शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रजातन्त्रपछि कुन दलले कति शासन गरे ?

शुक्रबार, २९ वैशाख २०७४, १३ : ४५
शुक्रबार, २९ वैशाख २०७४

–अग्नि चौलागाईं

नेपालमा प्रजातन्त्र पुनस्र्थापना भएको करिब २७ वर्ष भइसकेको छ । हाम्रा समस्याहरू हिजोका दिनमा भन्दा आज झनझन बढ्दो क्रममा छन् । राज्यका साधनस्रोतहरू निश्चित व्यक्तिहरूमा सीमित हुने क्रम बढ्दो छ । नब्बेको दशकमा गन्न सकिने युवाहरू रोजगारीको सिलसिलामा परदेशिएको देशमा आज लाखौँ युवाहरू मरुभूमिको तातोमा आफ्ना पाखुरा बजार्दै छन् त कोही मलेसियाको जङ्गलमा बाध्य भएर परिवारबाट टाढा हुँदै काम दैछन् । विदेशबाट हरेक दिन नेपाल भित्रिन्छन् । देशभित्रका ऊर्जाशील हातहरू विदेशमा भाँैतारिँदै छन् । ग्रामीण भेगमा गएर प्रजातन्त्र आयो भनेर सोध्यो भने, खै कता आयो, कसलाई आयो भनेर सोध्ने अवस्था छ । ग्रामीण भेगमा आफ्नो श्रम गरेर खानेका लागि हिजो र आजको दिनमा तात्विक अन्तर आएको छैन । दस वर्षे जनयुद्धबाट उपलब्धिको रूपमा गणतन्त्र आयो भनिन्छ तर अझै जनताले हिजो र आजको प्रजातन्त्रमा फरक पाएका छैनन् । यही युद्धका कारण आयआर्जनका लागि धेरै मानिस परदेश जान बाध्य भए । यस कालमा देशभित्र उद्योग, कलकारखाना खुलेनन् । खुलेका समेत राम्रोसँग चलेनन् । सरकारी स्तरमा चलेका हेटौँडा कपडा कारखाना, भृकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता कारखाना जस्ता धेरै उद्योग बन्द भए । ती मेसिनहरु कौडीको भाउमा बिक्री गरियो । आन्तरिक उत्पादन नहुँदा अहिले हाम्रो व्यापार घाटा करिब ६ खर्ब रहेको देखिन्छ । देश रेमिटेन्सबाट चलेको र प्वाल परेको घँैटो जस्तो भएको छ । विदेशबाट पैसा आउने, सीधा सामान खरिदमा बाहिर जाने । घैँटोको प्वाल टाले पो केही जम्मा हुँदै देशमा समेत विकास र परिवर्तनको आशा गर्न सकिन्थ्यो । नेपालमा सदैव अस्थिरता पैदा भएर उद्योगधन्धा बन्द भई नेपाली युवा परदेश जाने, विदेशबाट रेमिटेन्स पठाउने र सो सीधा भारतीय बजारमा सामान खरिदका लागि जाने अवस्था हुँदासम्म भारतीय उद्योगधन्दालाई टेवा पुग्ने र रोजगारीसमेत उतै सिर्जना हुने हुँदा भारतले पनि किन नेपालमा स्थिरता देख्न चाहँदैन । अहिलेसम्म प्रत्यक्ष वा परोक्षरुपमा भारतले गरेका क्रियाकलाप हेर्दा यसलाई टेवा पुग्ने आधारहरु देखिएका छन् । भारतका लागि नेपालको ६ खरबमा तीन खरबको मात्र व्यापार भए पनि नेपाल एउटा ठूलो बजार हो, जुन उसले गुमाउन चाहने पनि छैन । अरू देशले आफ्नो स्वार्थ चाहानु स्वाभाविक हो । तर हाम्रा नेताहरूले यसलाई ठोस रूपमा समाधान गर्न नचाहनु भनेको सरासर देश र जनतामाथि धोका हो । आफ्नो देशको परिस्थिति अनुकूल रहने गरी जनताको भावना बुझेर कार्य जरुरी छ । प्रजातन्त्र पुस्र्थापनाभन्दा पहिलेको भन्दा अहिले वैदेशिक ऋण धुरीमा पुगेको छ । धेरैजसो ऋण अनुत्पादक कार्यमा प्राप्त भएका छन् । धेरैजसो रकम तालिम, गोष्ठी, सेमिनार इत्यादिमा सकिन्छ । कुनै समय मैले आफै काम गर्दासमेत पाँच लाखको कामसम्पन्न गर्न देश विदेशदेखि गरेर पाँच करोड खर्च गरे होलान् । स्थानीय जनताले पाउने भन्दा सयौँ गुणा बढी रकम हावामा उडेको हुन्छ । हरेक मन्त्रालयमा बजेट पास गराउन वा सहज रूपमा कार्य गर्न परियोजनाहरुले बिना कामका लागि ककसलाई पठाउँदा सजिलो हुन्छ भन्दै देशविदेशको भ्रमण गराइरहेका हुन्छन् । अहिले भएका प्रमुख पार्टीहरू समेतले हिजो आफूले गरेका कार्यहरू यी सही, यो गलत हुन् भनेर सीधै जनतासामु भन्न चाहेका छैनन् । हिजो रातारात नदी नाला बेचिएका हुन् । देशलाई डुबाउने ठूला परियोजनाहरू विदेशीलाई दिने योजना रहुन् वा देशको सार्वभौमिकता नै खण्डित हुने कार्य हुन सबैमा आफ्नो तर्फबाट यहाँ गल्ती भयो भनेर स्वीकार गरिएको देखिँदैन । नेपालमा गल्ती भयो भनी यसलाई सुधार्नुपर्छ र अगाडि बढ्नुपर्छ भन्ने मानसिकताबाट माथि उठ्न सकेका छैनन् । २०४६ सालमा राजा वीरेन्द्रले दलहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेपछि जानआन्दोलनको समाप्त भएको घोषणा गरियो । वैशाख ६, २०४७ मा सन्त नेता कृष्णप्रसाद भट्टराईले प्रथम प्रधान मन्त्रीका रूपमा ४०२ दिन र दोस्रो पटक २९६ दिन गरी जम्मा ६९८ दिन कार्यभार सम्हाल्ने मौका प्राप्त गरेका थिए । गिरिजाप्रसाद कोइरालाले प्रथम पटक १२८४ दिन, दोस्रो पटक ४११ दिन, तेस्रो पटक ४९१ दिन, चौथो पटक ७६४ दिन, पाँचौँ पटक ८३ दिन गरी जम्मा ३०३३ दिन प्रधानमन्त्रीका रूपमा देश हाक्ने मौका प्राप्त गरे । शेरबहादुर देउवाले प्रथम पटक ५४७ दिन, दोस्रो पटक ४३५ दिन, तेस्रो पटक २४३ दिन गरी १२२५ दिन प्रधानमन्त्रीको रूपमा कार्य गरे । सुशील कोइरालाले करिब दुई वर्ष ६०८ दिन प्रधानमन्त्रीका रूपमा कार्य गरे । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र सुशील कोइरालाले गरी नेपाली काङ्ग्रेसको तर्फबाट ४,८८६ दिन अर्थात् करिब चौध वर्ष देश हाँक्ने मौका प्राप्त गरेका छन् । नेकपा एमालेबाट मनमोहन अधिकारीले २८६ दिन, माधवकुमार नेपाल ६२२ दिन, झलनाथ खनाल २०४ दिन र खड्गप्रसाद ओली २९७ दिन गरी जम्मा १४०९ दिन प्रधानमन्त्रीको रूपमा कार्य गरेका छन् । माओवादीको तर्फबाट पुष्पकमल दाहालले प्रथम पटक २८० दिन र दोस्रो पटक २८० दिन गर्दै ५६० दिन र बाबुराम भट्टराईले ५६३ दिन गरी जम्मा १,१२३ दिन देश हाँक्ने मौका प्राप्त गरेका छन् । राप्रपाको तर्फबाट लोकेन्द्रबहादुर चन्दले २०९ दिन र दोस्रो पटक २३७ दिन गरी जम्मा ४४६ दिन, शासन गरेका छन् । यसै गरी राप्रपाका सूर्यबहादुर थापाले प्रथम पटक १९० दिन र दोस्रो पटक ३६४ दिन गरी ५५४ दिन शासन गरेका छन् । राप्रपाले कुल १,००० दिन अर्थात् करिब पाँच वर्ष प्रजातन्त्र प्राप्ति पश्चात् देश हाँक्ने मौका प्राप्त गरेका छन् । राजा ज्ञानेन्द्रले आफ्नो प्रत्यक्ष निगरानीमा प्रथम पटक ७ दिन र दोस्रो पटक ४४८ दिन शासन गर्दै ४५५ दिन कुल मन्त्रिपरिषदको प्रमुखको रूपमा कार्य गरेका थिए । स्वतन्त्र रूपमा खिलराज रेग्मीले ३३४ दिन देश हाकेका छन् । नेपाली काङ्ग्रेसले ४,८८६ दिन (५३ प्रतिशत), नेकपा एमाले १,४०९ दिन (१५ प्रतिशत), मावोबादी १,१२३ दिन (१२ प्रतिशत), राप्रपा १,००० दिन (११ प्रतिशत), तत्कालीन राजा ज्ञानेन्द्रले ४४८ दिन (५ प्रतिशत) र खिलराज रेग्मी ३३४ दिन (४ प्रतिशत) नेपालको सरकार प्रमुख भई शासन गर्ने अवसर प्राप्त गरेका छन् । माथिको उदाहरण हेर्ने हो भने सबै पार्टीले शासन सत्ता सम्हालेका छन् । छोटो समयमा माओवादीले समेत १२ प्रतिशत समय शासन गरेको छ । गणतन्त्र प्राप्ति पश्चातको मात्र हेर्ने हो भने त माओवादीहरू धेरै जसो सत्ताको वरिपरि नै रहेका छन् । खै किन जनताले फरक महसुस गर्न सकेनन् त ? वास्तवमा केही व्यक्तिहरूको जीवन शैलीमा परिवर्तन भएको होला तर आम जनता भने अस्थिरता, अशान्ति, असुरक्षाको वातावरणमा चेपिएर बसिरहेको छ । सबै ठूला पार्टीले अवसर पाएका हुन्, तर सबै चुकेका छन् । सबैले देश र जनताको भन्दा पार्टीको र पार्टीभन्दा व्यक्तिगत फाइदाका लागि केन्द्रित हुँदै कार्य गरेका छन् । पार्टीभित्रका दुःख पाएका कार्यकर्ताले समेत केही राहत पाएको अनुभूति गर्न पाएका छैनन् । सबै नातागोता र आफन्तको सेरोफेरोमा घुमेका छन् । देश डुबे पनि म बन्न पाए भइगयो नि भन्ने पथमा नेतृत्व वर्ग बढिरहेको देखिन्छ । कसैले कसैलाई सीधा आरोप लगाउनेभन्दा पनि स्वयम् आत्मसमीक्षा गर्नुपर्ने देखिन्छ । अझै पनि पार्टी, गुट, क्षेत्रगत जस्ता विभिन्न भावनाबाट माथि नउठ्ने हो भने हामीलाई भावी पुस्ताले धिक्कार्ने अवस्थामा आफूलाई पुर्याउने छौँ । विदेशमा सिकिएका सीप, स्रोत साधनलाई देश विकासमा कसरी बढीभन्दा बढी सदुपयोग गराउन सकिन्छ भनी सोच्ने बेला हामी सबैको भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप