बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

निरोगी हुन यस्तो जीवनशैली चाहिन्छ

शनिबार, ०९ वैशाख २०७४, ११ : १४
शनिबार, ०९ वैशाख २०७४
डा. महेन्द्रबहादुर विष्ट पूर्वमहानिर्देशक, स्वास्थ्य सेवा विभाग दिनभरि टेबलवर्क गर्ने, बढी टिभी हेर्ने, किताब पढ्ने, कम्प्युटरमा काम गर्ने, भिडियो गेम खेल्ने, मोबाइलफोन चलाइरहनेजस्ता जीवनशैली अपनाउँदा शरीरमा अनेकौँ विकार पैदा हुन्छन् । दिनहुँ लगातार पाँच घन्टासम्म यस्तो कार्य गर्नु तर व्यायाम नगर्नुलाई निष्क्रियता मानिन्छ । त्यसैले बिहान–बेलुकी हिँड्ने वा व्यायाम नगर्ने हो भने हाम्रो शरीर नै रोगको घर बन्न पुग्छ । शरीरलाई रोगले घर बनाउन नदिने केही उपाय यस्ता छन् : स्वस्थ हुन बसेर मात्रै होइन, उठेर पनि काम गर्नुपर्छ । बसेरभन्दा उभिएर काम गर्दा ऊर्जा वा बढी क्यालोरी खर्च हुन्छ । हरेक घन्टा १० मिनेट शरीर तानतुन गर्ने, घुमाउने र अघि वा पछि झुक्ने सामान्य व्यायाम गर्दा धेरै फाइदा हुन्छ । यस्तो वेलामा योगका आसनहरू उपयोगी हुन्छन् । अफिसमा काम गर्दा खाजा लिने क्यान्टिन केही टाढा बनाउने । ताकि, केही मिनेट हिँड्नु परोस् । बाथरुम र कसिंगर फाल्ने टोकरी पनि कुर्सीभन्दा टाढा राख्ने । लिफ्ट प्रयोग नगरी सिँढी उक्लिने वा ओर्लने, टिभी हेरेको वेला वा मोबाइलमा कुरा गरिरहँदा पनि ट्रेडमिलमा हिँड्ने गरी कोठा मिलाउन सकिन्छ । मोबाइलमा कुरा पनि बसेरभन्दा उभिएर वा केही हिँडेर गर्दा बेस हुन्छ । अफिसका सहकर्मीसँग इन्टरकम (फोन)का सहायताले कुरा गर्नुभन्दा आमनेसामने कुरा गर्न जानेजस्ता कामले पनि शारीरिक सक्रियता कायम राख्न सकिन्छ । असन्तुलित खाना, अल्पनिद्रा र बढी काममा शारीरिक सक्रियता वा व्यायाम भयो भने पनि जोखिम उत्पन्न हुन सक्छ । सन्तुलित वा निश्चित समयमा खानाको टुंगो छैन, धपेडी, शारीरिक सक्रियता, अल्पनिद्रा आदि विसंगति जोडिए भने क्षयरोग, पेट र कलेजोका रोग, तनाव, चिडचिडाहट आदि उत्पन्न हुन सक्छन् । यसले कपाल चाँडै फुल्ने वा झर्ने, रक्तअल्पता, आँखाको शक्ति कमजोर हुने हुन सक्छ । बिहान सबेरै उठ्ने, बिहानको समय शारीरिक सुगठन, स्वस्थ मनस्थिति बनाउने कार्य गर्ने र अफिसमा पनि शारीरिक सक्रियता कायम राख्ने हो भने रोग वा शारीरिक विकार उत्पन्न हुन पाउँदैन । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप