बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

साढे सात हजारको निःशुल्क उपचार

सोमबार, १० जेठ २०७३, ०९ : २३
सोमबार, १० जेठ २०७३

बागलुङ– स्वास्थ्य समस्या भएका साढे सात हजार बढीले निःशुल्क जाँच तथा उपचार सेवा पाएका छन् ।

गलकोट सेवा समाज जापानले यहाँ गरेको बहृत् निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण भेगका बासिन्दाले प्रत्यक्ष लाभ लिएका हुन् । जिल्लाको गलकोटमा तीन दिनसम्म चलेको शिविरबाट आँखा र अन्य सबै रोगका गरी सात हजार ५५० जना लाभान्वित भएको आयोजकले जनाएको छ ।

आँखाबाहेकका रोगको उपचारका लागि हरिचौरमा भएको शिविरबाट पाँच हजार ४०० जनाले सेवा लिएको गलकोट समाज जापानका अध्यक्ष हर्क थापाले बताए ।

यस्तै, हटियामा चलेको आँखा शिविरमा दुई हजार १५० जनाको उपचार गरिएको छ । जसमध्ये १५० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

आँखाबाहेकका रोगको शिविर हरिचौर गाविसस्थित गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको थियो । लक्षित गरेभन्दा बढी सङ्ख्यामा बिरामीले शिविरबाट लाभ उठाएको आयोजकले जनाएको छ ।

शिविरमा २० जना विशेषज्ञ चिकित्सकसहित ४३ जना स्वास्थ्यकर्मीले बिरामीको उपचार गरेका थिए । सामान्य शल्यक्रियासहित अधिकांश रोगका बिरामीको उपचार गरिएको शिविरमा खटिएका चिकित्सक जीवन थापाले बताए ।

शिविरमा बाल, स्त्री, हाडजोर्नी, मुटु, पेट, छालालगायतका रोगका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए । उनका अनुसार शिविरमा मुटु, छाती र पेटसम्बन्धी रोगका बिरामीको बढी चाप रहेको थियो ।

शिविरमा रोगको परीक्षण, औषधि वितरण, प्रयोगशालालगायतका सेवा दिइएको थियो । रु १० लाख मूल्य बराबरको निःशुल्क औषधि वितरण गरिएको जनाइएको छ । गलकोट समाज जापानले गत अङ्ग्रेजी नयाँ वर्षमा साङ्गीतिक कार्यक्रम गरेर सङ्कलन गरेको रकमबाट शिविर चलाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप