बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पूर्वमन्त्रीदेखि कांग्रेसका प्रभावशाली नेतासम्म नयाँ शक्तिमा

सोमबार, १० जेठ २०७३, १६ : ५४
सोमबार, १० जेठ २०७३

काठमाडौं– नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले दुई ठूला छिमेकीको बीचमा च्यापिएर होइन, फुकेर बाँच्नुपर्ने बताएका छन् । कांग्रेस नेता सोनाम छिरिङ शेर्पा र पूर्वमन्त्री नरबहादुर बुढालगायतलाई नयाँ शक्तिमा स्वागत गर्दै उनले भने, ‘नेपाल अब दुई देशबीचको गतिशील पुल बनेर समृद्धि हासिल गर्दै फुकेर बाँच्छ ।’ उनले जर्मनी, फ्रान्स र इटालीको बीचमा रहेको सानो राष्ट्र स्वीट्जरल्याण्ड समृद्धिको शिखरमा पुगेको उदाहरण दिदै नेपालले पनि छिट्टै समृद्धि हासिल गर्न सक्ने बताए । ‘जर्मनी, फ्रान्स र इटालीको बीचमा रहेको स्वीट्जरल्याण्ड अहिले विश्वकै धनी मुलुकमध्येमा पर्दछ,’ उनले भने, ‘हामी पनि दुई छिमेकीको बीचमा च्यापिएर बस्नेभन्दा विकास र समृद्धि हासिल गर्दै फुकेर बाँच्नुपर्छ ।’ उनले चीन र भारतलाई सडकलगायतका भौतिक पूर्वाधारले जोडेर नेपाल गतिशील पुल बन्दै लाभ उठाउन सक्ने उदाहरण दिए ।

कार्यक्रममा सम्बोधन गर्दै संयोजक भट्टराईले नेपालका पुराना पार्टीहरु ब्रान्डजस्तै भएको बताए ।

सोलुखुम्बुका विभिन्न पार्टीका नेताहरुलाई नयाँ शक्तिमा स्वागत गर्दै उनले विश्वका मानिसलाई सगरमाथाको चुच्चोमा पुर्याउने नेपाली आफैं भने आर्थिक समृद्धिका दृष्टिले फेदमा पर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्थामा रहेको भन्दै दुःख व्यक्त गरे ।

कार्यक्रममार्फत सोलुखुम्बुका नेपाली कांग्रेसका नेता सोनाम छिरिङ शेर्पासहित सोलुखुम्बुका विभिन्न दलका नेताहरु नयाँ शक्तिमा समाहित भएका छन् ।

शेर्पा २०५४ सालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका राजनीतिक सल्लाहकार थिए । २०५१ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नेता बलबहादुर केसीबाट १४३ मतले पराजित भएको उनी सोलुखुम्बुका चर्चित नेता हुन् ।

यसैगरी सोही कार्यक्रमबाटै पूर्वमन्त्री नरबहादुर बुढाको नेतृत्वमा पाँच सयभन्दा बढी नेता तथा कार्यकर्ता पनि नयाँ शक्तिमा समाहित भएको नयाँ शक्तिको संगठन विभाग प्रमुख देवेन्द्र पौडेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप