बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२८१ स्थानीय निकायमा मात्रै मतदान, निर्वाचन आयोग भन्छ : शान्तिपूर्ण र उत्साहजनक मतदान जारी

आइतबार, ३१ वैशाख २०७४, ०९ : २१
आइतबार, ३१ वैशाख २०७४

काठमाडौं, वैशाख ३१ – स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान कार्य जारी छ । आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान हुँदैछ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचलान केन्द्र (जेईओसी), निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत, आयोगबाट खटिएका अनुगमनकर्ताले आयोगलाई दिएको जानकारीअनुसार मतदान कार्य उत्साहजनकरुपमा सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

ज्येष्ठ नागरिक, महिला, अशक्तहरुसमेत बिहानैबाट मतदान कार्यमा उत्साहपूर्वक सहभागी भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. ४ को लंकुस्थित लक्ष्मी माविमा बिहान ७ बजे मतदान गरेका छन् ।

आयोगका आयुक्त इला शर्माले ललितपुर महानगरपालिकाको वडा नं. १० स्थित प्रसूति गृहको क्वाटरमा रहेको मतदान केन्द्रमा बिहान ७ बजे पहिलो मतदाताको रुपमा मतदान गरेकी छन् ।

यसैगरी, आयुक्त सुधीरकुमार शाहले काठमाडौं महानगरपालिकाको धुम्बाराही माध्यमिक विद्यालयमा मतदान गरेका छन् । आयोगका सचिव गोपीनाथ मैनालीले शान्तिपूर्ण रुपमा, विना बाधा अवरोध सबै मतदान केन्द्रमा मतदान कार्य सुरु भएको जानकारी दिएका छन् । आयोगलाई प्राप्त जानकारी अनुसार, गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १० चन्द्रज्योति आधारभूत विद्यालय मतदान केन्द्रबाट १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गरेकी छन् ।

गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि निर्वाचन हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप