बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

१२ वर्षपछि भेरी पुल उद्घाटन

सोमबार, १० जेठ २०७३, १८ : १२
सोमबार, १० जेठ २०७३

सल्यान – सल्यान र सुर्खेतको सीमानामा पर्ने भेरी नदिको पुलको आज उद्घाटन भएको छ । पुल निर्माण कार्य शुरु गरेको १२ वर्षपछि उपप्रधान तथा भौतिक पुर्वाधार तथा यातायातमन्त्री विजय कुमार गच्छदारले उद्घाटन गरेका हुन् ।

पुल उद्घाटन गर्दै मन्त्री गच्छदारले यस क्षेत्रका जनताहरुले भोग्दै आएको वर्षौंको समस्या अन्त भएको बताए । उनले भने, ‘भेरीको समस्याको समाचार मैले धेरैचोटी पढेको थिए, त्यो पिडा आजदेखि अन्त भएको छ, पुल निर्माण हुनु यस क्षेत्रका वासिन्दाको लागि खुसीको कुरा हो ।’

‘छिन्चु–जाजरकोट सडकलाई जोड्ने भेरी नदिको पुलले यस क्षेत्रका वासिन्दाको सम्बन्धलाई पनि जोडेको छ । भूगोल र सम्वन्ध जोडने यस पुल सञ्चालनमा आउनु गौरवको कुरा हो ।’ मन्त्री गच्छदारले भने । भेरी नदिमा पुल सञ्चालनसँगै १७ वर्षदेखि सञ्चालनमा आएको फेरी विस्थापित भएको छ । यातायातका साधन तथा मानिसहरुलाई खोला वारपार गर्नका लागि प्रयोग गरिएको फेरी पुल सञ्चालनसँगै विस्थापन भएको हो ।

नदिमा फेरी प्रयोग गरिएको भएपनि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र सञ्चालन हुँदा यस क्षेत्रमा मानिसहरुले सास्ती खेप्दै आएका थिए । ५ बजेपछि फेरी नचल्दा सवारी साधनहरु सल्यानको सल्लीबजार र सुर्खेतको राकममा रात बिताउनुपर्ने बाध्यता रहेको थियो । पटक–पटक फेरी बिग्रने, वर्षायाममा नचल्ने भएकोले पनि स्थानीय तथा छिमेकी जिल्लाहरुका वासिन्दाहरुले समेत सास्ती खेप्दै आएका थिए ।

२०५६ सालदेखि सञ्चालनमा आएको फेरी विस्थापित भएपछि स्थानीयवासीहरु खुसी भएका छन् । ‘काम विशेषले राकम पुगियो भने ५ बजेपछि फेरी नचल्दा बास बस्नुपर्ने बाध्यता थियो । अब पुल बनेपछि सहज भएको छ ।’ स्थानीय इन्द्र बुढाथोकीले जानकारी दिए । कार्यालय समयमा मात्र फेरी सञ्चालन हुने भएकोले त्यो समयभन्दा पछि आउने सवारी साधन सल्यानको सल्लीबजार र सुर्खेतको राकममा बास बस्नुपर्ने बाध्यता रहेकोमा अब बाध्यता हटेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप