बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

राजेन्द्र महतोले यसरी गरे उपेन्द्र यादवको आलोचना

मङ्गलबार, ११ जेठ २०७३, १६ : ५८
मङ्गलबार, ११ जेठ २०७३

काठमाडौं– सद्भावना पार्टीका अध्यक्ष तथा संघीय गठनबन्धनमा आबद्ध नेता राजेन्द्र महतोले संविधान पुर्नलेखनको नाममा फेरि अर्को संविधानसभा जन्माउने काम गर्न नहुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘संविधानमा जुन जुन धारामा गल्ती भएको छ त्यसलाई फेरि लेखेर संसोधन गर्ने भनेको हो ।

संविधान पुर्नलेखनको कुरा गरेर फेरि अर्को संविधानसभा जन्माउने कुरा हुँदैन । संविधानको पुर्नलेखन गर्ने कुरा हामीले गरेका छैनौ ।’

गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधानको पुर्नलेखनको प्रतिबद्धता नआएसम्म सरकारसँग बार्ता समेत नगर्ने सार्वजनिक अभिब्यक्ति दिईरहेको बेला गठबन्धकै एक घटक सद्भावना पार्टीका अध्यक्ष महतोले पुर्नलेखन आवश्यक नभएको बताएका हुन् । गठबन्धनभित्र यादव र महतोबीच सम्बन्ध राम्रो नभएको चर्चा छ।

महतोले प्रधानमन्त्रीले बार्ताको लागि मधेसी मोर्चालाई पत्र पठाउनु सकारात्मक भएको भन्दै संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवको नाम नलिई मोर्चाकै केही नेताले गठबन्धनलाई पत्र नपठाई मोर्चालाई पठाएर डिभाईड एण्ड रुलको नीति अख्तियार गरेको भनि गरेको टिप्पणी प्रति आपत्ति प्रकट गरे ।

उनले भने,‘ प्रधानमन्त्रीको पत्रले डिभाईड एण्ड रुल गर्दैन । मोर्चाको आफ्नो अस्तित्व छ । गठबन्धनको निर्माण हुँदैमा मोर्चा सकिएको छैन । मोर्चा लामो संघर्षबाट आएको हो । मोर्चा अहिले आन्दोलन गर्न मात्रै काठमाडौ आएको हो । उसलाई संबोधन गरेर पत्र लेख्नु सकारात्मक हो ।’ उनले प्रधानमन्त्रीले पठाएको विषयमा संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसेर उपयूक्त जवाफ दिने जानकारी दिदै त्यसकोलागि केही दिनमै मोर्चा बैठक बस्ने स्पष्ट पारे ।

\ संघीय गठबन्धनको नेतृत्व संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गलत प्रक्रिया अपनाएर लिएको आरोप लगाउँदै आफूहरु कोही पनि नभएको बेला नेतृत्व लिने निर्णय गरेकोले त्यसमा आफूहरुको आपत्ति रहेको स्पष्ट पारे ।

महतोले मधेस आन्दोलनको क्रममा मृत्यू भएकालाई शहीद घोषणा, शहीद परिवारलाई क्षतिपूर्ति, घाईतेको उपचार, झुठा मुद्दा फिर्ता, धरपकड बन्द र आफूहरुले पेश गरेको ११ बुँदे मागमा सरकारले आफ्नो धारणा सार्वजनिक गरे बार्ता गर्न तयार रहेको बताउँदै ३६ पटक उपलब्धि विहीन बार्ता गरेकोले यथास्थितिमा विश्वास नभएको बताए ।

महतोले प्रमुख दलहरुले आफूहरुले उठाएको मागमा संविधान संसोधन गरेपनि आफूहरुसँग कुनै छलफल नै नगरी आन्दोलनलाई कमजोर बनाउने गलत उदेश्यले गरिएको दावी गर्दै प्रमुख दलले दावी गरे जस्तो संविधान संसारकै उत्कृष्ट भए किन संसोधन गरेको भनि प्रश्न गरे ।

उनले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर मधेसकै क्षेत्र भएकोले त्यो कुनै पनि हालतमा मधेसमा रहने दावी गर्दै त्यस क्षेत्रका सबै समूदायका जनता मिलेर बसेकोले त्यसमा आपत्ति मानिरहनु पर्ने कुनै आवश्यकता नरहेको तर्क गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप