शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभामा आफ्नै दलका नेताले ‘सेटिङ’ गरेको आरोप

बिहीबार, २८ पुस २०७९, १८ : ३४
बिहीबार, २८ पुस २०७९

विराटनगर । प्रदेश १ प्रदेशसभाको तेस्रो बैठकमा सभामुख चयन भइसकेको छ । तर, सभामुख चयन हुनुभन्दा अगाडिका बैठकमा वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले ‘सेटिङ’मा प्रदेशसभा नियमावली मिचेको आरोप लागेको छ । 

कांग्रेसबाट निर्वाचित प्रदेशसभा सांसद केदार कार्कीले मुख्यमन्त्री कार्की र सचिव पराजुलीको सेटिङमा आफ्नो दलका नेता तथा अन्य दल पनि फसेको आरोप लगाएका हुन् । प्रदेशसभाको पहिलो बैठकमा दलका नेताहरूले सम्बोधन गर्ने नियमावलीमा भएको व्यवस्था र संसदीय परम्परालाई कुल्चँदै गएको उनको आरोप छ । 

‘प्रदेशसभा नियमावलीको परिच्छेद ३ को धारा ५ मा प्रत्येक अधिवेशनको प्रारम्भमा दलका नेतालाई बोल्न दिने प्रावधान छ । यो अधिवेशनको पहिलो बैठक मात्रै होइन । यो प्रदेशसभाको पहिलो बैठक पनि हो । तर, यो बैठकमा दलका नेतालाई बोल्न दिइएन,’ कांग्रेस सांसद कार्कीले भने, ‘यो कुण्ठीत मनशायले नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीको जालमा हाम्रो दललगायत सबै दल फस्नु भयो ।’

जनताले प्रदेशसभाको पहिलो बैठकमा पार्टीका प्रमुख नेताले के बोल्छन् भन्ने कुरा उत्सुकताका साथ हेरिरहेको भएपनि नियमावली विपरीत मुख्यमन्त्री कार्की र पराजुलीले नियमावलीलाई खाइदिएको आरोप पनि लगाए । ‘उहाँहरुको कुत्सित मनशासयले सेटिङमा यो  नियमावलीको धारा ५ लाई खानु भयो । फेरि अर्को दिनको बैठकमा यो धाराको निलम्बन नगरिकन दलका नेतालाई बोल्न दिइयो । यो पनि सेटिङ नै हो,’ कार्कीले भने, ‘त्यो विषयमा मैले आजको बैठकमा विशेष समय लिएर बोल्न खोज्दा जेष्ठ सदस्य भएको अवस्थामा हुँदैन भनेर मलाई समय दिइएन । यो निरंकुशता लाद्न खोज्ने कुरा हो । यो विषयमा हामी चुप लागेर बस्दैनौं ।’

उनले आफ्नो दलको नेता उद्धव थापाले पनि विषयलाई नबुझेको बताए । कार्यव्यवस्था परामर्श समितिको बैठकबाट तय भएको कार्यसूचीमा त तपाईँको दलको पनि सहभागिता थियो नि भन्ने प्रश्नमा उनले भने, ‘हामी जनताबाट निर्वाचित सांसदहरु हौं । त्यसकारण दलका नेताले के निर्णय गर्छ भन्ने कुरा मात्रै हामीले मान्नुपर्छ भन्ने छैन । संसदभित्र गएपछि हामी आफ्ना कुरा राख्न स्वतन्त्र छौं ।’

प्रदेशसभा नियमावलीको परिच्छेद ३ मा बैठकको सञ्चालन र स्थगनबारे उल्लेख छ । उक्त परिच्छेदको धारा ५ मा ‘प्रत्येक अधिवेशनको प्रारम्भमा सबै राजनीतिक दलका नेता वा प्रतिनिधिलाई सभामुखले निर्धारण गरे बमोजिम बोल्न समय उपलब्ध गराउन सक्नु हुनेछ,’ भन्ने उल्लेख छ । 

तर, प्रदेशसभाको दोस्रो बैठकमा दलका नेताहरूले बोलेका थिए भने उक्त बैठकमा मुख्यमन्त्री कार्कीले छुट्टै र एमालेबाट सांसद राम राना मगर, काँग्रेसबाट दलका नेता उद्धव थापा, माओवादीबाट दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाबाट गोपाल बहादुर वि.क., नेकपा (एकीकृत समाजवादी)बाट दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र जनता समाजवादी पार्टीबाट मन्त्रीसमेत रहेकी निर्मला लिम्बूले सम्बोधन गरेका थिए । 

कांग्रेस सांसद कार्कीले एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीले सम्बोधन गर्नेभएपनि एमालेका सांसद रानालाई छुट्टै बोल्न दिने नियमावलीमा कुनै व्यवस्था नभएको भन्दै विरोध गरेका छन् ।

उता, कार्कीले गरेको पत्रकार सम्मेलन र विरोधको विषयमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले अनावश्यक र केटाकेटी पन भएको बताएका छन् । ‘विशेष समयमा बोल्न दिनुपर्छ भन्ने उहाँको कुरा थियो, विशेष समयमा के एजेण्डामा बोल्ने भन्ने विषय दलले तय गर्ने हो विशेष एजेण्डा भएजस्तो लागेन । फेरि आज सभामुख चयन गर्ने अर्को विशेष कार्यक्रम भएको कारण उहाँलाई मात्रै होइन कसैले पनि शून्य समय र विशेष समयमा बोल्न नदिइएको हो,’ थापाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप