साईकलमा फलफूल बेच्नेलाई नक्कली भारु भिडाउन खोज्दा लाखौं कारोबारको पोल खुल्योे
काठमाडौं– लागुऔषध मुद्दामा २०५२ सालदेखि २०६७ सालसम्म सुन्धारास्थित केन्द्रिय कारागारमा १५ बर्ष जेल जीवन बिताएका वैजनाथ गुप्तासहित नक्कली भारु कारोबारमा संलग्न ८ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । ठूलो परिणामको नक्कली भारुसहित पक्राउ पर्नेहरुमा मिरा जिरेल, सुमन मल्ल, तारणी प्रसाद ठाकुर, बैजनाथ गुप्ता, बिजयराज शर्मा, सनद प्रधान, अमृत मान श्रेष्ठ र पाकिस्तानी नागरिक समा नाज रहेका छन् ।
भारतीय जाली रुपैयाँ तथा जाली अमेरिकी डलरसहित पक्राउ परेकाहरुलाई मंगलबार सार्वजनिक गर्दै महानगरीय प्रहरी कार्यालय रानिपोखरीले उनीहरुबाट १९ लाख ८७ हजार भारतिय नक्कली रुपैयाँ बरामद गरिएको जनाएको छ । त्यस्तै त्रिभुवन विमानस्थल ओर्लनासाथ पक्राउ परेकी पाकिस्तानी नागरीक समा नाजको साथबाट ३६ लाख नक्कली भारु र १९ हजार पाँच सय अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसरी खुल्यो पोल
वैशाख अन्तिम साता तिर काठमाडौंको टिचिङ हस्पिटल अघिल्तिर साईकलमा फलफुल तथा तरकारी बेच्नेसँग दोलखाकी युवती मिरा जिरेल र कपनका सुमन मल्लले केही भारतीय जाली रुपैयाँ साटेका थिए । हजार–पाँचसयको त्यो भारतिय रुपैयाँ नक्कली भन्ने थाहा पाएसँगै ति ब्यापारी महानगरीय प्रहरी वृत महाराजगञ्ज पुगे ।
महाराजगंज प्रहरी वृतका डिएसपी विश्वमणी पोखरेलको सल्लाह अनुसार मधेशी मुलका ती ब्यापारीले मिरा र सुमनलाई आफुले अरु धेरै भारतिय रुपैयाँ सटही गर्न सक्ने जानकारी दिए । त्यसपछी ३२ हजार नक्कली भारु लिएर टिचिङ पुगेका मिरा र सुमनलाई पक्राउ गर्न महानगरीय प्रहरी वृत महाराजगंज सफल भयो ।
‘त्यसपछि अन्य जाली नोट कारोबारीको पोल खुल्दै गयो,’ महाराजगञ्ज वृतका डिएसपी विश्वमणी पोखरेलले भने, ‘मिरा र सुमनको सूचनाका आधारमा हामीले बैजनाथ गुप्ता, सनद प्रधान र अमृतमान श्रेष्ठलाई समात्न पक्राउ गर्न सफल भयौं ।’
प्रहरीले मिरा जिरेलबाट २ लाख, सुमन मल्लबाट १ लाख ३२ हजार, वैजनाथ गुप्ताबाट १ हजार पाँच सय, बिजयराज शर्माबाट ५ लाख ८८ हजार, सनद प्रधानबाट १० लाख तथा अमृतमान श्रेष्ठबाट ६५ हजार भारु बरामद गरिएको प्रहरीले जनाएको छ ।
नक्कली भारुको सुटकेश बोकेर विमानस्थल ओर्लनासाथ कर्याप्प !
यसअघी दुई पटक नेपाल आएकी पाकिस्तानकी समा नाज तेस्रोपटक त्रिभुवन विमानस्थलबाट होटलतर्फ जाँदै थिईन् । प्रहरी प्रधान कार्यालय, विशेष ब्युरोको सूचनाको आधारमा उनलाई त्रिभुवन विमानस्थलको गोल्डेन गेट क्रस गर्न नपाउँदै काठमाडौं प्रहरीले पक्राउ गर्यो । जेठ ८ गते फक्राउपछि मंलगबार सार्वजनिक गरिएको नाजको साथबाट ३६ लाख भारतिय जाली रुपैयाँ तथा १९ हजार पाँच सय नक्कली अमेरिकी डलर बरामद गरिएको बताईएको छ । प्रहरी प्रधान कार्यालय विशेष ब्युरोका डिआईजी बम बहादुर भण्डारीका अनुसार यसअघी नक्कली अमेरिकी डलर बरामद भएको थिएन् ।
लाखौं जाली नोटको टार्गेट नेपाली बजार
विशेष ब्युरोका डिआईजी बम बहादुर भण्डारीका अनुसार यअसघी नेपाल हुँदै भारतीय बजारमा प्लेसमेन्ट हुने गरेको नक्कली भारु यसपटक नेपाली बजारमै प्लेसमेन्ट गर्नेगरी भारु कारोबारी सक्रिय रहेको पाइएको छ ।
यसरी नेपाली बजारमा नक्कली भारु प्लेसमेन्टको जिम्मा पाएका सुमन मल्ल, मिरा जिरेल र अमृतमान श्रेष्ठले प्लेसमेन्टको तयारी गर्दै गर्दा टिचिङ हस्पिटल अगाडी तरकारी तथा फलफु बेच्दै आएका एक ब्यापारी प्रहरीको शरणमा पुगेपछि कारोबारको संजाल छताछुल्ल भएको थियो । पाकिस्तानबाट नक्कली भारु मगाएर काठमाडौैंबाट वितरण गर्ने वैजनाथ गुप्ता नेपाली बजारमै भारु बिकाउने योजना सहित सिरहाको लहान पुगेका बेला प्रहरीले उनलाई लहानमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो । प्रहरीका अनुसार तारणी प्रसाद ठाकुरले पनि नेपाली बजारमा भारतीय जाली रुपैयाँ सटही गर्ने जिम्मा लिएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण