बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

लोसपालाई महोत्तरी, जसपालाई बारा किन प्यारो ?

बिहीबार, २८ पुस २०७९, १४ : १८
बिहीबार, २८ पुस २०७९

काठमाडौं । तराई मधेसको राजनीतिमा यतिबेला महोत्तरी र बारा जिल्लाको चर्चा हुन थालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले बारा र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले महोत्तरीमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको छ ।

जसपाले मधेस प्रदेशको संसदीय दलको नेता र संघको संसदीय दलको नेता चयनमा बारालाई नै महत्त्व दिएको छ । जसपा नेपालको मधेस प्रदेश संसदीय दलको नेता बनेका सरोज यादव मधेस सरकारको मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । यस्तै, जसपाबाटै प्रतिनिधिसभा संसदीय दलको नेता बनेका रामसहाय यादव मन्त्री बन्ने लाइनमा छन् ।

त्यस्तै, लोसपाले पनि मधेस प्रदेशको संसदीय दलको नेता महोत्तरीका अभिराम शर्मालाई बनाएको छ भने प्रतिधनिधिसभा संसदीय दलको नेता महोत्तरीकै महन्थ ठाकुरलाई बनाएको छ ।

त्यतिमात्र होइन, मधेस प्रदेशमा लोसपाका नौ जना सांसद छन् । त्यसमध्ये पाँच जना महोत्तरीका हुन् । लोसपाबाट रानी शर्मा र अभिराम शर्माले प्रत्यक्षबाट जितेका हुन् भने जैनुल राइन, रुपा यादव र रमिता प्रधान समानुपातिकबाट प्रदेशसभा सदस्य भएका छन् । लोसपाका प्रतिनिधिसभामा चार जना सांसद छन् । त्यसमध्ये महन्थ ठाकुर र शरतसिंह भण्डारी महोत्तरीकै हुन् । महोत्तरीमा लोसपाले पाँच वटा पालिका पनि जितेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर सर्लाही छाडेर महोत्तरी गएपछि उनी आफैले चुनाव पनि जित्न थाले र त्यहाँको संगठन पनि बलियो भयो । अध्यक्ष ठाकुर त्यसअघि सर्लाहीमा दुई पटक चुनाव हारिसकेका थिए । तेस्रो पटक पनि चुनाव जित्ने सम्भावना नदेखेपछि अध्यक्ष ठाकुर महोत्तरी हानिएका थिए । त्यसपछि सांगठनिक रुपमा महोत्तरीमा उनको पार्टी बलियो भएको थियो । अध्यक्ष ठाकुरले पनि अन्य जिल्लाभन्दा विशेष ध्यान महोत्तरीमा दिएको पाइन्छ । उनको राजनीतिक गतिविधि पनि मधेसका अन्य जिल्लाभन्दा बढी महोत्तरीमा भएको देखिन्छ ।

तर महोत्तरी ३ (ख) बाट प्रदेशसभा सदस्यमा चुनाव जितेकी रानी शर्मा तिवारी भने लोसपाको ध्यान महोत्तरीमा नभई महोत्तरीको ध्यान लोसपातिर केन्द्रित भएको बताउँछिन् । उनी भन्छिन्, ‘महोत्तरीमा लोसपाको राम्रो रिजल्ट आएको हो, यसमा अध्यक्षको विशेष लगानी वा उहाँले विशेष ध्यान दिएको भन्न सकिँदैन ।’

देशभर लोसपाको अवस्था राम्रो नभएको बेला महोत्तरीले यसखालको रिजल्ट दिनुलाई महोत्तरीलाई धन्यवाद दिनुपर्ने उनको भनाइ छ । ‘महोत्तरीका जनताले लोसपालाई पत्याएका छन्, नत्र संगठन त अन्य जिल्लामा पनि छन् तर त्यहाँबाट यस्तो परिणाम किन आएन त ?’

संघ र प्रदेशको संसदीय दल पनि एउटै जिल्लाबाट लिएपछि अन्य जिल्लालाई अन्याय भएन त भन्ने प्रश्नमा सांसद तिवारीले यसअघि मन्त्रीदेखि लिएर प्रदेशको संसदीय दलको नेता पनि अन्यअन्य जिल्लाबाटै दिएको जिकिर गरिन् । संसदीय दलमा हुने अन्य पद पनि अरु जिल्लालाई दिएको तर पद लिए अनुसार ती जिल्लाले परिणाम देखाउन नसकेको उनको भनाइ छ । महोत्तरीले राम्रो परिणाम दिएका कारण यसपटक प्रदेशसभा संसदीय दलको नेता पनि महोत्तरीबाटै बनाइएको उनले प्रस्ट पारिन् ।

यता, जसपाले बारामा सबै शक्ति खन्याएको गुनासो सो पार्टीभित्र सुन्न थालिएको छ । मधेस सरकारमा मुख्यमन्त्री र प्रतिनिधिसभा संसदीय दलको नेता पनि सोही जिल्लाबाट बनाएपछि अन्य जिल्लाका नेताले गुनासो गरिरहेका छन् । प्रतिनिधिसभातर्फ एक जना सांसद रामसहाय यादव र प्रदेशसभामा सरोज यादव र बच्चा यादव प्रत्यक्षतर्फ चुनाव जितेका छन् । स्रोतका अनुसार भागबण्डामा उपराष्ट्रपति पद जसपाले पाएमा रामसहाय यादवलाई सो पद दिएर बारा–२ मा उपनिर्वाचनमार्फत पार्टीका अध्यक्ष उपेन्द्र यादव संसदमा आउन चाहेका कारण बारालाई विशेष ध्यान दिइएको हो ।

जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले बारामा जसपाको राम्रो संगठन भएको कारण प्रदेश र संघीय संसदीय दलको नेता प्राप्त भएको दाबी गरे । उनले भने, ‘पार्टीले बारा जिल्लालाई दिएको होइन, प्रदेशलाई दिएको हो, संयोगले दुवै जना एउटै जिल्लाको हुनुभयो तर बाराकै दुवैजना हुनुपर्छ भन्ने मनसाय पार्टीको थिएन र छैन पनि ।’

रामसहाय यादवलाई देशभरका जसपाका सांसद र सरोज यादवलाई मधेस प्रदेशका प्रदेशसभाका सदस्यले संसदीय दलको नेता बनाएको उनको तर्क छ । नेताको क्षमताको आधारमा जिम्मेवारी दिएको उनले दाबी गरे ।

उपेन्द्र यादवलाई अहिलेमात्र होइन, चुनावअघि पनि बारा क्षेत्र नम्बर २ का जनताले त्यहीँबाट चुनाव लड्न आग्रह गरेको बताउँदै उनले बारा–२ खाली भयो भने पार्टीका अध्यक्ष उपेन्द्र यादव त्यहीँबाट उम्मेदवार बन्नुपर्छ भन्ने आफूहरुको आकांक्षा रहेको प्रस्ट पारे ।

भागबण्डामा जसपाले उपराष्ट्रपति पद पाएमा रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर उपेन्द्र यादवलाई त्यहाँबाट चुनाव लडाउने आफूहरुको सोच रहेको उनले बताए । यद्यपि अध्यक्ष उपेन्द्र यादवले यसबारे केही नबोलेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप