भारतीय मरियन बायोटेक कम्पनीबाट उत्पादित खोकीको औषधि प्रयोग नगर्न डब्ल्यूएचओको आग्रह
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले भारतीय निजी कम्पनी मरियन बायोटेकबाट उत्पादित खोकीको औषधि प्रयोग नगर्न सिफारिस गरेको छ । सो कम्पनीबाट उत्पादित एम्ब्रोनल सिरप र डीओके–१ म्याक्स सिरप नामक खोकीको औषधि प्रयोग नगर्न डब्ल्यूएचओले सिफारिस गरेको हो ।
डब्ल्यूएचओलाई हालसम्म यी दुवै औषधि उत्पादकले सुरक्षा र गुणस्तरताको ग्यारेन्टी प्रदान नगरेको जनाइएको छ । त्यसैले यस कम्पनीबाट उत्पादित औषधि गुणस्तर जाँचमा कमसल पाइएको भन्दै एम्ब्रोनल सिरप र डीओके–१ म्याक्स सिरप नामक औषधि बिक्री रोक्न डब्ल्यूएचओले निर्देशन दिएको छ ।
यता नेपालको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले नेपालमा उक्त कम्पनीको कप सिरप विक्री वितरणका लागि अनुमति नदिइएको बताए । ‘मरियन बायोटेक कम्पनीले उत्पादन गरेको एम्ब्रोनल सिरप र डीओके–१ म्याक्स सिरप नामक औषधि विक्री वितरणका लागि अनुमति दिइएको छैन,’ उनले भने ।
उज्वेकिस्तानमा यो औषधिको प्रयोगबाट १९ बालबालिकाको मृत्यु भएको बताइएको थियो । यता भारतको उत्तर प्रदेशको खाद्य सुरक्षा एवं औषधि प्रशासनले मरियन बायोटेक कम्पनीको लाइसेन्स रद्द गरिदिएको छ ।
नियामक निकायलाई सल्लाह
डब्ल्यूएचओले रोगीहरुलाई थप हानी हुनबाट जोगाउन मरियन बायोटेक कम्पनीबाट उपत्पादित कफ सिरप प्रयोग नगर्न आह्वान गरेको छ । यी उत्पादनहरुबाट प्रभावित हुन सक्ने देशहरु र क्षेत्रहरुमा आपूर्ति निगरानीमा ध्यान दिन अनुरोधसमेत गरेको छ ।
राष्ट्रिय नियामक निकायहरु, स्वास्थ्यका अधिकारी र देशहरुलाई मापदण्ड पूरा नगरी उत्पादन गरिएको कफ सिरप (खोकीको औषधि)बारे जानकारी गराउन आग्रह गरेको छ । अनौपचारिक र अनियमित बजार बढ्दो भएकाले सम्बन्धित देश, राष्ट्रिय नियामक निकाय र स्वास्थ्य अधिकारीलाई सो औषधि फेलापरेमा तुरुन्तै डब्ल्युएचओलाई जानकारी दिन आग्रह गरिएको छ ।
यो औषधि सेवन गर्दा हुने जोमिखहरु
एम्ब्रोनल सिरप र डीओके–१ म्याक्स सिरपमा प्रयोग गरिएको डाइथिलिन ग्लाइकोल र इथिलिन ग्याइकोल मानवका लागि विषाक्त हुन्छन् । तिनको उपभोग घातक साबित हुन सक्छ । यी औषधि असुरक्षित र विशेष गरी बालबालिकाहरुका लागि गम्भीर एवं मृत्युसमेत हुन सक्ने डब्ल्यूएचओले जनाएको छ । यो औषधिले पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, पिसाब फेर्न नसक्ने, टाउको दुख्ने, मानसिक स्थितिमा परिवर्तन र मिर्गौलामा गम्भीर चोट लाग्ने भई मृत्यु समेत निम्त्याउन सक्ने डब्ल्यूएचओको भनाइ छ ।
यस्तै, विशेष गरी प्रोपाइलिन ग्लाइकोल, पोलिथीन ग्लाइकोल, सोर्बिटोल र ग्लिसिन र ग्लिसरोल लगायतका सहायक तत्व भएका औषधि प्रयोग गर्नु अघि इथिलीन ग्लाइकोल र डाइथिलिन ग्लाइकोल जस्ता दूषित पदार्थहरुको परीक्षण गर्न समेत डब्ल्युएचओले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण