मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

अखिल क्रान्तिकारी तीन चिरामा विभाजित, बैठक बस्नै सकस

बुधबार, २० पुस २०७९, १७ : ३७
बुधबार, २० पुस २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी तीन चिरामा विभाजित भएपछि बैठक बस्न सकस हुने गरेको छ । अखिल क्रान्तिकारी अध्यक्षमा पञ्चा सिंह चयन भएपछि संगठन तीन चिरामा विभाजित भएको हो ।

अध्यक्षमा सिंह सर्वसम्मत चयन भएपछि पदाधिकारी, केन्द्रीय समिति बैठक एक पटकमात्रै बसेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने कार्यक्रम राखिएको थियो । काठमाडौंको कीर्तिपुरमा राखिएको बैठकमा सबै पदाधिकारी उपस्थित नहुने र विवाद हुने भएपछि प्रधानमन्त्रीबाटै कार्यक्रम रद्द गरिएको एक पदाधिकारीले बताए ।

‘पदाधिकारी बैठकमा खासमा पार्टी अध्यक्ष एवमं प्रधानमन्त्रीलाई नै बोलाउनु पर्ने होइन । पञ्चाजीले आफ्नै नेतृत्वमा बैठक बसाए हुन्थ्यो,’ ती पदाधिकारीले भने, ‘तर, पञ्चाजीले आफूले माहोल सम्हाल्न नसकेपछि प्रचण्ड कमरेडलाई बोलाउनु भएछ । हामी सबै पदाधिकारी उपस्थित नहुने र विवाद हुने भएपछि अध्यक्ष आउनु भएन ।’

प्रधानमन्त्री आउने भएपछि सुरक्षाकर्मी समेत कार्यक्रम आयोजनास्थलमा पुगिसकेका थिए तर अचानक प्रधानमन्त्री आउने कार्यक्रम रद्द भएपछि सुरक्षाकर्मी फर्किएको उनले बताए । तर, अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले प्रधानमन्त्रीको कार्यव्यस्ततताले संगठनको पदाधिकारी बैठक स्थगित गरिएको दाबी गरे । ‘हाम्रो संगठनमा विवाद छ भन्ने विषयमा प्रधानमन्त्रीज्यू जानकार हुनुहुन्छ । संगठनमा विवाद भएकाले प्रधानमन्त्रीज्यू नआएको भन्ने सरासर गलत हो,’ पुनले भने, ‘प्रधानमन्त्रीज्यूको कार्यव्यस्तताले पदाधिकारी बैठकलाई सम्बोधन गर्न आउनु भएन ।’

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले अनुकुल समयमा विद्यार्थीको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने बचन दिएको पुनले जिकिर गरे ।

अखिल क्रान्तिकारीको अध्यक्षबाट रञ्जित तामाङ बिदा भएपछि २२ औं राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्ने घोषणा भयो । अध्यक्ष तामाङसहित सिङ्गो पदाधिकारी यसअघि चुनावबाटै चयन भएकाले २२ औं राष्ट्रिय सम्मेलनबाट समेत चुनावबाटै नेतृत्व चयन हुनुपर्ने दबाब दिएको थियो । संगठनको अध्यक्षमा दाबेदारको रुपमा सुरेन्द्र बस्नेत, उत्तम अधिकारी, पञ्चा सिंह, विजय गौतम, तिलकराज भण्डारी, दीपक गौतम लगायत देखिएका थिए ।

पार्टी अध्यक्ष प्रचण्डले सर्वसम्मत गर्न भन्दै विद्यार्थी नेताहरुलाई दबाब दिए । अन्तिममा सर्वसम्मत अध्यक्ष चयन हुन नसकेपछि प्रचण्डले पञ्चा सिंहलाई अध्यक्ष बनाए । अध्यक्षका अरु दाबेदार विद्यार्थी नेताहरुलाई पार्टी केन्द्रीय समितिमा राख्ने बचन प्रचण्डले दिए । अन्त्यमा प्रचण्डले आफ्नो बचन पूरा गरेर पार्टी केन्द्रीय समितिमा राखेर पुरस्कृत समेत गरे ।

२०७८ साल असोज १७ गते अध्यक्षमा सिंहलाई चयन गरियो । अरु पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि ६१ जना पदाधिकारी बनाइयो । पदाधिकारी र केन्द्रीय समितिमा असन्तुष्ट जनाउँदै पवन कार्कीले विरोध जनाए । कार्कीको विरोधलाई सम्बोधन गर्ने भन्दा दबाउन थालेपछि उनले देशैभर समानन्तर कमिटी बनाए । अहिले सिंह र कार्की नेतृत्वमा देशैभर अखिल क्रान्तिकारीको समानान्तर कमिटी चलिरहेको छ ।

पछिल्लो समय अध्यक्ष सिंहले पोखरा विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट लिने सम्बन्धनका विषयमा आर्थिक लेनदेलनमा बार्गेनिङ गरेको भन्दै सात जना उपाध्यक्षले विरोध जनाए । अब सिंहले राजीनामा दिएर विशेष राष्ट्रिय सम्मेलन गर्नुपर्ने सात उपाध्यक्षको माग छ । यसरी माग गर्नेमा मिलन एमसी, इन्द्र भुसाल, लक्ष्मी जोशी, राजकुमार याक्सो, नारायण खनाल, डा अच्युत भट्ट र गजेन्द्र देव छन् ।

अध्यक्ष पञ्चा सिंहकै नेतृत्वको उपाध्यक्ष भए पनि सात उपाध्यक्षले असहयोग गर्ने गरेका छन् । सिंहलाई अध्यक्षबाट बर्खास्त गरेर सात उपाध्यक्षले राष्ट्रिय सम्मेलनतिर लग्न खोजेका छन् । बुधबारको अखिल क्रान्तिकारीको पदाधिकारी बैठकमा सात उपाध्यक्ष अनुपस्थित हुने र थप विवाद हुने भएपछि प्रचण्डले बैठकमा आउन अस्वीकार गरेको स्रोत बताउँछ ।

एउटै संगठन तीन चिरामा विभाजित भएपछि प्रचण्ड बैठकलाई सम्बोधन गर्न नआएका हुन् । तर, असन्तुष्ट सात उपाध्यक्षमध्ये एक मिलन एमसीले आफूहरु पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले पदाधिकारी बैठकलाई सम्बोधन गर्ने भएपछि कीर्तिपुर पुगेको तर कार्यक्रम रद्द भएपछि फर्किएको बताए । आफूहरु जाँदा बैठक स्थगित भएको थाहा पाएपछि फर्किएको एमसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप