शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषधको हब बन्दै जुम्ला

आइतबार, १७ पुस २०७९, १३ : ०६
आइतबार, १७ पुस २०७९

जुम्ला । जुम्लामा लागुऔषधको प्रयोग र करोबार बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार प्रहरी प्रशासनले लागुऔषध नियन्त्रण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आए पनि यसको कारोबार र प्रयोगकर्तामा कमी हुन सकेको छैन ।

लागुऔषध कारोबार र प्रयोगकर्तामा नयाँ पुस्ताको संलग्नता देखिएको डीएसपी नरेन्द्र चन्दले बताए । उनका अनुसार विद्यालय र एसईईका लागि खोलिएका ट्युसन सेन्टरमा पढ्ने विद्यार्थीलाई मध्यनजर गर्दै लागुऔषध प्रयोग गर्दा हुने नोक्सानीका विषयमा सचेतना कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

लागुऔषधको प्रयोग र कारोबार निर्मुल पार्न जुम्लाका ८ वटै स्थानीय तहमा पुगेर अन्तरक्रिया गरिने उनले बताए । जस अन्तर्गत पहिलोपटक सिंजा गाउँपालिकाबाट अन्तरक्रिया सुरु भएको छ ।

डीएसपी चन्दले सिंजा गाउँपालिकाका जनप्रतिनिधि र विद्यालयका प्रधानाध्यापक बीच लागु औषध निर्मुल पार्न अन्तरक्रिया कार्यक्रम गरिएको बताए । उनका अनुसार परिवार तथा अभिभावकको हेलचक्य्राई र निगरानी अभावमा किशोरावस्थाका पुस्ता लागुऔषधको लतमा फस्दै जान थालेका हुन् ।

जुम्ला प्रहरीका अनुसार लागुऔषधको लतमा फस्नेहरु १८ वर्षदेखि ४० वर्ष उमेर समूहका बढी छन् ।

जुम्लामा आर्थिक वर्ष २०७७÷०७८ मा ब्राउनसुगर र चरेस गरी ५ वटा लागुऔषधका मुद्दा दर्ता भएका छन् । त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा ब्राउनसुगर र चरेस गरी ७  वटा मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षमा ब्राउन सुगर र चरेसका ४ वटा मुद्दा दर्ता भएका छन् ।

जुम्ला प्रहरीका अनुसार तीन वर्ष यता लागुपदार्थ कारोबार र प्रयोगमा १८ देखि ४० वर्ष उमेरका ४४ जना पक्राउ परेका छन् ।  त्यस्तै १८ वर्ष भन्दा मुनिका ३ जना पक्राउ परेका छन् । ४० देखि ६० वर्षका २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले निगरानी बढाएसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दा दर्ताको संख्यासमेत बढ्ने गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताए । उनले भने, ‘जुम्ला लागुऔषधको हब बन्दै छ । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरु लागुऔषधको लतमा फसेको पाइन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप