शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

पर्वतको दुर्लाङ गाउँदेखि सिंहदरबारसम्म : यस्तो छ नवनियुक्त स्वास्थ्यमन्त्रीको राजनीतिक यात्रा

मङ्गलबार, ०३ माघ २०७९, १४ : ४९
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गिरी पर्वत जिल्लाको इतिहासमा संघीय सरकारमा मन्त्री हुने पहिलो व्यक्ति हुन् ।

राणाशासन अन्त्यपछि पर्वत जिल्लाबाट राज्य र सहायक मन्त्री ६ जना बनिसक्दा संघीय सरकारमा पहिलो मन्त्रीका रुपमा गिरीले इतिहास रचेका हुन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको राजनीतिबाट उदाएका गिरीले २०५९ माघ १९ मा तत्कालीन राजाले शासन हातमा लिएपछि पृथ्वीनारायण क्याम्पसमा गणतन्त्रको माग गर्दै विरोध प्रदर्शनको नेतृत्व गरेका थिए । त्यसपछि उनको चर्चा चुलिएको थियो । यद्यपि, स्कुल जीवनमै उनी राजनीतिक रुपमा चेतनशील भइसकेका थिए ।

२०५९ साल माघ २० गते उनी विरोध प्रदर्शनकै क्रममा पक्राउ परेका थिए ।

 संक्षिप्त परिचय

पदम गिरी पर्वत जिल्लाको कुश्मा नगरपालिका–३, दुर्लुङमा जन्मिएका हुन् । उनकी माता सिता गिरी हुन् भने पिता स्व. बेल गिरी हुन् । गिरीले दुर्लुङमै रहेको काफल चौर माध्यमिक विद्यालयमा औपचारिक शिक्षा प्रारम्भ गरे । त्यसपछि उनले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्नाकोत्तर तहमा अध्ययन गरे । उनी विद्यालय तहमै रहँदा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियू पाँचौको संगठित सदस्य बनेका थिए ।

दुर्लुङ गाउँदेखि सिहंदरबारसम्मको यात्रा

२०४६ सालमा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियू पाँचौको संगठित सदस्य बनेका उनी काफल चौर मावि दुर्लुङमा २०४८ सालमा प्रारम्भिक कमिटीको सचिव हुँदै अध्यक्षसमेत भए ।

२०५० सालमा पृथ्वी नारायण क्याम्पसमा अनेरास्ववियू पर्वत पोखरा सम्पर्क कमिटीको अध्यक्ष बनेका गिरी २०५५ सालमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्म्भिक कमिटीको सचिव हुँदै स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएका थिए ।

२०५७ मा उनी अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीको अध्यक्ष बन्न सफल भए । त्यसपछि उनी अनेरास्ववियू राष्ट्रिय परिषद सदस्य र अनेरास्ववियू केन्द्रीय सदस्य भए । २०५९ माघ १९ शाही कदमपछि मुलुकमा सबैभन्दा पहिला पृथ्वीनारायण क्याम्पसमा गणतन्त्रको माग गर्दैै भएको विरोध प्रदर्शनको नेतृत्व गर्ने उनी नै थिए ।

गिरी २०६२ सालको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा पृथ्वीनारायण क्याम्पस पोखरामा सभापति निर्वाचित भए । त्यसपछि अनेरास्ववियूको १९ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालयमा निर्वाचित भई स्ववियू परिचालन विभागको प्रमुख समेत बने । 

उनी नेकपा एमाले पर्वतको सातौं जिल्ला अधिवेशनबाट सदस्य पदमा निर्वाचित भई युवा फाँट प्रमुखको जिम्मेवारीसमेत सम्हाल्न सफल भएका थिए । त्यसपछि उनी नेकपा एमाले पर्वतको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

०७४ साल मंसिरमा भएको आमनिर्वाचनमा पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनले तीन पटक सांसद भइसकेका नेपाली कांग्रेसका अर्जुन जोशीलाई १३ हजार मतान्तरले पराजित गरेका थिए ।

गिरी नेकपा एमाले र माओवादी केन्द्र एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला अध्यक्षसमेत बने । नेकपा एमालेको दशौं महाधिवेशनपछि केन्द्रीय सदस्य तथा पर्वत जिल्ला सह–इन्चार्ज भएका उनी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा दोस्रो पटक पर्वत जिल्लाबाट निर्वाचित भए । उनी २९ हजार ८७२ मत प्राप्त गरी विजयी भएका हुन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उनका प्रतिस्पर्धी अर्जुन जोशी नै थिए । जोशीलाई २२ सय ६३ मतान्तरले हराउँदै गिरी संघीय सांसद बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप