एकीकृत राप्रपा नेपाल अभियानः २२ गते काठमाडौं भेला
काठमाडौं – एकीकृत राप्रपा निर्माण अभियानले दोस्रो चरणको कार्यक्रम सार्वजनिक गरेको छ । यसै निर्णय बमोजिम एकीकृत राप्रपाका अभियन्ताहरुले आगामी जेठ २२ गते काठमाडौंं जिल्लामा बहृत भेलाको आयोजना गर्ने निर्णय गरेको हो ।
अभियन्ताहरुको आज बसेको वैठकले काठमाडौं केन्द्रीत कार्यक्रमको निर्णय गर्दै राप्रपा पृष्ठभूमीका सबै शक्तिलाई एकजुट गर्ने उद्देश्य पूरा गर्ने प्रतिवद्धतामा जोड दिएका छन् । अभियानको अघिल्लो कार्यक्रममा राजसंस्था तथा हिन्दु राष्ट्रका मुद्दाहरु जोडतोडका उठाइएको थियो ।
काठमाडौं जिल्लाको मातहतमा सम्पन्न गरिने कार्यक्रमको संयोजक राप्रपा नेपालका केन्द्रीय सदस्य तथा पूर्व काठमाडौं जिल्ला अध्यक्ष श्याम घिमिरेलाई सुम्पिएको छ ।
एकीकृत राप्रपाका अभियन्ता दमन बस्नेतले जनाए अनुसार, भेलामा राप्रपा नेपाल, राप्रपा, राप्रपा नेपाल समानान्तर, राप्रपा राष्ट्रवादी लगायत सबै साना ठूला शक्तिको सहभागिता रहनेछ । कार्यक्रममा राष्ट्रवादी, राजतन्त्रवादी र हिन्दुवादीको समर्थन एवं उल्लेख्य सहभागिता रहने बताइएको छ ।
जेठ २ गते सम्पन्न उपत्यकाव्यापी भेलाको क्रममा अभियन्ताहरुले काठमाडौं लगायत देशका पाँचै विकास क्षेत्रमा एकीकृत राप्रपा निर्माणको अभियानलाई लैजानु पर्ने विचार व्यक्त गरेका थिए । सो कार्यक्रममा डा. प्रकाश चन्द्र लोहनी, केशरबहादुर विष्ट, बालाराम घर्तिमगर, गणेश शेरचन, हरिबहादुर बस्नेत, नवराज सुवेदी, श्याम तिमल्सिना, रामु राई, तीर्थप्रसाद श्रेष्ठ, सगुन सुन्दर लावती लगायत राप्रपा नेपाल, राप्रपा एवं राप्रपा नेपाल समानान्तरका दर्जनौं केन्द्रीय सदस्य एवं नेताहरुको सहभागिता रहेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण