बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पहिरोको जोखिम रहेको स्थानमा बसोबास

मङ्गलबार, ११ जेठ २०७३, १५ : ४९
मङ्गलबार, ११ जेठ २०७३

म्याग्दी – एक वर्षअघि कालीगण्डकी नदी थुनिने गरि राम्चे ९ काफलडाँडाको पहाड बाट खसेको पहिरोले पुरिएको म्याग्दीको बैसरीमा अझै पहिरोको जोखिम रहेको छ ।

पहिरो खसेको ठाउँको स्थलगत अध्ययन गरेको प्राबिधिक टोलीले बैसरीमा अझै पहिरो खस्ने जोखिम रहेकाले त्यहाँ बसोबास नगर्न र पहिरो नरोकिदा सम्म भौतिक संरचना निर्माण नगर्न अनुरोध गरेको छ ।

जिल्ला विपद् ब्यवस्थापन समितिले खटाएको अध्ययन टोलीका संयोजक भुसंरक्षण अधिकृत दिवाकर पौडेलले भुकम्पका कारण चर्कीएको दुई तिहाई पहाड खसीसकेको र एक तिहाई जमिन अझै चिरा र प्वाल परेकाले जुनसुकै बेला पहिरो जाने खतरा रहेको बताए ।

२०७२ जेठ १० गते बैसरीमा सुख्खा पहिरो खस्दा भगवती २ र राम्चे ९ का २७ घर, दुई वटा झोलुङ्गे पुल, डेढ किलोमिटर सडक पुरीनुका साथै १६ घण्टासम्म कालीगण्डकी नदी थुनिएको थियो । पहिरोका कारण घरबास गुमाएका बेनी जोमसोम सडक अन्तरगत पर्ने ब्यापारीक स्थल बैसरीका बासीन्दाहरु गत पुषदेखि पहिरो माथि अस्थाई टहरा बनाएर बस्न थालेका छन् ।

जिविकोपार्जनका लागि ब्यापार ब्यवसाय गर्न अन्य विकल्प नभएपछि पहिरोले पुरिएको ठाउँमा टहरा बनाएर बसेको बैसरी पहिरो पिडित भिमबहादुर कार्कीले बताए । उनका अनुसार देश बिदेशमा रहेका म्याग्देलीहरुले उपलब्ध गराएको राहत रकम र सामाग्रीले सामान्य टहरा बनाएर चिया, केरा, खाजा र किराना पसल सञ्चालन गरेका छन् ।

तर पहिरोको उच्च जोखिम रहेकाले त्यस ठाउँमा बस्न उपयुक्त नहुने भुसंरक्षण अधिकृत पौडेलले बताए । पहिरोपिडितको अवस्था बुझ्न सोमबार बैसरी पुगेको प्रमुख जिल्ला अधिकारी केशव आचार्य नेतृत्वको टोलीले उनिहरुलाई बर्खा अवधिभर सो ठाउँ छाडेर सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ ।

सुरक्षा निकाय, राजनितिक दल, रेडक्रसकर्मी सहित बैसरी पुग्नुभएका प्रजिअ आचार्यले वैकल्पीक स्थानको खोजी गर्न सुझाव दिदै एकएक थान पाल वितरण गरे । पहिरोका कारण विस्थापित भएका २७ घरपरिवार मध्य चार घरपरिवार पहिरोमाथि अस्थाई टहरा बनाएर बसेका छन् ।

छ घरपरिवार पिप्ले ४ राहुपारेको सामुदायीक वन क्षेत्रमा रहेको अस्थाई टहरामा बस्दै आएका छन् । धेरैजसो बेनी र पोखरामा डेरा लिएर बस्न थालेका छन् । सामुदायीक वनले हट्न दवाव दिएको र जाने अर्को ठाउँको ब्यवस्था नहुँदा समस्यामा परेको पहिरो पिडितहरुले बताएका छन् ।

पहिरो पिडितहरुले सामाजिक र निजी क्षेत्रबाट ५० लाख रुपैया भन्दा बढी राहत सहयोग प्राप्त भएपनि सरकारले पाँच हजार रुपैया बाहेक अन्य सहयोग नगरेकोमा चित्त दुखाएका छन् । भुकम्पका कारण पहिरो गएकाले भुकम्प पिडित सरहको सुबिधा र परिचयपत्रको ब्यवस्था हुनुपर्ने बैसरीका बासिन्दा भिमसेन केसीले बताए ।

प्रजिअ आचार्यले जिल्ला विपद व्यवस्थापन समितिले बैसरीका पहिरो पिडितलाई भुकम्प पिडित सरहको सुबिधा, ऋण र अनुदानको ब्यवस्था गर्न गृह मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणमा सिफारीस गरेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप