बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मास्क लगाएर हात मिलाउने आफ्नै छोरालाई राजेन्द्र लिङ्देनले नचिनेपछि (फोटोफिचर)

बुधबार, २७ पुस २०७९, १९ : ४६
बुधबार, २७ पुस २०७९

काठमाडौं । बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवस एवं ३०१ औं पृथ्वी जयन्तीका अवसरमा जलपान कार्यक्रम गर्यो ।

जलपान कार्यक्रममा बनाइएको मञ्चमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका उपाध्यक्ष, महामन्त्री, सांसदहरु लगायतका नेताहरु मञ्चमा उभिएर जलपानका लागि आएका पार्टीका नेता, कार्यकर्ता तथा अन्य पार्टीका नेताहरुलाई नमस्कार गर्दै हात मिलाएर स्वागत गरिरहेका थिए । 

कतिपय कार्यकर्ता मञ्चमा लिङ्देनलाई खादा लगाइदिन्थे भने कतिपय हात मिलाएर सेल्फी खिच्दै मञ्चबाट बाहिरहेका हुन्थे । झन्डै ५ हजार व्यक्ति सहभागी कार्यक्रममा लिङ्देनलाई मञ्चमा लाइन लागेर पुगिरहेका नेता कार्यकर्तासँग हात मिलाउन निकै भ्याई–नभ्याई थियो ।

जलपान समारोहमा अध्यक्ष लिङ्देनको परिवार पनि पुगेको थियो । उनका छोराछोरी, श्रीमती तथा अन्य आफन्त पनि मञ्चमा लाइन लागेर पुगे । 

लिङ्देनकी जेठी छोरीले मास्क, कालो चस्मा, ढाका टोपी, कोट दौरा सुरुवाल लगाएर नमस्कार गर्दै लाइन लागेर आएका एक युवालाई मेरो साथी हो भनेर चिनाइन् । लिङ्देनले नमस्ते फर्काएर हात मिलाए । पछि ती युवाले मास्क खोलेर देखाइदिएपछि लिङ्देन बाउ छोराको हाँसो रोकिन सकेन । उनी थिए लिङ्देनका जेठा छोरा स्वाधिन लिङ्देन । उनीहरु एक अर्कालाई हेरेर मञ्चमा एकछिन हाँसिरहे ।

rajendra-swadhin 

तत्काल राजनीतिमा जान चाहँदैन लिङ्देन पुत्र स्वाधिन

बेलाबेला पार्टीको काममा बाबुलाई सघाउने गरेपनि लिङ्देनका जेठा छोरा स्वाधिन तत्काल राजनीतिमा जाने सोचाइमा छैनन् । यद्यपि गत प्रतिनिधि सभा चुनावमा प्रचार प्रसारका लागि उनी पनि खटिएका थिए । 

चुनावका बेला उनी बाबु राजेन्द्र लिङ्देनका साथमा नभएर छुट्टै टोलीको साथमा भोट माग्न गएका थिए । स्वाधिन बाबुको नाम भजाएर आफूलाई चिनाउँन चाहँदैनन् । राजेन्द्र लिङदेनको छोरा भनेर आफूलाई नचिनाई अहिलेसम्म  आफ्नै नाम स्वाधिन लिङ्देनको नामबाट सबैलाई चिनाउँदै आएको उनले बताए । चुनावमा पनि उनले बाबुछोराको परिचय नदिई गाउँ गाउँ पुगेर भोट मागेका थिए । 

उनले घर बाहिर साथीभाइ वा अरू कसैसँग बाबुको नामबाट आफूलाई नचिनाई बाहिर मानिसहरूले आफ्नो बुवालाई कसरी लिने गरेका छन् भनेर विचार समेत लिने गरेका छन् । धेरै मानिसहरूले राम्रो रूपमा लिने गरेको आफूले पाएको उनले सुनाए । 

रातोपाटीसँग स्वाधिनले भने,‘मानिसहरूले अरू नेता भन्दा भिन्दै हुनुहुन्छ । उहाँले भ्रष्टाचार गर्नुहुन्न राम्रो इमानदार नेता हुनुहुन्छ भनेर एउटा आशा राख्ने गरेका छन् । त्यही अनुसार उहाँले काम गर्नुहुन्छ भनेर विश्वास पनि लिने गरेका छन् ।’

उनले आफ्नो परिवारसँग धेरै दुःख भोगेको अनुभव भएको हुनाले त्यस्तो धेरै सुख नचाहिने बताए । आफूसँग जे जति छ त्यसमै रमाउने बताउँदै उनले भने, ‘कहिलेकाहीँ गाडी भाडा भएन भने म पैदल पनि हिँडिरहेको हुन्छु । हामीलाई ठुलो खालको केही सुख सुविधा चाहिएको छैन र बाबाले पनि हामीलाई यो कुरा राम्रोसँग बुझाउनुभएको छ । उहाँले सुख भयो भनेर मात्तिनु हुँदैन, दुःख भयो भन्दैमा आत्तिनु हुँदैन भनेर हामीलाई सम्झाइरहनु हुन्छ ।’ 

हाल बिबिए अध्ययन गरिरहेका स्वाधिन अहिले राप्रापाको कुनै संगठनमा छैनन् । तत्काल राजनीतिमा लागिहाल्ने उनको सोचाई पनि छैन । पढेर आफू सक्षम भइसकेपछि मात्र राजनीतिमा जाने वा नजानेबारेमा विचार गर्ने उनले बताए । उनले पृथ्वीनारायण शाहको घुस लिने र दिने दुवै देशका शत्रु हुन भन्ने भनाइलाई आफ्नो बुवाले राम्रोसँग पालना गरेकोमा आफूलाई गर्व लाग्ने गरेको सुनाए । 

राप्रपाले गर्ने सार्वजनिक कार्यक्रमहरूमा उनी सहभागी हुँदै आएका छन् । उनले भने–‘म पार्टीमा त लागेको छैन तर बाबाको विचारको समर्थन गर्छु । पार्टीको कार्यक्रममा पनि पुग्ने गर्छु । माथि मञ्चबाट हेर्दा तल बस्ने मान्छेहरूको सोच के हुन्छ त्यो थाहा हुँदैन । माथिबाट हेर्दा त सबैजना आफ्नै मान्छेजस्तो लाग्छ तर भीडमा बस्दा थाहा हुन्छ नि पार्टीलाई अरूले कसरी लिएका छन् भन्ने कुरा ।’

उनले राजनीति गर्नका लागि धेरै कुरा चाहिने, धेरै काम जान्नुपर्ने भएकोले राजनीतिमा जान आफू सक्षम हुनुपर्ने बताए । आफू केही बनेपछि मात्रै राजनीतिमा जाने वा नजानेबारे विचार गर्ने उनले सुनाए । ३ सन्तान रहेका लिङ्देनका २ छोरा र १ छोरी रहेका छन् । 

अघिल्लो प्रतिनिधि सभामा राप्रपाको तर्फबाट आफू एकमात्र सांसद रहेका लिङ्देन राप्रपाको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि पार्टीलाई उचाइमा पु¥याउन सफल भएका छन् । उनको नेतृत्वमा गत चुनावमा भाग लिएको राप्रपाले प्रतिनिधि सभामा १४ सिट जित्न सफल भएको छ भने राष्ट्रिय राजनीतिमा राप्रपालाई एउटा स्थान दिलाउन लिङ्देन सफल भएका छन् । 

तस्बिर : गेश कुमार श्रेष्ठ

rajendra-swadhin1rajendra-swadhin2rajendra-swadhin3rajendra-swadhin4rajendra-swadhin5rajendra-swadhin6rajendra-swadhin7

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप