शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

बाथरोगले कस्तो गराउँछ ?

शनिबार, ०७ फागुन २०७३, ११ : १७
शनिबार, ०७ फागुन २०७३
रोगप्रतिरोधात्मक प्रणाली (इम्युन सिस्टम) कमजोर हुँदा बाथरोग निम्तिने गर्छ । यसले धेरैजसो ‘आउटो एन्टिबडी’ बनेर शरीरको जोर्नीलगायतका अन्य अंगहरू, जस्तैः छाला, आँखा, दिमाग, मुटु, फोक्सो, मिर्गौलालगायतमा असर पुर्‍याउँछ । बाथरोग धेरै प्रकारका हुन्छन् । फरक–फरक बाथरोगमा फरक–फरक लक्षण देखिन्छन् । बाथरोगले खासमा कस्ता असर गर्छ ? – बाथरोगले हातगोडाका जोर्नी सुन्निने र दुख्ने, बिहान उठ्ने वेलामा जोर्नीहरू करकर खाएजस्तो महसुस हुने, तर केही बेरपछि जोर्नी खुल्दै जाने गराउँछ । चिसो पानीमा हात डुबाउँदा या पानी चलाउँदा हातका औँला निला र सेता हुन्छन् । जाडोमा त यसै पनि निला र सेता देखिन्छन् । बिस्तारै जोर्नी र औँला बांगिएको महसुस हुन्छ । औँलाको टुप्पामा घाउ नै बन्न थाल्छ । अन्तमा औँला कालो भएर झर्नेसम्म हुन सक्छ । – अनुहार, हात र शरीरका मांसपेशी कस्सिएर आउने, छाला चाउरी नपर्ने, नखुम्चिनेजस्ता समस्या देखिन्छ । कुर्सीमा बसेको मान्छे अचानक उठ्न नसक्ने, कपाल कोर्दा हात गलेर तल झर्ने पनि बाथरोगले गराउँछ । विशेषगरी, महिलाको त कपाल नै झर्ने हुन्छ । – बाथरोगले फोक्सोमा पनि असर गर्न सक्छ । फोक्सोमा समस्या परेपछि खोकी लाग्ने, लामो समयसम्म खोकी निको नहुने र खोक्दा रगत आउनेसम्म हुन्छ । – बाथरोगले मुख सुक्खा गराउन पनि सक्छ । मुख सुक्खा यतिसम्म हुन्छ कि खाना निल्दा पटक–पटक पानी पिउनुपर्छ । मुख धेरै सुक्खा भएर गिजामा पनि घाउ हुन सक्छ । थुक निकाल्ने ग्रन्थिहरू सुन्निने तथा गाला फुलेको र सुन्निएकोजस्तो देखिने हुन्छ । बाथ रोगले छारेरोगजस्तो लक्षण देखाउनेदेखि मुख नै बांगो पनि गराउन सक्छ । – अचानक टाउको दुख्ने, आँखा सुक्खा र रातो हुने, आँखामा बालुवा पसेजस्तो महसुस हुने पनि बाथरोगकै कारण हुन्छ । बाथरोगले आँखाको ज्योति नै गुम्न पनि सक्छ । मुख र गुप्तांगमा बारम्बार घाउ खटिरा आइरहने हुन्छ । लामो समयसम्म ज्वरो आइरहन्छ । – बाथरोगले ढाडको दुखाइ पनि हुन्छ । राति बढी दुख्छ । दुखाइ खप्न नसकेपछि निद्राबाट उठ्नुपर्ने, ओल्टेकोल्टे फेर्नसमेत नसकिने हुन्छ । बिहान उठ्दा शरीर नै कक्रक्क परेर हलचल गर्न नसक्ने हुन्छ । – बाथरोगका कारण गर्भाशयमा बच्चा नबस्ने तथा बसेको गर्भ पनि बारम्बार तुहिने पनि हुन्छ । पेट दुख्नु, दिसामा रगत आउने पनि मेजेन्टेरिक भास्कुलाइटिक बाथका लक्षण हुन् । प्लस टिप्स त्यसो त यी सबै लक्षण बाथरोगले मात्रै हुँदैन । तर, बारम्बार यस्ता लक्षण देखिए बाथरोग विशेषज्ञलाई देखाउन ढिला गर्नु हुँदैन । ढिला गर्दा बाथरोग नै निको नहुने समस्या पनि निम्तिन सक्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप