बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संयन्त्र बनाउने कुरा नमिलेपछि कर्णले भने, 'प्रमलाई भ्रमणमा जाने भिसा दिन सकिन्न'

बुधबार, ०५ फागुन २०७२, १९ : ५८
बुधबार, ०५ फागुन २०७२

काठमाडौ – उच्च स्तरीय राजनीतिक संयन्त्र निर्माण गर्नका लागि आज ती दल र मधेशी मोर्चा सम्मलित बनेको कार्यदलको बैठक बिना निश्कर्ष टुंगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि नै संयन्त्रको विषयमा टुंगो लगाउने भनिए पनि भ्रमणका लागि अब एक दिन बाँकी रहँदा समेत दलहरुबीच सहमति हुने छाँटकाँट देखिएको छैन । आज सिंहदरवारमा बसेको बैठकमा संयन्त्र निर्माणका लागि हिमाल पहाड तराई राख्ने कि तराई मधेश शब्द राख्ने विषयमा कुरा नमिल्दा बैठक विना निष्कर्ष टुगिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको एक दिन बाँकी रहँदा तीन दल र मधेशी मोर्चाबीच सहमति नहुँदा सरकारलाई तनाव थपिएको छ । भारतले समेत उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर भ्रमणमा आउन सन्देश पठाइसकेको अवस्थामा र यता प्रधानमन्त्री ओलीले पनि पटक–पटक सिमांकनको विवाद टुगों लाग्ने गरि आफूले संयन्त्र बनाएर नै भारत भ्रमणमा जाने भनि सकेका हुनाले संयन्त्र बनाउनमा सहमति जुटाउन आवश्यक देखिएको नेताहरुले बताएका छन् ।

फेरि शब्दकै विवाद उच्च स्तरीय राजनीतिक संयन्त्रका लागि हुने सम्झौतमा तीन दलले ‘हिमाल, पहाड र तरांईमा भएको आन्दोलनलाई आधारमानी सिमांकनको समस्या समाधान गर्नका लागि’ भनि उल्लेख गर्न चाहेका छन् भने मधेशी मोर्चाले ‘तराई मधेश’ शब्द मात्र उल्लेख गर्नुपर्ने अडान बैठकमा लिएपछि बैठक स्थगित भएको हो । बैठकमा एमालेका नेता एवं रक्षा मन्त्री भिम रावलले हिमाल, पहाड र तराई शब्द राख्नुपर्ने प्रस्ताव राखेपछि सो प्रस्तावलाई अस्वीकार गर्दै तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले ‘आन्दोलन तराई मधेशमा भएको छ कि हिमाल पहाडमा ?’ भन्दै प्रतिप्रश्न गरेका थिए । यादवले आन्दोलन तराई मधेशमा भएको बताउँदै तराई मधेश शब्द नै राख्नुपर्नेमा जोड दिएका थिए । उनले हिमाल, पहाड, तराई शब्द स्वीकार गर्न नसकिने धारणा राखेका थिए । त्यस्तै राजनीतिक संयन्त्रको म्याद कति दिनको राख्ने कुरामा पनि कार्यदलको बैठकमा विवाद देखिएको छ । नेपाली काँग्रेसका नेता महेश आचार्यले बन्न लागेको राजनीतिक संयन्त्रले तीन महिनाभित्रमा आफ्नो काम सकाउने र प्रतिवेदन प्राप्त भएको दिनदेखि एकहप्ताभित्रमा संविधान संशोधन प्रकृया शुर गर्ने प्रस्ताव राखेका थिए । त्यसमा मधेशी मोर्चाका नेताले तीन महिना अवघि लामो भएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने धारणा राखेका थिए । उनीहरुले सक्दो जति छिटो हुन्छ सबभन्दा कम समयको म्याद दिनुपर्ने कुरा राखेका थिए । बैठकपछि पत्रकारसँग कुरा गर्दै सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत पठाउन भिषा दिने काम मधेशी मोर्चाले नगर्ने बताउँदै मधेश आन्दोलनको भावना अनुसार संयन्त्र बन्नु पर्ने र सोही आधारमा कार्य हुनुपर्ने बताए । उनले भने, ‘कसैलाई कतै भ्रमणमा जानुछ भन्दैमा हतार हतारमा संयन्त्र गठन गरेर हुँदैन । यत्रो मधेश आन्दोलन भयो, ६० जनाभन्दा बढीले सहादत दिए तर आज जेपाए त्यही सहमति गर्नमा मोर्चा तयार हुँदैन ।’ उनले तराई मधेशको मागलाई आधार मानेर संयन्त्र तथा त्यसको कार्यविधि बनाउनुपर्ने उल्लेख गर्दै दुई प्रदेश आफूहरुको बटमलाइन रहेको र त्यसको आधारमा संयन्त्र बनाउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप