बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतसहित यी पूर्वमन्त्रीले अझै बुझाएनन् गाडी

सोमबार, ०२ माघ २०७९, १५ : २८
सोमबार, ०२ माघ २०७९

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको एक साता पुग्न लागेको छ । तर, पूर्व मुख्यमन्त्री लगायत केही पूर्व मन्त्रीले प्रयोग गरिरहेको सरकारी गाडी अझै फिर्ता गरेका छैनन् । सुविधा स्वरुप उपलब्ध हुने सवारी बाहेक अरु थप सवारी सुविधा माग गर्न नपाइने व्यवस्था भए पनि कतिपयले अतिरिक्त सवारी साधन प्रयोग गरेका थिए । कानुनले बर्जित गरेको सवारी सुविधा आफू खुसी चढिरहे पनि मन्त्रालयका सचिवहरुले ती गाडी फिर्ता लिन खास चासो देखाएका छैनन् ।

पूर्व मुख्यमन्त्री लालबाबु राउतले आफू चढ्ने गाडी बाहेक अन्य ३–४ वटा गाडी अझै बुझाएका छैनन् । निजकै जिम्मामा रहेको ३–४ वटा गाडी अझै नबुझाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नुरहरी खतिवडाले जनाए ।

उनले भने, ‘सायद अझै ३–४ वटा गाडी पूर्व मुख्यमन्त्रीको जिम्मामा छ । प्रमुख सचिवले पूर्व मुख्यमन्त्रीज्यूको निजी सचिवलाई गाडी बुझाउन भन्दै हुनुहुन्थ्यो, हिजो र आज बिदा नै भयो । भोलि बुझाउनु हुन्छ होला ।’ पूर्व मुख्यमन्त्रीको सचिवालय सदस्य तथा निजका पिएहरुले मन्त्रालयको गाडी प्रयोग गर्दै आइरहेको श्रोतले जनाएको छ ।

त्यस्तै, प्रदेशका पूर्व उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले प्रयोग गर्ने गाडी पनि अझै फिर्ता नगरेको प्रदेश सचिव विशाल घिमिरेले जनाए । उनले भने, ‘पुस २९ गते नै गाडी बुझाउन जानकारी गराउँदा भोलि फिर्ता गर्छु भने पनि हालसम्म फिर्ता भएको छैन ।’

तर, तत्कालीन राज्यमन्त्रीले प्रयोग गर्ने गाडी पुस २९ गते नै फिर्ता भएको सचिव घिमिरेले जनाए । धनुषाको ४ (२) बाट निर्वाचित भएर मन्त्री बनेका महतो गत निर्वाचनमा मिथिला नगरपालिकाका पूर्व मेयर हरिनारायण महतोसँग पराजित भए ।

त्यस्तै तत्कालीन गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले प्रयोग गर्ने गाडी फिर्ता नगरेको प्रदेश सचिव रामकुमार महतोले जनाए । तर तत्कालीन राज्यमन्त्रीले प्रयोग गर्ने गाडी फिर्ता भइसकेको छ । बिचमा सार्वजनिक बिदा परेर गाडी फिर्ता गर्न ढिला भएको हुनसक्ने सचिव महतोले बताए ।

त्यस्तै तत्कालीन महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले प्रयोग गरिरहेको एउटा गाडी र २ वटा मोटरसाइकल निर्वाचनकै समयमा बुझाइसकेको सो मन्त्रालयका जिन्सी शाखा प्रमुख पारशमणि साहले जनाए । उनका अनुसार गाडीहरु बुझाए पनि निजको जिम्मामा रहेको ल्यापटप लगायतका सामान अझै फिर्ता भएको छैन ।

त्यसैगरी तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बिदाई कै दिन पुस २९ गते नै गाडी बुझाइसकेको सो मन्त्रालयका उपसचिव अजय कुमार कर्णले जनाए ।

पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवले पनि पुस २९ गते नै आफूले प्रयोग गर्ने गाडी फिर्ता गरिसकेको सो मन्त्रालयका प्रदेश सचिव नम्रता सिंहको भनाइ छ ।

यस्तै तत्कालीन कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीले प्रयोग गर्ने गाडी पनि फिर्ता भइसकेको सचिव उत्तम प्रसाद खरेलले जनाए । त्यसैगरी तत्कालीन सामाजिक विकास मन्त्री नवल किशोर साहले पनि गाडी फिर्ता गरिसकेको सचिव लक्ष्मी प्रसाद भट्टराईले जनाए । पूर्व मन्त्री साहले मन्त्रालयबाट लिएका सबै जिन्सी सरसामान फिर्ता गरिसकेको सो मन्त्रालयका जिन्सी शाखा प्रमुख शम्भु ठाकुरले जनाए ।

प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित १० वटा मन्त्रालय छन् । पूर्व मुख्यमन्त्रीसहित २ जना पूर्व मन्त्रीले अझै गाडी फिर्ता नगरेको सम्बन्धित मन्त्रालयका सचिवहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप