गठबन्धनकै नाममा पत्र पठाउन सरकार तयार
काठमाडौं, जेठ ११– मधेसी मोर्चाका नेताहरुको बहिस्कारका बाबजुत सत्तारुढ दल र नेपाली कांग्रेसबीच मंगलबार बैठक बसेको छ । बैठकमा आन्दोलनरत पक्षहरुले उठाएका मागबारे छलफल हुनुका साथै वार्तामा आउनका लागि पुन आह्वान गरिएको छ ।
बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले आन्दोलनरत दलका मागबारे बैठकमा छलफल भएको भन्दै समस्याको समाधान वार्ताको माध्यमबाटै सम्भव भएकाले मोर्चाका नेताहरुलाई आग्रह गरिएको बताए ।
मधेसी मोर्चाका नेताहरुले वार्ताका लागि संघीय गठबन्धनको नाममा पत्र नपठाइएकाले बैठक बहिस्कार गरेको भनि बताइरहेको बेला श्रेष्ठले यदी त्यस्तो हो भने गठबन्धनकै नाममा पत्र बठाउन सकिने बताए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मोर्चाको माग सम्बोधन गर्ने योजनाका साथ बैठक बोलाइएपनि मोर्चाकै नेताहरु नआउनु दुःखद भएको बताए । यस्तै उनले आफूले बैठक तमलोपाको अध्यक्ष महन्थ ठाकुरको सल्लाहमा बोलाएको पनि बताएको एक नेताले बताए ।
सर्वदलीय बैठक : महन्थ आउँछु भन्ने उपेन्द्र नमान्ने !
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कानुन मन्त्री तथा एमाले नेता अग्नी खरेलले आन्दोलनरत पक्षलाई पुन वार्ताको लागि आह्वान गर्ने निर्णय भएको बताए । यस्तै कांग्रेस नेता महेश आचार्यले आन्दोलनरत पक्षको मागबारे आफ्नो पार्टी गम्भीर भएको भन्दै समाधानको लागि पार्टीले पहल गर्ने बताए । मन्त्री खरेलले प्रधानमन्त्री कार्यालयमा मोर्चाको नाममा मागसहितको पत्र दर्ता गराएकाले सोही बमोजिम पत्र पठाइएको स्पष्ट पारे ।
माओवादी केन्द्रका नेता रामबहादुर थापाले मधेस केन्द्रित दलहरु वार्तामा उपस्थित नभए पनि कसरी समस्या हल गर्न सकिन्छ भन्ने सम्बन्धमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच छलफल भएको जानकारी दिए । नेता थापाले पुनः वार्ता गरी सम्वादबाटै समस्या हल गर्न सकिन्छ भन्ने सहमति भएको बताए ।
प्रधानमन्त्रीले सरकार वार्ता र छलफलबाट नै समस्याको समाधान चाहन्छ भन्ने दृढता व्यक्त गर्दै पत्र पठाएको उपप्रधानमन्त्री एवम् मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिनुभयो ।
वार्ता र सम्वादबाटै समस्या हल गर्न सकिन्छ भन्नेमा सरकार गम्भीर रहेको स्पष्ट पार्र्दै उपप्रधानमन्त्री गच्छदारले आन्दोलनकारी दललाई वार्तामा आउन पुनः आग्रह गर्ने सहमति भएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग छलफल गरी आज वार्ताका लागि बोलाएको भए पनि असन्तुष्ट दलहरुले भने आफूलाई वार्ताका बारेमा कुनै जानकारी नभएको सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले बताए ।
प्रधानमन्त्रीले मङ्गलबार मधेसी मोर्चालाई सम्बोधन गरी ६ बुँदे लिखित पत्र पठाएका थिए । मोर्चाका तर्फबाट गत वैशाख ३० गते सरकारलाई पठाइएको ध्यानाकर्षण पत्रको जवाफमा प्रधानमन्त्री ओलीले मोर्चालाई नै सम्बोधन गरी पत्र पठाएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण