सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शैक्षिक शत्र सुरू हुनु अगावै पाठ्यपुस्तक छपाई सक्ने प्रतिबद्धता

बुधबार, ०४ माघ २०७९, १२ : २२
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी शैक्षिक सत्र सुरू हुनु अगावै पाठ्यपुस्तकको छपाई सक्ने प्रतिबद्धता जाहेर गरेको छ । आगामी शैक्षिक शत्रमा पनि विद्यार्थीहरूले समयमै किताब नपाउने भन्दै चौतर्फीबाट चासो व्यक्त भइरहेका बेला जनक शिक्षाले भने पाठ्यपुस्तकको छपाई समयमै सक्ने बताएको हो ।  केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले पाठ्यपुस्तक छपाईको काम तिव्र गतिमा चलिरहेको बताए । आगामी शैक्षिक सत्र २०८० सालको पाठ्यपुस्तक समयमा नै छपाइ गर्ने कार्यमा केन्द्र पूर्ण प्रतिबद्ध रहेको उनको भनाई छ । 

हाल केन्द्रले तीनओटा नयाँ रङ्गीन छपाइ गर्ने वेब मेसिन जडान गरिसकेको र कागजको आपूर्ति पनि सहजै भइरहेको भन्दै शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुर्याउने उनको प्रतिबद्धता थियो ।  विभिन्न सञ्चारमाध्यमले केन्द्रका बारेमा अनावश्यक कपोकल्पित र भ्रामक समाचार प्रकाशित गर्ने गरेको उनको भनाई छ । कागज खरिद गर्ने, पाठ्यपुस्तक छपाइ गर्ने र पाठ्यपुस्तक बिक्री वितरण गर्ने केन्द्रको मुख्य कार्य रहेको भन्दै अनावश्यक हल्ला फैलाउने गरिएको उनको भनाई छ । 

केही दिन अगाडि प्रहरीले कम गुणस्तरको कागज बोकेका केही ट्रक नियन्त्रणमा लिएको थियो । केन्द्रले बोलपत्रमार्फत प्राप्त हुने कागजको नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुमा परीक्षण गर्ने गरिएको उनको भनाई छ । परीक्षणको क्रममा तोकिएको गुणस्तर अनुसारको कागज भएमा मात्र प्रयोग गर्ने र नभएमा उक्त कागज आपूर्तिकर्तालाई फिर्ता गर्ने गरिएको उनको भनाई छ । 

यो कार्य केन्द्रले नियमित रूपमा गर्दै आएको र सामान्य विषय भएको बताए । ठेकेदारलाई फिर्ता गरेको कागज पुनः केन्द्रमा नै पठाइएको थियो । त्यसपछि प्रहरीले ती कागज नियन्त्रणमा लिएको थियो । उक्त विषयमा छानबिन भइरहेको दोषी ठहरिएमा कारवाही गरिने केन्द्रले जनाएको छ । 

कोरोना महामारी तथा युक्रने–रुस युद्धका कारण विश्व बजारमा कागजको अभाव देखिएको छ । जसले गर्दा ठेकेदार कम्पनीले केन्द्रलाई प्रयाप्त मात्रामा कागज उपलब्ध गराउन सकेको छैन । पछिल्लो समय कागजको सहज आपूर्ति भइरहेकाले पाठ्यपुस्तक छपाईको काम तिव्र गतिमा अघि बढेको र नयाँ शैक्षिक शत्र सुरू हुनु अगावै पाठ्यपुस्तक छपाई सक्ने बताए । 

गत वर्षसम्म केन्द्रले २ वटा मेसिनले मात्रै पाठ्यपुस्तक छाप्दै आएको थियो । तर, यो वर्ष ३ वटा मेसिन थप गरिएको छ । आगामी शैक्षिक शत्रका २ करोडभन्दा बढी पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । हाल ३५ लाख पाठ्यपुस्तक छपाईको काम सकिएको छ । छपाईको काम तिव्र गतिमा चलिरहेको र समयमै पाठ्यपुस्तकको छपाई सकिने उनको भनाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप