स्थानीय निर्वाचनका लागि काँग्रेस तयार छ : डा. कोइराला
काठमाडौँ– नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय निकायको निर्वाचनका लागि आफ्नो पार्टी तयार रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन राष्ट्रिय समाचार समिति शाखाद्वारा आज यहाँ आयोजित ‘जिपी कोइराला क्रियाशील रासस पत्रकारिता पुरस्कार’ वितरण एवम् छलफल कार्यक्रमम नेता डा कोइरालाले काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले हरेक निर्वाचनका लागि सदैव तयार रहेको बताए । उनले संविधान कार्यान्वयन मुलुकको अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्दै भने, “सीमाङ्कन, मधेसी र आदिवासी÷जनजातिका समस्या सबै मिलेर समाधान गर्नुपर्छ ।”
‘राज्य संरक्षित कालोबजारी भएकाले’ हालसम्म पनि अत्यावश्यक वस्तुको अभाव कायमै रहेको आरोप लगाउँदै डा कोइरालाले भने, “सरकार हरेक क्षेत्रमा असफल भएको छ, खोक्रो राष्ट्रियतामा देश चल्दैन ।”
प्रजातान्त्रिक शासन व्यवस्थामा राससको औचित्य झन् बढ्दै गएको उल्लेख गर्र्दै उहाँले निष्पक्ष समाचारका लागि सञ्चारकर्मीले आफ्नो विचारलाई बाहिर राखेर पेसागत मर्यादामा केन्द्रित हुनुपर्ने धारणा राखे । सञ्चारकर्मीलाई सरकारले दुर्घटना बिमा र गम्भीर प्रकृतिका रोगको उपचारका लागि छुट्टै कोष स्थापना गरी सहयोग गर्नुपर्ने उनको माग थियो ।
कार्यक्रममा राससका अध्यक्ष एवम् युनियनका पूर्वकेन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले विज्ञका सुझावका आधारमा राससलाई थप उचाइमा पु¥याउन आफू सदैव लागिरहेको विश्वास दिलाए ।
नेपाल पत्रकार महासङ्घ र राससका पूर्वअध्यक्ष तारानाथ दाहालले मुलुकको सञ्चार क्षेत्रका बारेमा अध्ययन अनुसन्धान धेरै भए पनि राजनीतिक अस्पष्टता र सरकारी इच्छाशक्तिको कमीले सञ्चार क्षेत्र समस्याग्रस्त रहेको बताए । राससका पूर्वअध्यक्ष एवम् महाप्रबन्धक पुरुषोत्तम दाहालले रासससम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सार्वजनिक संस्थाको सुधारका लागि दलीयकरणबाट मुक्त गर्नुपर्ने विचार व्यक्त गरे । राससका पूर्वप्रमुख समाचारदाता प्रा रामकृष्ण रेग्मीले कार्यपत्रमाथि टिप्पणी गर्दै सरकारले स्वायत्तता कायम राखी राससलाई पूर्ण सहयोग गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा युनियनका उपाध्यक्ष ईश्वरी ओझा, महासचिव अजयबाबु शिवाकोटी, राससका कार्यकारी सम्पादक एकराज पाठक, युनियनका केन्द्रीय सदस्यद्वय राजाराम कार्की र ठाकुर बेल्वासे, पत्रकार महासङ्घ राससका अध्यक्ष विष्णुप्रसाद नेपाल, युनियन राससका अध्यक्ष नारायण घिमिरे र सदस्य साहिँला तामाङले सञ्चार क्षेत्रका विद्यमान चुनौतीका बारेमा धारणा राखेका थिए ।
केन्द्रीय सदस्य कार्कीले प्रेस युनियन राससले स्थापना गरेको जिपी कोइराला क्रियाशील रासस पत्रकारिता पुरस्कारको अक्षयकोषमा जम्मा हुने गरी रु पाँच हजार रकमको चेक प्रमुख अतिथिमार्फत हस्तान्तरण गरेका थिए ।
‘जिपी कोइराला क्रियाशील पुरस्कार’ पाठकलाई नेपाल प्रेस युनियन राससद्वारा स्थापित ‘जिपी कोइराला क्रियाशील रासस पत्रकारिता पुरस्कार’द्वारा राससका कार्यकारी सम्पादक एवम् अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखा प्रमुख एकराज पाठक पुरस्कृत भएका छन् ।
कार्यकारी सम्पादक पाठकले पुरस्कारबाट प्राप्त रकम युनियनका हालै अल्पायुमै निधन हुनभएका सचिव सूर्यकुमार क्षेत्रीका नाबालक छोराको अध्ययनका लागि सहयोग गर्नका लागि युनियन केन्द्रीय समितिलाई हस्तान्तरण गरे ।
सम्मान पत्रसहित रु पाँच हजार ५५५ राशिको उक्त पुरस्कार युनियनको रासस शाखाले नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाका नाममा २०७२ सालमा स्थापना गरेको हो । यसअघि सो पुरस्कारबाट राससका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत पुरस्कृत भएका थिए ।
युनियनले आजै राससमा १९ वर्षदेखि अस्थायी सेवामा कार्यरत पत्रकार एवम् कर्मचारीको स्थायित्व, वृत्तिविकास तथा राससको सेवालाई अनलाइनमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका अध्यक्ष वाग्ले, महाप्रबन्धक निर्मला आचार्य, वरिष्ठ कार्यकारी सम्पादक सोमनाथ लामिछाने र कार्यकारी व्यवस्थापक उत्तम सिलवाललाई प्रमाणपत्र सहित सम्मान गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण