शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

लुटिएको सतुवासहित चार पक्राउ

बिहीबार, २१ माघ २०७२, १२ : २६
बिहीबार, २१ माघ २०७२

काठमाडौँ– खरिद गर्ने बहानामा सतुवा नामक जडीबुटी लुटपाट गर्ने चार जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

गत पुस ३० गते रु ८३ लाख मूल्य बराबरको एक एक हजार २४३ किलो सतुवा खरिद गर्ने बहानामा लुटपाट गरी फरार रहेका अभियुक्तलाई महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी टोलीले विभिन्न मितिमा स्थानीय बानेश्वर र काभ्रेपलाञ्चोकको बनेपाबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालका अनुसार सतुवाधनी बलबहादुर थापालाई खरिद गरेर पैसा दिन्छौँ भनी आफ्नैसाथ कीर्तिपुरबाट मोटरसाइलमा राखेर लगेका थिए ।

उनले भने– “बल्खु नजिक पुग्दा तपार्इं बस्दा ट्राफिकले सोधखोज गर्न सक्छ, एकछिन ओर्लनू भनेर थापालाई जबर्जस्ती मोटरसाइकलबाट निकालेर लुटेराहरु गाडी र मोटरसाइकल चलाएर फरार भएका रहेछन् ।”

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल स्थानीय बौद्ध बस्दै आएका पृथ्वी भनिने तीर्थबहादुर तामाङ, सोही ठाउँ घर भई हाल स्थानीय लाजिम्पाट बस्दै आएका नोर्बुपासाङ लामा, भक्तपुर बस्दै आएका दिलबहादुर रुम्बा र सिन्धुपाल्चोक कर्थली घर भई स्थानीय जोरपाटी बस्दै आएका साङ्गेल शेर्पा छन् ।

शेर्पा यसअघि पनि लुटपाटको घटनामा पक्राउ परिसकेका हुन् । सो सतुवा काठमाडौँको कागेश्वरी नगरपालिका गोठाटारमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले बरामद गरेको छ । अभियुक्तलाई बरामद गरिएको सतुवासहित चोरी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप