सर्वदलीय बैठक : महन्थ आउँछु भन्ने उपेन्द्र नमान्ने !
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नजाने भएको छ । प्रम ओलीले मोर्चा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितको सर्वदलीय बैठक मंगलबार बिहानका लागि आह्वान गरे पनि मोर्चाले बैठकमा सहभागी नहुने बताएको हो ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरका सहगोगी सतेन्द्र मिश्रका अनुसार मोर्चा बैठकमा नजाने बारे सरकारलाई जानकारी गराइसकिएको छ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले रातोपाटीसँग कुरा गर्दै भने, ‘हामीले पठाएको पत्रको सरकारबाट चित्त बुझ्दो जवाफ पाएनौं । हामीले प्रस्तुत गरेको मागबारे चित्तबुझ्दो जवाफ नपाएसम्म हामी बैठकमा सहभागी हुँदैनौं ।’
सरकारले गत वैशाख २६ गते मोर्चालाई वार्तामा आउनका लागि पत्र पठाएको थियो । जसको जवाफमा मोर्चाले वैशाख ३० गते सरकारलाई पुनः पत्र पठाएको थियो । त्यही पत्रको आधार सोमबार सरकारले दोस्रो पत्र पठाउँदै मोर्चालाई वार्तामा आउन आग्रह गरेको थियो ।
महतोले अब मोर्चाको बैठक बसेर मात्र सरकारसँग वार्ता गर्ने बारे निर्णय गरिने पनि बताए ।
ठाकुरले दिए प्रतिबद्धता, भए ब्याक
सरकारसँग वार्ता गर्ने विषयमा मधेसी मोर्चा र मोर्चासम्मिलित संघीय गठबन्धनमा दुई भिन्न मत देखिएको छ । जसका कारण वार्तामा आउने प्रतिबद्धता जनाएर पनि मोर्चा अन्तिम समयमा ब्याक भएको छ ।
सरकारले हिजो पठाएको पत्र तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग सल्लाह गरेर नै पठाएको थियो । स्रोतका अनुसार ठाकुरले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली लगायत शीर्ष नेताहरुसँग छलफल गरेर सरकारले पत्र पठाए आफूहरु वार्तामा सहभागी हुने प्रतिबद्धता जनाएका थिए । देउवाले पनि मोर्चा वार्तामा सहभागी भए आफूहरु पनि बैठकमा सहभागी हुने जवाफ दिएका थिए ।
ठाकुरको प्रतिबद्धतापछि सरकारले पत्र त पठायो तर संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवलगायत गठबन्धनका अन्य नेताको असन्तुष्टिको कारण आज मोर्चाले बैठकमा सहभागी नहुने निर्णय गर्यो ।
सरकारले पत्र संयुक्त लोकतान्त्रिक मोर्चाको नाममा पठाएको छ । तर, अहिले संघीय गठबन्धनले आन्दोलन गरिरहेको छ ।
स्रोतका अनुसार यस विषयमा यादवसहित उनको नजिक मानिएका शरत्सिंह भण्डारी, राजकिशोर यादवलगायत गठबन्धनका नेताहरुको असन्तुष्टि रहेको छ । उनीहरु सरकारले गठबन्धनको नाममा पत्र पठाओस् भन्ने चाहन्छन् । ‘मोर्चाको नाममा मात्र पठाएको पत्र आधारमा वार्तामा जाँदा गठबन्धनका अन्य दलको अवहेलना हुने भयो,’ संघीय समाजवादी फोरमका एक शीर्ष नेताले बताए ।
यसो त आजको वार्तामा महतो पनि जान तयार नै थिए । तर, मोर्चाकै अन्य नेताले पत्रप्रति असन्तुष्टि जनाए पछि महतोले पनि मोर्चा विभाजित भएको सन्देश नदिनका लागि ‘चित्तबुझ्दो जवाफ आएन’ भन्दै सेफल्याण्डिङ खोजे ।
यस्तो छ प्रधानमन्त्रीले पठाएको पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण