बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

विवादले लाखौँ लगानी भएको बिउ भण्डारण भवन अलपत्र

मङ्गलबार, ११ जेठ २०७३, ०७ : ५१
मङ्गलबार, ११ जेठ २०७३
म्याग्दी – बेनी नगरपालीका १ रत्नेचौरमा निर्माण भएको बिउ भण्डारण भवन अलपत्र परेको छ । स्थानीय कृषकहरुले उत्पादन गर्ने खाद्यान्न र तरकारीको बिउ भण्डारण गर्ने उद्देश्यले वि.स २०६९ मा निर्माण भएको दुई वटा भवन प्रयोगमा आउन सकेको छैन् । जिल्ला कृषि विकास कार्यालयद्धारा सञ्चालित एकिकृत सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना (आईडब्लुआरएमपी)को १७ लाख १० हजार रुपैयाँ सहयोगमा रत्नेचौर व्यवसायीक कृषी सहकारी संस्थाले निर्माण गरेको भवन प्रयोग र संरक्षण हुन नसक्दा अलपत्र परेको हो । भवन निर्माण गर्ने जिम्मेवारी पाएका स्थानीय पुनम पुन र सहकारी सञ्चालक समितिका अध्यक्ष बसन्त बोगटीबीच उत्पन्न बिवादका कारण भवन प्रयोगमा आउन नसकेको स्थानीय बासीन्दाहरुले बताएका छन् । भवन निर्माणका क्रममा उत्पन्न बिवादले रत्नेचौरका एक सय जनाभन्दा बढी कृषकहरुको सेयर लगानी रहेको सहकारी संस्था ३ बर्षदेखि बन्द भई निश्क्रिय बनेको छ । भवन प्रयोगमा आउन नसक्दा कृषकहरु मर्कामा परेको स्थानीय बासिन्दा निरबहादुर थापाले बताए । कृषकहरुले उत्पादन गरेको गहुँ, मकै, धान, कोदो आदी खाद्यान्नका साथै तरकारीको बिउ भवनमा सुरक्षित रुपमा भण्डारण गरि सहकारीमार्फत बजारीकरण गर्ने उद्देश्यले भवन निर्माण गरिएको थियो । सहकारीको निश्क्रियता र भवन प्रयोग हुन नसक्दा कृषि विकास कार्यालयले सहकारीमार्फत उपलब्ध गराउने सेवा सुबिधाबाट रत्नेचौरका कृषकहरु बञ्चित भएका थापाले बताए । सहकारीका सञ्चालकहरुको नियमित निगरानी र नक्सा अनुसारको काम गरेर प्राविधिकको सिफारीसमा चार वर्षअघि सम्पन्न भएको योजनाको अझैँ भुक्तानी पाउन नसकेको भन्दै ठेकेदार पुनम पुनले भवनमा ताला लगाएर प्रयोग गर्न दिएका छैनन् । १७ लाख १० हजार रुपैयाँमा भवन निर्माण गर्ने जिम्मेवारी पाएका पुनले सहकारीका अध्यक्ष बसन्त बोगटीले गलत नियत राखेर भुक्तानी रोकेको आरोप लगाए । अध्यक्ष बोगटीले भने, ‘पुनले भवनमा फर्निचर र विद्युत जडानको काम नगरेको दावी गरे । कृषि विकास कार्यालयले सम्झौता भन्दा ७४ हजार रुपैया कम अनुदान दिएकाले उनलाई सम्झौता अनुसारको रकम दिन नसकेको बोगटीको भनाई छ । १६ लाख १० हजार रुपैया भुक्तानी लगीसकेका पुनले बाँकी काम गरेमा बैंकको खातामा रहेको ८४ हजार रुपैया तत्कालै उपलब्ध गराउने उनले बताए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप