बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

थिएटर टक : पूजाको ‘पहिलो प्रेम’

सोमबार, १० जेठ २०७३, १० : ४९
सोमबार, १० जेठ २०७३

नाटक ‘युमा’को रिहर्सल भइरहेको थियो मण्डला नाटकघरको ‘फ्लोर’मा, जो अहिले मञ्चन भइरहेको छ । तस्बिरकलाकार बिजु महर्जन र म भने मण्डलाको चोटामा त्यसअघि मञ्चित नाटक ‘ऊ कसको...?’की कलाकार पूजा लामासँग गफिँदै थियौं । मलाई पूजासँग सोध्नु थियो उनको पहिलो प्रेमबारे । प्रेम आफैंमा आन्तरिक मामिला हो, त्यसैले सोध्न दकस लागिरहेकै थियो ।

तर पूजा आफैं खुलिन्, ‘वर्षको सुरुवातसँगै धेरैलाई मेरो फस्र्ट लभबारे थाहा भयो । मेरा कतिपय आफन्त र साथीलाई यो कुरा पटक्कै थाहा थिएन । भन्दै हिँड्ने मान्छे पनि म परिनँ ।’ यसो भन्दै गर्दा उनको मुहारमा फैलिएको एक पसर मुस्कानलाई क्यामेराको स्मरण बाकसमा कैद गरिहालिन् बिजुले । प्रेमबारे कुरा गर्दा मान्छेको अनुहारमा फैलिने खुसी र निर्दोषपना पूजालाई हेरेर म अनुभूत गरिरहेको थिएँ ।

०००

उनको प्रेमी चकलेटी छ । जसको कुरा सुनेर क्याफेमा घन्टौं बसिरहन पनि दिक्क लाग्दैन । उसलाई घन्टौं कुर्न जति दिक्क लाग्छ, निमेषमै उसको कुरामा पग्लिएर प्रेमिल बन्नुमा उत्तिकै आनन्द आउँछ । यस्तो प्रेमीसँगको प्रेम सम्बन्धलाई विवाहमा बदलेको केही सातामै ऊ दुर्घटनामा पर्छ र मस्तिष्क कामै नलाग्ने गरी क्षतविक्षत हुन्छ । सँगै दुर्घटनामा परेको अर्को पाको मान्छेको भने शरीर क्षतविक्षत हुन्छ । अस्पतालमा डाक्टरले निर्णय लिन्छन्– दुवै जनालाई मृत्युको बाटोमा छोडिदिनु भन्दा एक जनालाई जीवनको बाटो दिनु पक्कै सही हुन्छ । डाक्टरले उसको शरीरमा पाको मानिसको मस्तिष्क प्रत्यारोपण गरिदिन्छन् । त्यस्तो अनौठो संयोगपछि फर्केको श्रीमान देखेर उनी कस्तो मनोदशामा हुन्छिन् ? त्यही त्रासद् मनोदशालाई नाटकमा उतार्नु थियो पूजाले । अवश्य नै त्यो निकै चुनौतिपूर्ण थियो ।

प्रवीण खतिवडाको निर्देशन र गोविन्द पराजुलीको निर्माण गरेको शंकर लामिछानेको कथामा आधारित उक्त नाटकमा उनले मीरा भएर त्यो चुनौति स्वीकार गरिन् । स्नातक तहमा गरेको मनोविज्ञानको अध्ययनलाई समेत प्रयोग गरेर उनले आफूलाई मीरा बनाइन् । उनको अभिनयले दर्शकलाई प्रभावित पार्यो । नाटक हेरेर धेरैले उनको प्रशंसा गरे । अहिले पनि भेट्नेहरुले सम्झाइहाल्छन् नाटकको प्रसंग र गरिहाल्छन् प्रसंशा । तर उनले अभिनय गरेको नाटक भने यो दोस्रो मात्र हो । यसअघि उनले एमके रैनाको निर्देशनमा नाटक ‘अन्धोयुग’मा अभिनय गरेकी थिइन् । त्यो पनि पाँच वर्ष अगाडि । त्यसैले स्वाभाविक रूपमा केही प्रश्नको सामना गरिन् उनले । जस्तो कि,

‘यति राम्रो अभिनय गर्ने मान्छे किन रंगमञ्चबाट टाढा नै बसेकी ?’

‘अभिनय धेरै राम्रो लाग्यो । तर पाँचसम्म किन नाटक नगरेको ?’

‘अब अर्को नाटक कहिले गर्ने ?’

पाँच वर्षको अन्तरालमा जम्मा दुइटा नाटक खेलेर पनि यस्ता प्रश्न सामना गर्न पाउनुको खुसी उनले महसुस गरेकी छिन् ।

डेढ महिनाको कार्यशालामा उनले थाहा पाइन्, थिएटरको पर्दा पछाडि कति मिहिनेत मिहिनेत गर्नुपर्छ । त्यसपछि प्राप्त हुने सुखको अनुभूतिचाहिँ कार्यशालासँगै बनेको नाटक ‘अन्धोयुग’बाट प्राप्त गरिन् । जसमा उनले कागको भूमिका पाएकी थिइन् । त्यो भूमिकामा कार्यशालामार्फत सिकेका सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई अनुभूतिको तहमा उतारेकी थिइन् उनले ।

०००

पूजाले स्कुल जीवनमा कहिल्यै नाटक खेलिनन् । बरु कविता, वादविवाद र हाजिरीजवाफ उनको रोजाइमा परिहरन्थ्यो । तर उनलाई आफ्ना दाइहरूले बनाएको नाटक ‘रक्सीले खाएको घर’बारे भने स्पष्ट सम्झना छ । किशोरकालको उकालो चढ्दै गर्दा उनले साथीसँग गुरुकुल, आरोहणमा केही नाटक बन्यो । सुनिल पोखरेल निर्देशित इब्सेनको नाटक ‘पुतलीको घर’ भने निकै पटक हेरिन् । त्यसै क्रममा उनले महसुस गरेको कुरा थियो कि मभित्र अभिनयको भोक छ । त्यही भोकको छट्पटीमा उनले पाँच वर्षअघि पत्रिकामा विज्ञापन देखिन् एमके रैनाको नेतृत्वमा हुने एनएसटीको कार्यशालाको । भोकाएको मानिसले खानेकुरा पाइने ठेगाना भेटेजस्तै भएको थियो त्यो बेला उनलाई । उनले फर्म भरिन् । अडिसन दिइन् । त्यसमा छनोट भएको खबर पाउँदा खुसीले पुतलीझैं नाचिन् ।

डेढ महिनाको कार्यशालामा उनले थाहा पाइन्, थिएटरको पर्दा पछाडि कति मिहिनेत मिहिनेत गर्नुपर्छ । त्यसपछि प्राप्त हुने सुखको अनुभूतिचाहिँ कार्यशालासँगै बनेको नाटक ‘अन्धोयुग’बाट प्राप्त गरिन् । जसमा उनले कागको भूमिका पाएकी थिइन् । त्यो भूमिकामा कार्यशालामार्फत सिकेका सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई अनुभूतिको तहमा उतारेकी थिइन् उनले ।

‘कागको भूमिका निर्वाह गर्नुपर्ने भएपछि मैले २० दिनसम्म काग अवलोकन गरेकी थिएँ’, उनले हाँस्दै सुनाइन्, ‘त्यसैबाट मैले अब्जर्भेसन र रियाक्सनमार्फत अभिनयमा जीवन्तताको खोज गर्न सिकेँ । त्यसैको बलमा पाँच वर्षपछि पनि अभिनयमा फर्किन सकेँ ।’

०००

पूजा थिएटरलाई आफ्नो पहिलो प्रेम मान्छिन् । जीवनमा कुनै पनि प्राविधिक बन्धनविना मनखुसी छनोट गरेको क्षेत्र हो थिएटर । यो कुरा उनका साथी र आफन्तमध्ये धेरै कमलाई मात्र थाहा थियो । नाटक ‘ऊ कस्को...?’ मा अभिनय गर्ने भएपछि भने उनले आफन्त र साथीसंगीलाई पनि जानकारी गराइन् । धेरैले आएर हेरे र उनको पहिलो प्रेमको ‘सरप्राइज’ अनुभूत गरे । त्यसले उनलाई दिने भनेको त खुसी नै थियो ।

त्यसो त उनी पहिलो प्रेममा मात्रै अडिन सकिनन् । पढाइ र जीविकामुखी ‘करियर’लाई पनि वेवास्ता गर्नु उनको स्वाभाव थिएन । त्यसलाई निरन्तरता दिन उनले थिएटरमा सक्रिय हुने कुरालाई केही परै सारिन् र अध्ययन तथा करियमा सक्रिय भइन् । तर जे भए पनि ती प्रेमका अरू श्रृंखला हुन् । पहिलो प्रेम त मानिसले जीवनभर भुल्न सक्दैन । जसरी पूजाले भुल्न सकिनन् थिएटर ।

यो वर्षचाहिँ पढाइको श्रृंखला पनि अन्तिमतिर पुगेको र जीविकावाला ‘करियर’ पनि अघि बढिसकेको हुनाले उनलाई लागिरहेको थियो– अबचाहिँ आफ्नो पहिलो प्रेमलाई न्याय गर्ने काम गर्न पाए हुन्थ्यो, नाटक गर्न पाए हुन्थ्यो ।

‘अन्धोयुग’पछि पाँच वर्षसम्म उनले अर्को नाटक खेलिनन् । अझ भनौं, खेल्ने मेसो र समय पनि मिलेन । तर उनी नाटकघरभन्दा टाढा भने थिइनन् । ‘एकाधबाहेक मैले कुनै पनि नाटक हेर्न छुटाएकी थिइनँ । अझ मण्डला थिएटरको नाटक त कुनै पनि छुटाइनँ । कलाकारको रूपमा नभए पनि दर्शकको रूपमा न नाटकसँगै थिएँ ।’, उनले भनिन् ।

यो वर्षचाहिँ पढाइको श्रृंखला पनि अन्तिमतिर पुगेको र जीविकावाला ‘करियर’ पनि अघि बढिसकेको हुनाले उनलाई लागिरहेको थियो– अबचाहिँ आफ्नो पहिलो प्रेमलाई न्याय गर्ने काम गर्न पाए हुन्थ्यो, नाटक गर्न पाए हुन्थ्यो ।

त्यत्तिकैमा कार्यशालामा सँगै सहभागी भएका रंगकर्मी गोविन्द पराजुलीले निर्माण गर्ने र सिर्जनशील निर्देशक प्रवीण खतिवडाले निर्देशन गर्ने नाटकमा अभिनय गर्नुपर्छ भन्ने प्रस्ताव आयो । ‘उहाँहरूको प्रस्तावले मलाई उत्साहित बनायो । तर त्यतिबेलासम्म कुन नाटक गर्ने र मैले कस्तो भूमिका पाउँछु भन्ने सल्लाह भएको थिएन’, उनले सुनाइन् ।

पछि प्रवीणका प्रिय लेखक शंकर लामिछानेको कथामा नाटक बन्ने भयो र पूजालाई ‘लिड क्यारेक्टर’मै राखियो ।

‘पाँच वर्षपछि नाटकमा फर्किंदा मैले जुन भूमिका पाएको थिएँ, त्यो धेरै उत्साहित पार्ने खालको त थियो नै, चुनौतिपूर्ण पनि उत्तिकै थियो । त्यसैले मैले केही बढी नै मिहिनेत गर्नुपर्यो’, उनले भनिन् ।

मीराको उमेर आफूसँगै मिल्दो भएकाले मनोविज्ञान र चरित्र उतार्न उनलाई गाह्रो भएन । तर जुन मनोदशा उतार्नु थियो, त्योचाहिँ गाह्रो थियो । तर त्यसलाई पनि उनले पाँच वर्षअघिको कार्यशाला र थिएटरसँगको नियमित नाताको बलमा सजिलोमा परिणत गरिदिइन् । जसबाट उनी राम्ररी ‘नोटिस’ भइन् पनि ।

०००

‘इन्टरनेसनल रिलेसन एण्ड डिप्लोमेसी’मा मास्टर्स सक्न लागेकी उनी अध्ययन गरेकै क्षेत्रमा ‘जीविकागिरी’ गरिरहेकी छिन् । तर त्यसबाटमात्रै उनलाई पूर्ण सन्तुष्टिको अनुभूत हुँदैन, थिएटरको नसा जो नशामा बगिरहन्छ । त्यसैले उनी थिएटर आइपुग्छिन् ।

‘मैले आफूले आफैंले राम्रो एक्टर हुँ भनेर भन्दिनँ । मैले थिएटर गरिनँ भनेर थिएटरले केही मिस गर्छ भन्ने पनि मान्दिनँ । किनकि यस्तो अपेक्षा थिएटरमै पूरा समय लगाउने कलाकारको हकमा सही हुन्छ’, उनले दार्शनिक अन्दाजमा भनिन्, ‘मेरो लागि थिएटरचाहिँ धेरै कुरा हो । म यहाँ एउटै जीवनमा धेरै जीवन बाँच्छु । एउटा कोठामा दुई घन्टासम्म समयलाई बाँधेर राख्न सक्छु । यसले मलाई इम्पावर दिन्छ ।’

थिएटरबारे कुरा गर्न थालेपछि उनको दार्शनिक अन्दाज अझ सघन हुँदै जान्छ । भन्छिन्, ‘यहाँ मेरो त्यस्तो ठूलो सपना पनि छैन । किनकि यो क्षेत्र मेरो लागि कुनै अपेक्षा गर्ने र त्यो पूरा भएन भने दुःखी हुने क्षेत्र नै होइन । मलाई त यहाँ नेपथ्यमा बसेर ड्रेस चेन्ज गर्ने काम गर्दा पनि आनन्द मिल्छ ।’

थिएटर उनको लागि खुसी र शक्ति दिने ठाउँ हो । त्यसैले उनले कुनै ‘ड्रिम रोल’ पनि सोचेकी छैनन् । थिएटरका कुनै पनि भूमिका उनको लागि ‘ड्रिम’जत्तिकै आनन्ददायी र चुनौतिपूर्ण लाग्छ । ‘यो ठाउँ त मेरो लागि यस्तो हो कि कतै दुःखी भएर आएँ भने पनि यहाँ हिल हुन सक्छु । रिस उठ्दा चिच्याउँन सक्छु । दुःख लाग्दा आएर आँसु बगाउन सक्छु । खुशी हुँदा यहाँ आएर हसाउन सक्छु ।’, यसरी उनको लागि थिएटर एउटा स्वप्निल ठाउँ हो ।

०००

आशा र अपेक्षाबाट माथि रहेर थिएटर आइपुगेकी उनीमा यही क्षेत्रमा नियमित डटिरहेका रंगकर्मीप्रति ठूलो श्रद्धा छ । उनीहरूले गरिरहेको संघर्ष र मिहिनेतलाई उनी नजिकबाट अनुभूत गर्छिन् । त्यसैले थिएटरमै जीवन खोज्न सजिलो वातावरण बनोस् भन्ने कामना उनको मनमा छँदैछ, ‘रंगमञ्चमा समर्पित रंगकर्मीले राम्रो पारिश्रमिक पाउने वातावरण बनोस्, सम्मान पाउने वातावरण बनोस् ।’

तर उनी आफ्नै लागि भने यो क्षेत्र न आम्दानीको आशा गर्ने क्षेत्र हो, न यसबाट फड्केर अन्त जाने योजना नै छ । सिनेमा त अहिलेसम्म उनको मनमा आएकै छैन । तर नाटक भने गरिरहन चाहन्छिन् । ‘ऊ कस्को ...?’पछि उनलाई नियमित नाटक गर्नुपर्छ भन्ने प्रस्ताव र सुझाव रंगकर्मीहरूबाटै आइरहेकै छ । प्रस्ताव र सुझाव दुवैलाई स्वागत गर्ने ‘मूड’मै छिन् उनी पनि । त्यसैले छिट्टै अर्को नाटकमा पूजालाई देख्न सकिने सम्भावना छँदैछ ।

प्रतिभाशाली हुँदा–हुँदै पनि पाँच वर्षसम्म किन रंगमञ्च छोडेर अन्तै बरालियौ ?

मैले ‘ऊ कसको...?’ नाटकको समीक्षा लेख्दा सोधेको प्रश्न थियो यो पूजालाई । त्यसको उत्तर दिएकी थिइन्, ‘पाँच वर्ष मेरो रिहर्सल समय थियो यही रंगमञ्चमा अभिनय गर्नका लागि । रंगमञ्चलाई किनाराबाट हेर्दै थिएँ । यसपाली कि डुब्छु कि तैरेर पारी पुग्छु भनेर हाम फालेकी हुँ ।’

पारी पुगेपछि पूजाको आत्मविश्वास बलियो भएको छ । हामीसँग कुराकानी गरिरहँदा उनको अनुहारमा त्यो झल्किरहेको थियो ।

तस्बिर : बिजु महर्जन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप