यस्तो छ काँग्रेस महाधिवेशनको मूल नारा
बुधबार, ०५ फागुन २०७२, २२ : ५५
काठमाडौँ– नेपाली काँग्रेसले आसन्न १३औँ महाधिवेशनका लागि ‘सुशीलको नेतृत्वमा बनायौँ संविधानः समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नारा तय गरेको छ ।
काँग्रेसले महाधिवेशनको तयारीका लागि गठन गरेको प्रचारप्रसार समितिको आज बसेको बैठकले सो नारा तय गरेको समितिले जनाएको छ । काँग्रेसका स्व सभापति सुशील कोइराला नेतृत्वको सरकारको सक्रियतामा नै मुलुकको इतिहासमा पहिलो पटक संविधानसभाबाट संविधान जारी भएको प्रसङ्गसहित काँग्रेस अब मुलुकको विकास र समृद्धितर्फ उन्मुख हुने नीतिलाई अँगाल्दै सो नारा तय गरेको समितिका संयोजक एवम् पार्टी प्रचार विभाग प्रमुख डा मीनेन्द्र रिजालले जानकारी दिए ।
समितिले महाधिवेशनको प्रचारप्रसारलाई व्यवस्थित र भव्य बनाउन विभिन्न उपसमितिसमेत गठन गरेको छ । बैठकले वरिष्ठ पत्रकार हरिहर विरहीको संयोजकत्वमा अभिलेख, तेजप्रकाश पण्डितको संयोजकत्वमा बुलेटिन, दामोदरप्रसाद दवाडीको संयोजकत्वमा प्रकाशन, कविर राणाको संयोजकत्वमा मिडिया सेन्टर, कृष्ण केसीको संयोजकत्वमा प्राविधिक, बद्री सिग्देलको संयोजकत्वमा वैदेशिक सम्पर्क र धर्मेन्द्र झाको संयोजकत्वमा विशेष स्मारिका उपसमिति गठन गरेको समितिका सदस्य एवम् पार्टी केन्द्रीय सदस्य बद्री पाण्डेले बताए । उपसमितिमा संयोजकले आवश्यकता र विज्ञताअनुसार सदस्य मनोनयन गर्नेछन् ।
वरिष्ठ पत्रकार तथा नेपाल प्रेस युनियनका पदाधिकारी एवम् सदस्यसहितको आजको छलफलमा समितिले महाधिवेशनको सूचना शीघ्र सञ्चारमाध्यमलाई सहज तरिकाले उपलब्ध गराउन नयाँ वेबसाइट बनाउने र मिडिया सेन्टरलाई सुविधायुक्त एवम् व्यवस्थित बनाउने निर्णयसमेत गरेको छ । समितिमा संयोजक रिजाल, सदस्य पाण्डेका साथै अन्य केन्द्रीय सदस्य अजयकुमार चौरसिया र सुरेन्द्रराज पाण्डे सदस्य हुनुहुन्छ । काँग्रेसको १३औँ महाधिवेशन यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण