीले सात सय ८७ मत ल्याएर विजयी बनेका छन् । कुल एक हजार सात सय ४८ क्रियाशील सदस्य भएतापनि निर्वाचनमा भने एक हजार तीन सय ८० मत मात्र खसेको थियो । खसेको मतमा दुई खाली तथा आठ बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । एक हजार तीन सय ७० सदर मतमा पनि एउटै मतदाताले दुईटै प्यानलमा तथा व्यक्ति रोजेर भोेट हालेका कारण कुल सदर मतमा फरक परेको निर्वाचन अधिकृत हिरालाल रेग्मीले बताए । एउटै मतदाताले दुईटै प्यानलका एउटै पदका व्यक्तिमा मत हाल्दा त्यो मत गणना नहुने रेग्मीले बताए । मतगणनामा दुवै प्यानलका सभापतिको भन्दा अन्य पदका व्यक्तिको मत बढि आएको पाईएको छ । जोशी प्यानलमा जोशीको भन्दा दलिततर्फका क्षेत्रीय प्रतिनिधी निर्मल विश्वकर्माले ३४ मत बढि ल्याएका छन् भने आचार्य प्यानलमा कोषाध्यक्ष पदका उम्मेदवार प्रितमकुमार गुरुङ्गले ५२, सदस्य पदका कृष्णप्रसाद उपाध्यायले एक सय ७६ मत बढि ल्याएका छन् । क्षेत्रीय प्रतिनिधी मिठाराम विश्वकर्माले पनि आचार्यले भन्दा एक सय तीन मत बढि ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप