बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

फेरि ग्वार्डिओला भर्सेस मोरिन्हो

मङ्गलबार, ११ जेठ २०७३, १८ : २५
मङ्गलबार, ११ जेठ २०७३

काठमाडौं – पेप ग्वार्डिओला र जोसे मोरिन्होको स्केचलाई दायाँबायाँ राखेर बीचमा पेस्तोल राख्दै स्पेनिस पत्रिका मार्साले लेखेको छ –‘ अब म्यानचेस्टरमा नयाँ द्धन्द्ध ।’ यतिबेला ग्वार्डिओला र मोरिन्होबीचको लभ–हेटको सम्बन्ध ५ वर्षपछि फेरि चर्चामा छ । सन् २००८ बाट सूरु भएको मोरिन्हो र ग्वार्डिओलाबीचको दुश्मनी मोरिन्होले रियाल म्याड्रिड सम्हालेपछि उचाईमा पुगेको थियो । सन् २०१० देखी २०१२ सम्म यि दुई प्रशिक्षकबीचको वाकयुद्ध हेर्न लायक थियो । तर, सन् २०१२ मा पेप ग्वार्डिओलाले बार्सीलोना छाडेपछि केही समय यि दुई प्रतिस्पर्धी आ–आफ्नै काममा रमाए । तर अहिले उनीहरुले रोजेका क्लब विश्व फुटबलका दुई ठूला दुश्मन हुन्, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी ।

दुई प्रशिक्षकले क्लब सम्हालेपछि यि दुई क्लबबीच जुलाई २५ मा बेइजिङको बर्ड नेस्ट रंगशालामा पहिलो प्रतिस्पर्धा हुनेछ । मोरिन्हो रक्षात्मक फुटबल जोड दिदैँ काउन्टर एट्याकमा विश्वास राख्छन् । यता, ग्वार्डिओला सधैँ सुन्दर फुटबलको वकालत गर्छन् । तर ठीक विपरित म्यानचेस्टर युनाइटेडका समर्थक सुन्दर फुटबलमा विश्वास राख्छन् भने ठूलो लगानी गरेर उत्साहित बनेको सिटी नतिजामा विश्वास राख्छ । सिटीलाई नयाँ उचाईमा पुर्याउनुपर्ने जिम्मेवारी ग्वार्डिओलाको काँधमा छ भने युनाइटेडको पुरानो साख फर्काउनुपर्ने चुनौती मोरिन्होको काँधमा ।

सिटी र युनाइटेड म्यानचेस्टरका पुराना दुश्मन हुन् । सन् ६० र ७० को दशकमा सिटी निकै बलियो थियो र म्यानचेस्टरले भर्खरै युरोपियन कप जितेको थियो । तर त्यसपछि सर एलेक्स फर्गुसनको जमानामा १३ वटा प्रिमियर लिग जित्दै म्यानचेस्टरले प्रिमियर लिगमा आफ्नो एकलौटी दबदबा कायम राख्यो । फर्गुसनकै जमानामा सिटी कमजोर साबित भयो । त्यसैले उनले पटक पटक सिटीलाई ‘हल्ला गर्ने छिमेकीको संज्ञा दिन्थे ।’

तर अब सबै कहानी भयो । अब सिटी पहिलेजस्तो कमजोर रहेन र म्यानचेस्टर पनि पहिलेजस्तो बलियो । अनि इंलिस प्रिमियर लिगका अन्य क्लबहरु पनि उनीहरु दुबैभन्दा स्तरीय देखिन थाले । जस्तो, चेल्सी, आर्सनल, लेइसिस्टेर र टोट्टेनह्याम । प्रिमियर लिगमा सबै क्लबहरु एकसे एक छन् । म्यानचेस्टर युनाइटेडबाट कार्लोस टेभेच म्यानचेस्टर सिटी गएपछि युनाइटेडको टाउको जति दुखेको थियो, सिटीले ग्वार्डिओलालाई भित्र्याउने सम्झौता गर्दा त्योभन्दा कैयनगुणा दुख्यो । त्यसैले त युनाइटेडले पनि मोरिन्होलाई भित्र्याइ छाड्यो । मोरिन्हो युनाइटेड आउने भएसँगै अहिले पेप र मोरिन्होबीचको दुश्मनीलाई लिएर विभिन्न समाचारहरु चर्चामा छन् । स्पेनमै छदाँ मोरिन्होले एकपटक निकै अभद्र व्यवहार देखाउँदै ग्वार्डिओलाका सहायक टिाटो भिलानोभाको दाहिनेँ आँखामा हिर्काएका थिए । ग्वार्डिओलाले बार्सीलोना छाड्नुका कैयन कारणमध्ये एक कारण प्रतिद्धन्द्धी क्लबका प्रशिक्षकसँगको कुटता र त्यसबाट सिर्जित विवाद पनि रहेको धेरैले मान्छन् । ग्वार्डिओला र मोरिन्होका क्लबहरुबीच अहिलेसम्म १६ पटक प्रतिस्पर्धा हुदाँ ग्वार्डिओलाले ७ खेल जितेका छन् । त्यस्तै मोरिन्होले केवल ३ पटकमात्रै ग्वार्डिओलाको क्लबमाथि सफलता निकालेका छन् ।

मोरिन्होको प्रशिक्षण यात्रा

एफसी पोर्टो प्रिमियर लिगा : २००२–०३, २००३–०४ टाका डि पोर्चुगल :२००२–०३ सुपरटाका कानडिडो डी ओलिभियरा : २००३ युईएफए च्याम्पियन्स लिग : २००३–०४ युईएफए कप : २००२–०३ चेल्सी प्रिमियर लिग : २००४–०५, २००५–०६,२०१४–१५ एफए कप : २००६–०७ फुटबल लिग कप : २००४–०५,२००६–०७,२०१४–१५ एफए कम्युनिटी शिल्ड : २००५ रियाल म्याड्रिड लालिगा : २०११–१२ कोपा डेल रेइ : २०१०–११ सुपरकोपा डि स्पाना : २०१२

कुनै समय सुमधुर थियो सम्बन्ध

धेरैले दुई प्रशिक्षकबीचको दुश्मनीलाई मात्रै हेरेका छन् । तर कुनै समय यस्तो पनि थियो जब ग्वार्डिओला र मोरिन्हो निकै मिलेका थिए । सन् १९९७ मा बार्सीलोनाले युईएफए कप–विनर्स कप जित्दा ग्वार्डिओला टोलीका प्रमुख खेलाडी थिए र मोरिन्हो बार्सीलोनाका सहायक प्रशिक्षक ।

सन् २००८ अघिसम्म मोरिन्हो र ग्वार्डिओलाको सम्बन्ध राम्रो थियो । ग्वार्डिओलाले सन् २००६ मा सक्रिय खेलाडी जीवनबाट सन्यास लिएपछि प्रशिक्षणमा पाइला राख्नुअघि विभिन्न देशका प्रशिक्षकसँग भेटेका थिए । यतिबेलासम्म मोरिन्हो विश्वकै चर्चित प्रशिक्षक बनिसकेका थिए । पोर्टोलाई च्याम्पियन्स लिग र चेल्सीलाई प्रिमियर लिग जिताएर ‘स्पेशल वान’ उपमा पाएका मोरिन्होको प्रशंशामा ग्वार्डिओलाले भनेका थिए–‘ प्रशिक्षणमा कसरी सफल हुने भन्ने जान्नका लागि मोरिन्होको करियर हेर्दा हुन्छ । म मोरिन्होलाई निकै सम्मान गर्छु ।’

२ वर्षअघिको पेपको सम्मान दुई वर्षपछि मोरिन्होप्रति उस्तै रहन सकेन । चेल्सीबाट बर्खास्तीमा परेपछि मोरिन्होले संभावित विकल्पका रुपमा बार्सीलोनालाई रोजे । बार्सीलोनाका अधिकांश फुटबल फ्यानहरु पनि मोरिन्होलाई भावी प्रशिक्षकका रुपमा हेर्न लालयित थिए किनकी प्रशिक्षक फ्रयाङ राईकार्ड बार्सीलोनाबाट बिदा हुदैँथिए ।

ग्वार्डिओलाको प्रशिक्षण यात्रा बार्सीलोना बी टेरसेरा डिभिजन : २००७–०८ बार्सीलोना लालिगा : २००८–०९,२००९–१०,२०१०–११ कोपा डेल रेइ : २००८–०९,२०११–१२ सुपरकोपा डि स्पाना : २००९,२०१०,२०११ युईएफए च्याम्पियन्स लिग : २००८–०९,२०१०–११ युईएफए सुपर कप : २००९, २०११ फिफा क्लब विश्वकप : २००९,२०११ बार्यन म्युनिख बुन्डेसलिगा : २०१३–१३, २०१४–१५,२०१५–१६ डिएफबी पोकल : २०१३–१४, २०१५–१६ युईएफए सुपर कप : २०१३ फिफा क्लब विश्वकप : २०१३

तर एक्कासी बार्सीलोनाको बोर्डले पेप ग्वार्डिओलालाई प्रशिक्षक बनाउने निर्णय लियो । बार्सीलोनाका अध्यक्ष जोआन लार्पाटाले घरेलु एकेडेमीबाट उत्पादन भएका खेलाडीलाई प्रशिक्षण दिएको अनुभवका आधारमा पेपलाई बार्सीलोनाको मुख्य प्रशिक्षक चुनेपछि मोरिन्होले इन्टर मिलानको यात्रा तय गरे । सन् २००८ मा पेपको प्रशिक्षणमा बार्सीलोनाले च्याम्पियन्स लिगसहित प्रमुख तीन उपाधी जित्यो ।

यता, मोरिन्होले कार्यकालको पहिलो वर्ष नै इन्टर मिलानलाई इटालियन लिग जिताए । अर्को वर्ष मोरिन्होको इन्टर मिलानले च्याम्पियन्स लिग जित्ने क्रममा पेपको बार्सीलोनालाई सेमिफाइनलमा शिकार बनायो र उपाधी जितेसँगै मोरिन्होले रियाल म्याड्रिड आउने घोषणा गरे ।

चार वर्ष बार्सीलोनामा थिए मोरिन्हो

मोरिन्होले आफ्नो प्रशिक्षण जीवनमा एकै देशका फरक–फरक क्लबहरुलाई प्रशिक्षण दिएर प्रशंशासँग घृणा पनि कमाएका छन् । बार्सीलोनाका समर्थकहरुले रियालका अन्य प्रशिक्षकलाई त्यति घृणा गर्दैनथे, जति मोरिन्होलाई रियालको प्रशिक्षक भएका समयमा गरे किनकी मोरिन्हो कुनै समय बार्सीलोनामा आबद्ध थिए र राम्रो प्रशिक्षक कसरी भन्ने भन्ने पाठ उनले बार्सीलोनाबाटै सिकेका हुन् ।

मोरिन्होले बबी रोब्सन प्रशिक्षक रहेका बेला बार्सीलोनामा दोभाषेको काम थालेका थिए । त्यतिबेला बार्सीलोनाको मिडफिल्डमा पेप ग्वार्डिओला चम्किएका खेलाडी थिए । मोरिन्होले आफ्नो क्षमता अभिवृद्धी गर्दै बार्सीलोनामा सहायक प्रशिक्षकको काम थाले । उनी सन् १९९६ देखी २००० सम्म बार्सीलोनामा थिए । सन् २००० मा प्रशिक्षक भान गालले घरेलु प्रतियोगिता कोपा क्याटालूनियाका लागि मोरिन्होलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिए । अन्तत मोरिन्होले आफ्नो क्षमता प्रमाणित गर्दै बार्सीलोनालाई उपाधी जिताए । त्यसपछि मोरिन्होको छवि मुख्य प्रशिक्षकका रुपमा विकास भयो र पछिल्ला १६ वर्षमा उनी विश्वकै कहलिएका प्रशिक्षक बनिसकेका छन् ।

मोरिन्हो सहायक प्रशिक्षकका रुपमा बार्सीलोनामा छदाँ पेप ग्वार्डिओला टोलीका प्रमुख खेलाडीमध्ये एक थिए । तर मोरिन्हो ग्वार्डिओलासँगभन्दा लुईस फिगो र रोनाल्डोजस्ता खेलाडीसँग निकट मानिन्थे, किनकी उनीहरुको भाषा एउटै थियो, ‘पोर्चुगिज’ । बार्सीलोना र रियाल म्याड्रिडजस्ता दुई ठूला दुश्मन क्लबमा काम गरेका मोरिन्हो यसपटक पनि म्यानचेस्टर आउँदा चेल्सी समर्थकहरुको उत्तिकै तारो बन्ने संभावना छ किनकी म्यानचेस्टरमा आफ्नो परिक्षा सूरु गरेका मोरिन्हो पछिल्लो सिजनको नतिजालाई बिर्सने हो भने चेल्सीका बादशाह नै हुन् ।

अहिले उनले म्यानचेस्टरको यात्रा गरिरहदाँ चेल्सीका समर्थकहरु उनले विश्वासघात गरको भन्दै चिढिन सक्छन् । बार्सीलोनालाई खेलाडी र प्रशिक्षकका रुपमा थुप्रै उपाधी जिताएका ग्वार्डिओलालाई भने त्यस्तो आरोप कसैले लगाउने छैन् किनकी उनले बार्यन म्युनिखमा ३ वर्ष रहदाँ पनि क्लबलाई लगातार तीन उपाधी जिताएका छन् । त्योभन्दा ठूलो विश्वकै चर्चित प्रशिक्षक भएर पनि उनले क्लबप्रतिको इमानदारीता कायम राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप