राती १२ बजेबाट मौन अवधि शुरु, मतदानसम्म अव के–के हुन्छ ?
बैशाख २९, काठमाडौं– वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि बिहीबार राति १२ बजेपछि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन निषेध गरिएको जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेकोे विज्ञप्तिमा, ‘स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ । निर्देशिकाको दफा ६०को (१)मा मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन भन्ने उल्लेख छ ।’ सोही निर्देशिकाको दफा ७० को उपदफा(१)मा मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउने वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गरिएको आयोगले जनाएको छ । निर्वाचन हुनु ४८ घन्टा अघि सुरु हुने मौन अवधिले मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न प्रेरित गर्ने यस क्षेत्रका विज्ञको धारणा छ । मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन पाइँदैन । आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेती राजनीतिक दल तथा उम्मेदवारका प्रचारप्रसार मतदानको अन्तिम समयमा आएर कुनै द्वन्द्वमा परिणत नहोस् वा निर्वाचनको मुखमा प्रचार प्रसारमा विकृति नबढोस् भनेर मौन अवधि राख्ने गरिएको बताउँछन् । पूर्व प्रमुख आयुक्त उप्रेतीले भने, ‘निर्वाचन हुनु ४८ घन्टा अघि मौन अवधि सुरु हुने विश्वकै प्रचलित मान्यता हो । निर्वाचनको वातावरण शान्त होस्, उम्मेदवारबीचको प्रतिस्पर्धा अस्वथ्य नहोस् भनेर मौन अवधि राखिएको हो । मतदातालाई शान्तपूर्वक सोच्न, उम्मेदवारलाई आफ्नो तयारीका बारेमा समीक्षा गर्न र निर्वाचन आयोगलाई बाँकी काम पूरा गर्न पनि मौन अवधिको महत्व छ ।’ पहिलो चरणको निर्वाचन वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ का २८३ स्थानीय तहमा हुँदैछ । उक्त दिनको मतदान बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने आयोगले जनाएको छ । दलहरूले आफ्ना प्रचारप्रसारका काम अन्तिम चरणमा पुगेको जनाएको छ । मौन अवधिमा प्रचारप्रसार गर्न र मत माग्न हँुदैन । यो अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसार सामग्री हटाएको हुनुपर्नेछ । स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ अनुसार एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न हँुदैन । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता साङ्केतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन पाइँदैन । उम्मेदवार वा दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न हुँदैन । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको बताए । निर्देशिकाको दफा ७० को उपदफा(१)मा मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गरिएको छ ।
“मौन अवधि भनेको शान्त अवधि हो, यो अवधि भनेको उम्मेदवारले आफ्नो तयारीका बारेमा समीक्षा गर्ने र मतदाताले कसलाई भोट दिने भनेर विचार बनाउने समय हो” – प्रवक्ता शर्माले भने । यस निर्वाचनमा उम्मेदवारको सङ्ख्या ४९ हजार ३३७ रहेको छ । यसअनुसार पुरुषको सङ्ख्या ३० हजार पाँच र महिलाको सङ्ख्या १९ हजार ३३२ कायम भएको छ । प्रतिशतको हिसाबले जम्मा उम्मेदवारमध्ये पुरुष ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत रहेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण