बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

एक गाग्री पानी लिन एक दिन

मङ्गलबार, ११ जेठ २०७३, ०९ : १३
मङ्गलबार, ११ जेठ २०७३

दाङ– पानीको भरपर्दो मुहान नहुँदा यहाँका स्थानीयलाई एक गाग्री पानी लिन एक दिन लाग्ने गरेको छ ।

दाङको तुलसीपुर–७ प्रतावकोट, नाउला, दाङपानीका बासिन्दा एक गाग्री खानेपानी लिन एक दिनको समय खर्चिदै आएका छन् ।

भौगोलीक विकटताका कारण नगरपालिका भए पनि शिक्षा स्वास्थ्य, विद्युत् तथा सञ्चारको विकासले गति लिन नसकेको उक्त स्थानमा खानेपानीको पनि प्रमुख समस्या छ ।

पानीको मुहान टाढा तथा नजिकमा मुहान नहुँदा त्यहाँका स्थानीयवासीले घन्टौँ हिँडेर खानेपानी लिन जानुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । “नजिकमा मुहान छैन, भएको एउटा धारामा पनि पालोअनुसार पानी भर्नुपर्ने बाध्यता छ ।”

स्थानीय सुमित्रा वाठाँले आज बिहान भने, “तिन गाउँको एउटा धारो छ त्यो पनि एक गाग्री पानी भर्न आधा घन्टा लाग्छ सुन्न पनि अप्रत्यारीलो कुरा, सोमबार साँझ गाग्री पालोमा राखेको थिए, अहिले पालो आयो ।”

त्यसैगरी काफल ढुङ्गा खानेपानी योजनाअन्तर्गत पाइप लाइन बिछ्याएर खानेपानीको जोहो गर्दै आए पनि हाल सो खानोपानीको पाइप वर्षात्को पहिरोले बगाएपछि करिब ७० घरधुरीले एउटा धाराबाट पानी खान बाध्य भएका छन् । “गत सालको वर्षात्मा आएको पहिरोले ३०० मिटर पाइप वगाएको छ, पाइपलाइन मर्मत हुन सकेको छैन्” –स्थानीय सुकबहादुर गुरुङले भने ।

यसैगरी उहाँले नगरपालिकालाई पाइप उपलब्ध गरिदिन अनुरोध गरेको तर आफूहरुको मागप्रति सम्बन्धित निकाय गम्भीर नभएको गुनासो गरे । सानोतिनो बजेटले खानेपानीको योजना सम्पन्न नहुने भएकाले मुहान भए पनि पानीको समस्या हुँदै भएको स्थानीय बताउँछन् ।

तुलसीपुर–७ का वडा सचिव खगराज भट्टराईले भने, “पानीको समस्या वडामा निकै छ, दुई हजार बढी जनसङ्ख्या रहेको वडामा कुनै योजना छैन खानेपानीको एक गाग्रीपानी लिन ३÷४ घन्टा लाग्छ– भट्टराइले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप