मोरङमा एक हजारभन्दा बढी परिवार विस्थापित, स्थानीयवासी आन्दोलित
विराटनगर - लगातार एघारौँ दिन पनि वर्षा जारी रहेपछि मोरङमा विस्थापित परिवारको सङ्ख्यामा निरन्तर रुपमा वृद्धि भइरहेको छ ।
जिल्लाका सन्दह, अमरदह, आमगाछी, गोविन्दपुर, डाइनिया, कटहरी, सोराभाग लगायत दर्जनौँं गाविसका साथै विराटनगरको बखरी बस्ती समेतका एक हजारभन्दा बढी घरपरिवार विस्थापित अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विभिन्न नदीका पानी मानव बस्तीमा पसेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली उद्धारमा निरन्तर रुपमा जुटेका छन् । बाढीबाट विस्थापित परिवारलाई रेडक्रस मोरङले खाद्यान्न सामग्री वितरण गरिरहेको छ । एक हजार २०० परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको र थप ७०० परिवारलाई खाद्यान्न सामग्री वितरणको तयारी भइरहेको रेडक्रस मोरङका अधिकृत कमल कोइरालाले जानकारी गराए ।
सबैभन्दा बढी क्षति बक्राहा खोलाले गरेको छ । पथरी–डाइनिया सडक मार्गको पूर्वपट्टिको भाग पूर्ण रुपले जलमग्न छ । गोविन्दपुर– ५ र डाइनिया– ५ मा पुग्न नसक्ने अवस्था छ । त्यहाँबाट प्रहरीको संयुक्त टोलीले कतिपय परिवारलाई उद्धार गरेको छ । सयौं मानिसले यतिखेर सडकमै आश्रय लिएका छन् ।
बाढीबाट प्रभावित क्षेत्रमा रोपिएका हजारौँ हेक्टरका धानबाली डुबान अवस्थामा रहेको छ । एक सातासम्म डुबान भइरहेमा धानबाली गल्ने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी गराए ।
मधुमल्लाका चार परिवार विस्थापित
बक्राहा खोलाले कटान तीव्र पारेपछि मधुमल्ला–४ धप्पर टोलका चार परिवार आज बिहान विस्थापित भएका छन् ।
स्थानीयवासी शेरबहादुर मगर, सनबहादुर मगर, चेतबहादुर मगर र झगत मगरको घर खोलाले कटान गर्न थालेपछि उनीहरु पूर्ण रुपमा विस्थापित भएको स्थानीयवासी कमल मगरले जानकारी दिए ।
त्यस्तै सोही ठाउँका सुन्दर मगर, शिव मगर, दीपक मगर, शुक्र मगर, कालीबहादुर मगर, मनबहादुर मिश्र, गर्जमान मगर, कोपिला खड्का, रमिला राई, तारावीर खड्का र अशोक गोलेको घर पनि डुबानमा परेर कटानको जोखिममा रहेको छ ।
लगातारको वर्षाका कारण पीडितलाई सुरक्षित स्थानमा सारेर राहत उपलब्ध गराउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक यदुकुमार खड्काले जानकारी दिए ।
स्थानीयवासी आन्दोलित
लगातारको वर्षाका कारण डुबानमा परेपछि विराटनगर– ४ र ५, कञ्चनबारीका बासिन्दा आन्दोलित भएका छन् । सडक अवरुद्ध गरेर आन्दोलनमा स्थानीय बासिन्दा उत्रिएपछि आज बिहान कोसी राजमार्गअन्तर्गत विराटनगर–इटहरी सडक खण्डमा दुई घन्टा सवारी आवागमन ठप्प भयो । लगातारका वर्षाका कारण विराटनगरका सबै वडा डुबानमा परेका छन् ।
भारी वर्षा भई पानीको निकास नभएपछि विराटनगर डुबानमा परेको भन्दै नाला निर्माणको माग गरेर स्थानीय बासिन्दा आन्दोलित बनेका हुन् । हातहातमा कुटो र कोदालो बोकेर स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएपछि समस्या समाधानका लागि प्रजिअ तोयम रायको नेतृत्वमा सरकारी टोली कञ्चनबारी पुगेको थियो ।
विराटनगर उपमहानगरपालिकाले स्काभेटर प्रयोग गरेर जाम भएको पानीलाई निकास दिने काम सुरु गरेपछि स्थानीय बासिन्दाले आन्दोलन तत्कालका लागि फिर्ता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण