तमलोपामा ‘पोस्टर’ विवाद !
काठमाडौं–तराई मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशनको तयारी चलिरहेको बेला पोस्टरलाई लिएर विवाद उत्पन्न भएको छ । पार्टीभित्रका दुईटा समुहले अलग–अलग पोस्टर निकालेर आफ्नो अधिकारिक रहेको दावी गरिरहेका छन् ।
महाधिवेशनको मिति तय गरेर दिल्ली पुगेका तमलोपाका अध्यक्ष महन्थ ठाकुर काठमाडौं फर्किनुभन्दा पहिले नै एकगुटले पोस्टर तयार गरेर राखेको थियो ।
ठाकुर काठमाडौ आएर कार्यालयमा पस्ने बित्तिकै सर्वेन्द्रनाथ शुक्ला र वृषेशचन्द्र लालले तयार गरिएको पोस्टर लिएर अध्यक्ष ठाकुर समक्ष उपस्थित भएका थिए । तर, ठाकुर बसेको टेबलमा त्यो पोष्टर राख्ने बित्तिकै उनले सो पोष्टरलाई अस्वीरकार गरे ।
पोस्टर फ्यालेर लाल र शुक्लासँग ‘क्या है ये ?’ भनेर ठाकुरले प्रश्न गरेको तमलोपा स्रोतले भन्यो । यति मात्र भनेर ठाकुर कार्यालयसँगै रहेका ट्वाइलेटमा छिरेका थिए । अध्यक्ष ठाकुर रिसाएपछि उनी ट्वाइलेटबाट नबाहिरिदै उनीहरु कार्यकक्षबाट बाहिरिएका थिए ।
पोस्टर हेरेर किन रिसाए ठाकुर ?
लाल र शुक्लाले तयार पारेको पोस्टरमा अध्यक्ष ठाकुरको फोटो सानो राखेर एक कुनामा राखिएको थियो भने अन्य दलका र तमलोपाका अन्य नेताहरुको आन्दोलनका फोटोहरु राखेर पोस्टरलाई भद्दा बनाएको ठाकुरको ठहर थियो (हेर्नुहोस् पोस्टर) ।
पोस्टर बनाउने काम प्रचार प्रसार समितिको हो । तर, समिति गठन नहुँदै अध्यक्ष ठाकुरको अगाडि काम गरेका देखाउनका लागि पोस्टर तयार गरेर हतार–हतारमा ठाकुरलाई देखाउन लगेका थिए ।
आफ्नो फोटो सानो हुनु कुनै ठूलो नभएपनि तर त्यसमा अन्य दलका नेताहरुको आन्दोलनका फोटो राख्न आवश्यक नरहेको धारणा ठाकुरको रहेको तमलोपाका नेता बताउँछन् । उनीहरुले जसरी पनि यही पोस्टरलाई कार्यान्वयनमा ल्याउने दावमा देखिएको छ । पार्टी स्रोत भन्छ, त्यसमा कमिशनको खेल भएको छ ।
यता, पार्टीका महासचिव जितेन्द्र सोनलको संयोजकत्वमा गठन भएको प्रचार प्रसार समितिले अर्को पोस्टर तयार गरेको छ । सो पोस्टर अध्यक्ष ठाकुरबाट स्वीकृत भइसकेको छ । सो पोस्टरमा अध्यक्षको ठूलो हँसिलो अनुहार भएको फोटो राखिएको छ । पोस्टरमा ठाकुर बाहेक कसैको फोटो राखिएको छैन । (हेर्नुहोस दोस्रो पोस्टर)
तमलोपाको महाधिवेशन असार ६, ७ र ८ गते नवलपरासीको रामग्राममा हुँदैछ । त्यसका लागि विभिन्न ११ वटा समितिहरु पनि गठन भइसकेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण