शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

दुर्गानन्द झाको सपनाले एकदिन मूर्त रुप लिने नै छ

बिहीबार, २१ माघ २०७२, १४ : १३
बिहीबार, २१ माघ २०७२

जनकपुरधाम- ‘चेतना बढ्दै गइरहेको छ, जनता युद्धमा होमिसकेका छन्, मेरो सपना साकार हुने क्षण अब टाढा छैन ।’ यो आत्मविश्वासको एउटा यस्तो प्रसङ्ग हो जसलाई हृदयमा साँचेर राख्दै प्रतीक्षारत छिन् – एक महिला ।

अन्ततः त्यो क्षण पनि आयो तर ती महिलाले साँचेर राखेको श्रीमान्को सपनाको महल जनस्तरमा अहिले पनि निर्माण हुन नसकेकामा असन्तुष्टिको पोको बाँधेर राखेकी छिन् । प्रथम गणतान्त्रिक सहिद दुर्गानन्द झाले भन्थे – “माटो रगताम्य हुन्छ तर एक दिन गणतन्त्र अवश्य आउँछ ।” झाका श्रीमती काशीदेवी श्रीमान्को उक्त सपनालाई साकार तुल्याउन जनस्तरमा यसको अनुभूतिको वातावरण अहिले पनि नभएकामा चिन्ता व्यक्त गर्छिन् ।

झालाई गोली हानेर हत्या गरिएपछि बर्षौंसम्म उनी एउटा सुगालाई प्रतीकात्मक श्रीमान् झँै माया गर्दै बसिन् । अन्ततः त्यसले पनि काल गति पाएछ । झाको हत्यापछि यस क्षेत्रमा गणतन्त्रको सपनालाई साकार तुल्याउन शिवचन्द्र मिश्र, लक्ष्मीनारायण मिश्र र यदुकोहा आन्दोलनमा प्राण उत्सर्ग गर्नेको लामो सूची छ । तर त्यसलाई ज्ञात, अज्ञातमा सीमित गरी श्रद्धाञ्जलिमा रमिते बनाइएकामा काशीदेवीलाई प्रश्न गर्न मन लाग्छ – “प्राणाहुतिको कदर कहिले होला ?”

भनिन्छ, सहिदको रगतको थोपाले सहिद जन्माउँछ । विसं १९९७ माघ १० देखि १५ सम्ममा शुक्रराज, धर्मभक्त, गङ्गालाल र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको १५ महिनापछि जटही गाउँमा दुर्गानन्दको जन्म भएको थियो । बाल्यकालदेखि नै पृथक स्वभावका झा भारतको उमगाउँमा पढ्दै गर्दा राजा महेन्द्रले विसं २०१७ पुस १ गते संसद् र संसदीय सरकार विघटन गरेकोे घटनापछि आक्रोशित भई उनले प्रजातन्त्रका हत्यारालाई चैनसित बाँच्न नदिने प्रतिज्ञा गरेका थिए ।

झाले प्रतिज्ञालाई मूर्त रुप दिन विसं २०१८ माघ ९ गते राजा महेन्द्र जनकपुर आउँदा राजा चढेको गाडीमा बम प्रहार गरेका थिए । सो गाडी हाल हनुमान ढोकामा विशेष सुरक्षा दिएर राखिएको छ । बमकाण्डपछि झा सिमाना पारि गई बस्दा जनकपुुर बमकाण्डको नाममा ५९ जनालाई पक्राउ गरी यातना दिइएको खबर पाउँदा सहन नसकेर २०१८ साल वैशाखमा नेपाल फर्कनुभयो ।

प्रहरीले परवाहामा झालाई घेरामा हालेर जलेश्वर जेलमा राखे र भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याई हेलिकप्टरबाट काठमाडौँ पु¥याई सुन्धारास्थित केन्द्रीय कारागारमा कोचिदिए । राजा महेन्द्रबाट मुलुकी ऐनमा संशोधन गराई ब्राह्मण झालाई मृत्युदण्डको सजायको व्यवस्था गराई १९९७ माघ १५ गते सहिद सप्ताह मनाइरहेको बेला हत्या गरियो । काशीदेवी त्यस दिनलाई स्मरण गर्दै भन्छिन् –“गर्भवती थिएँ । केही दिनपछि छोरी पाएँ तर ऊ पनि धेरै दिन बाँचिनन् । सर्वश्वहरण गरियो । मेरो संसार नै समाप्त भयो ।”

कष्टपूर्ण जीवनका क्षण तराई मधेस लोकतान्त्रिक पार्टीले सभासद् बनायो तर शासकीय विकृतिले दुर्गानन्दको सपनालाई जनस्तरसम्म लैजान नसकेकामा दुःख लागेको पनि उनी गुनासो गर्छिन् । उनी भन्छिन् – “गणतन्त्र आएको आठ वर्ष भइसक्यो, दुर्गानन्दको नाममा न स्मारक न संस्थाको निर्माण हुन सकेको छ । विसं २०६६ असार २९ मा प्रस्तुत बजेटमा दुर्गानन्दको स्मृतिमा जटहीमा दस श्ययाको अस्पताल निर्माण गर्ने घोषणा भए पनि आजसम्म निर्माण हुन सकेको छैन । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप