चुनावी माहोलमा पनि घाटु नाचको रौनक
आइतबार, ३१ वैशाख २०७४, ०८ : ४१
लमजुङ बेँसीसहर - स्थानीय तह निर्वाचनसँगै लमजुङका गाउँमा घाटु नाचको रौनक बढेको छ । गुरुङहरुको बाहुल्यता रहेका गाउँमा परम्परागत घाटु नाचको रौनक छाएको हो ।
वसन्त पञ्चमीबाट सुरु हुने घाटु नाच वैशाख पूर्णिमा पछिको पञ्चमीमा समापन गरिने प्रचलनअनुसार गुरुङ बस्तीमा घाटु नाच नाचिएको हो । गुरुङ संस्कृति यतिबेला गाउँमा सती घाटु नाचको समापन गरिँदैछ ।
यतिबेला गुरुङ जातिको उद्गमस्थल मानिने घनपोखरा, सिउरुङ, भुजुङ, पसगाउँ, घलेगाउँलगायतका गाउँमा घाटु नाच लगाइरहेको छ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु गाउँ पुग्दा घाटु नाच हेर्दै मत माग्दै गरेका छन् ।
चुनावी माहोलमा भएको परम्परागत घाटु नाचले उम्मेदवारहरुलाई एकै स्थानमा मतदाता भेट्न सजिलो भएको छ भने मतदातामा भने चुनावीभन्दा संस्कृतिकै चासो बढेको पाइएको छ ।
सती र बाह्रमासे गरी घाटु नाँच दुई प्रकारको हुन्छ । सतीघाटु श्रीपञ्चमीमा सुरु भई वैशाख पूणिमामा अन्त्य गरिन्छ भने बाह्रमासे घाटु जुनबेला पनि नाच्ने गरिन्छ । यी दुवैथरिको आकर्षण भनेको कुसुन्डा घाटु हो । कुसुन्डाबिनाको घाटु नै हँुदैन ।
गीत र मादलको तालमा नाच्दै गर्दा घाटुसरी ९घाटु नाच्ने० हरु बेहोस हुन्छन् । बेहोस भएकाहरुलाई गीत र मादलको तालले ब्यूँझाउने गरिन्छ । नाचमा कम्तीमा दुई र बढीमा तीनजना किशोरी सहभागी हुन्छन् । शिरमा लाहाको मुकुट, गुन्यू र चोली लगाएर नाच्ने दुई घाटुसरी एउटालाई राजा र अर्कोलाई रानीको प्रतीकका रुपमा लिइन्छ ।
गुरुङ समुदायमा प्रचलित घाटु नाँच ऐतिहासिक घटनाक्रमसँग जोडिएको छ । राजा परशुराम र रानी यम्फावतीको कथामा आधारित छ । इतिहासमा यी राजा रानीको उल्लेख नभए पनि गुरुङ जातिले सदियौँदेखि यी राजारानीसँग सम्बन्धित विभिन्न घटनाक्रमलाई किंवदन्तीका रुपमा आफ्नो संस्कृतिको धरोहरका रुपमा अँगाल्दै आएका छन् । राजारानीको विवाह, उनीहरुको प्रेम कहानी, सिकार खेल्न गएको प्रसङ्ग, विभिन्न राज्यसँगको लडाइँ, राज्यको रक्षाका लागि राजाले दिएको बलिदानी र रानी सती गएको प्रसङ्ग घाटुको कथा सारांश हो ।
घाटु सुरु हुनुपूर्व देउता बोलाइन्छ । घाटु गुरुहरुले सुरुमा देउचुली, हिमचुली आदि देवीदेवता पुकारेपछि देउता घाटुसरीको शरीरमा प्रवेश गर्ने विश्वास गरिन्छ । मादलको ताल र गुरुहरुले गाउने गीतको आधारमा घाटुसरीहरु नाच्ने गर्छन् । यस क्रममा मादलको ताल बिग्रियो वा गीतमा कुनै टुक्का छुट्यो भने घाटुसरीहरु बेहोस नै भइरहने विश्वास गरिन्छ ।
देउता चढेपछि घाटुसरीहरु बेहोसीमै नाच्ने गर्छन् । यही अवस्थालाई कुुसुण्डा भनिन्छ । घाटुको गीतलाई विशेष गरी चार खण्डमा व्याख्या गरेको पाइन्छ । यसमा जन्मडाँडी, विवाहडाँडी, सिकारडाँडी र कुसुन्डाडाँडी पर्छन् । जसलाई डाँडी पनि भनिन्छ ।
घाटु नृत्य पनि ठाउँअनुसार फरक फरक रहेको पाइन्छ तर सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै हुने घाटु गुरुहरु बताउँछन् । घाटुसरीहरुको साथमा एक÷एकजना सुसारे पनि हुन्छन् । घाटु नाँच्नेहरु रजस्वला भएका, अपाङ्ग तथा अशक्त हुनुहुँदैन भन्ने मान्यता रहिआएको छ । विशेष गरेर घाटु नाच पश्चिमाञ्चलको लमजुङ, गोर्खा, तनहुँ, कास्की, स्याङ्जाका गुरुङ गाउँमा बढी प्रचलित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण