काठमाडौँ - घरेलु तथा साना उद्योगमा २७ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।
स्थानीयस्तरमा उत्पादित वस्तुलाई उद्योगमार्फत विभिन्न ठाउँमा पु¥याउँदै आएको घरेलु तथा साना उद्योग विकास समितिले समितिअन्तर्गत २७ हजार ५६० जनाले रोजगारी पाएका हुन् । जसमध्ये महिला १६ हजार २६९ र पुरुष ११ हजार २९१ जना रहेका छन् । समितिका प्रवक्ता राजेन्द्र मिश्रले पछिल्लो समय घरेलु उद्योगमा काम गर्नेको सङ्ख्या बढेको बताए ।
“घरमै बसेर सानो लगानीमा काम गर्न सकिने भएकाले पछिल्लो समय यो पेसामा पुरुषभन्दा महिलाको आकर्षण बढेको हो,” उनले भने। समितिको दोस्रो चौमासिक (साउनदेखि फागुन) सम्मको प्रगति विवरणअनुसार घरेलु उद्योग ३२० र साना उद्योग चार हजार ६५८ रहका छन् । यस्तै घरेलु उद्योगको निजी फर्म २८४, साझेदारी फर्म २६ र निजी उद्योग १० वटा दर्ता रहेका छन् । त्यस्तै साना उद्योगतर्फ निजी फर्म चार हजार ४४५, साझेदारी फर्म १५९ र निजी उद्योग ५४ दर्ता रहेका छन् ।
यसैगरी, उत्पादनमूलक उद्योग ६२२, ऊर्जामूलक उद्योग ४१, कृषि तथा वनजन्य दुई हजार ६५, पर्यटन ७९७, खनिज ४८, सेवामूलक एक हजार ४०२ र निर्माण ४१ गरी पाँच हजार १६ उद्योग दर्ता रहेको प्रवक्ता मिश्रले जानकारी दिए । घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत हाल ४८ जिल्लामा उद्योग सञ्चालनमा रहेका छन् । उक्त उद्योगको स्थिर र चालु पुँजी गरी रु चार अर्ब ७४ करोड ४७ लाख ९९ हजार रहेको छ । जसमध्ये स्थिर पुँजी रु दुई करोड ३८ लाख ५७ हजार र चालु पुँजी दुई अर्ब ७३ करोड ८६ लाख ५९ हजार रहेको छ ।
घरेलु र साना उद्योगबाट यो आवको दोस्रो चौमासिकसम्ममा रु दुई करोड ३५ लाख ४२ हजार २२ राजस्व सङ्कलन भएको समितिका उपकार्यकारी निर्देशक विनोद कार्कीले जानकारी दिए ।
समितिले सीपमूलक तालिमसमेत प्रदान गर्दै आएको छ । तालिमका माध्यमबाट उद्योग सञ्चालन गर्ने उद्यमीको सङ्ख्या वार्षिक रुपमा बढ्दै गएको हो ।
समितिका पूर्व निमित्त कार्यकारी निर्देशक निलम ताम्राकारले घरेलु तथा साना उद्योगको विकास र विस्तारका लागि संस्थागत रुपमा सीप विकास, उद्यमी विकास कार्यक्रम र उद्योग प्रवद्र्धनात्मक सेवाहरु उपलब्ध गराउँदै आएको बताए । उनले भने – “बेरोजगार युवाका लागि साना तथा घरेलु उद्योग समिति रोजगारीको माध्याम बनेको छ ।”
समितिले यसवर्ष भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माणका लागि एक हजार ९३३ जनालाई डकर्मी, सिकर्मी, प्लम्विङ, हाउस वायरिङ, कपाल काट्नेलगायतका तालिम प्रदान गर्दै आएको छ । यस्तै पुनःनिर्माणका लागि चाहिने आवश्यक औजारलाई सहुलियत दरमा प्रदान गरेको छ । समितिका सूचना अधिकारी देवप्रकाश गुरागाईंले साना तथा घरेलु उद्योगबाट वार्षिक रुपमा रु सात अर्ब ३९ करोड बराबरको उत्पादन हुँदै आएको बताए ।
“कम लगानीमा उद्योग सञ्चालन गर्न सकिने भएकाले आर्थिक वृद्धि भएको हो,” उनले भने । लघु, घरेलु तथा साना उद्योग विशेष गरी स्थानीय स्रोत साधनमा आधारित, स्थानीय बजारमा बिक्री व्यवस्थापन गरिने र स्थानीय समुदायबाट सञ्चालित हुने भएकाले नाकाबन्दीले खासै असर नपु¥याएको गुरागार्इंको भनाइ छ ।