बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षले प्रदेशसभा सदस्य जयसवालसँग लियो बयान

बुधबार, २० पुस २०७९, ०९ : ५८
बुधबार, २० पुस २०७९

पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको आरोप लागेका प्रदेश सभा सदस्य प्रमोद जयसवाल बयानका लागि निकुञ्ज कार्यालयमा हाजिर भएका छन् । उनीसँग निकुञ्जका अनुसन्धान अधिकारीले मंगलबार बयान लिएका छन् । 

सोही घटनाको आरोपमा बयानका लागि पुगेका गाउँपालिका पूर्वअध्यक्ष प्रदीप जयसवालको बयान लिन भने बाँकी रहेको आरक्ष कार्यालय आधाभार बाराका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए । 

प्रमोद ४ मंसिरको चुनावमा पर्सा ३ (१) बाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । निकुञ्जको टोलीले मधेस प्रदेशसभा सदस्य प्रमोद जयसवालको नाममा रहेको फार्म हाउसमा गाडेको अवस्थामा चित्तलको टाउको, गोलीगठ्ठा, नाइट भिजन बाइनाकुलरलगायत सिकारमा प्रयोग हुने सामग्री बरामद गरेको थियो । 

सिकार खेल्न जयसवाल इन्टरप्राइजेजको नाममा रहेको प्र २–०२–०३–००१ च ३०९० नम्बरको गाडी प्रयोग भएको निकुञ्ज स्रोतको दाबी छ । जयसवाल इन्टरप्राइजेज सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालको नाममा दर्ता छ । 

४ पुस राति निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र शिकारी टोलीबीच अकुवनियास्थित आरक्षको कोर जंगलमा जम्काभेट भएको थियो । सेनाको टोलीलाई देखेपछि भागेका सिकारीको गाडीको चक्कामा गोली हानेर नेपाली सेनाले पाँचजनालाई पक्राउ गरेको र केही व्यक्ति भने फार्म हाउसतर्फ भागेका थिए । सिकारी टोलीलाई पछ्याउँदै गएको सेनाको टोलीले फार्म हाउसमा छापा मारेर सिकारमा प्रयोग हुने थप सामग्री बरामद गरेको थियो । 

सेनाले अनुसन्धानका लागि बुझाएपछि निकुञ्जले त्यसदिन सिकारमा संलग्न रहेको आरोपमा पाँचजनासहित दुईवटा गाडी, सिकार खेल्न प्रयोग हुने सामग्री, सिकार गरी मारेको जरायोको मृत शरीर र चित्तलको टाउकोलगायत सार्वजनिक गरेको थियो । 

अनुसन्धानका लागि काठमाडौं क्षेत्र नं ५ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा कांग्रेस नेता श्याम खड्कालाई पनि निकुञ्जले बोलाएको छ । खड्काको नाममा रहेको बन्दुक शिकारीको टोलीबाट बरामद भएपछि उनलाई पनि अनुसन्धानका लागि बोलाइएको हो । 

काठमाडौं घर भएका खड्काको पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ अकुवनियामा माछापोखरी छ । उनी अझैसम्म पनि बयानका लागि उपस्थित नभएको सूचना अधिकारी खड्काले जानकारी दिए । खड्काले मंगलबार एक विज्ञप्ति जारी गरी सो घटनामा आफ्नो कुनै संलग्नता नभएको जानकारी गराएका छन् । सो घटना हुँदा आफू काठमाडौंमै रहेको र सिकारमा प्रयोग गरेको बन्दुक आफ्नै लाइसेन्स प्राप्त भएको तर त्यो कसरी त्यहाँ पुग्यो भन्ने विषय अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।  
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप