शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

त्रासमा प्रचण्ड–ओली !

प्रचण्डलाई ओली कित्ताबाट अलग्याउन चाहन्छन् देउवा
शुक्रबार, ०६ माघ २०७९, १६ : ५५
शुक्रबार, ०६ माघ २०७९

काठमाडौँ । बिहीबार प्रतिनिधि सभाको सभामुख चयनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद् भवन नयाँ बानेश्वरमा झण्डै एक घण्टा छलफल भयो । उनीहरुबीचको छलफलमा के–के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । तर, छलफलपछि संसद् भवनबाट बाहिरिने क्रममा एमाले अध्यक्ष केपी ओली र प्रचण्डले दिएको अभिव्यक्तिलाई विश्लेषण गर्ने हो भने उनीहरुबीच पुस १० मा भएको सहमति कार्यान्वयन हुन्छ या हुँदैन ? भन्नेमा दुवै नेता दुविधाग्रस्त देखिन्छन् । अर्थात दुवै नेता एक अर्कासँग त्रसित देखिन्छन् । 

संसद् भवन परिसरबाट बाहिरिने क्रममा राष्ट्रपतिबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष ओलीले राष्ट्रिय सहमति हुनसक्ने तर ‘त्यो सहमति’ एमालेले अघि सार्ने उम्मेदवारको हकमा मात्रै हुनसक्ने प्रतिक्रिया दिए । ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनसक्छ । एमालेले राष्ट्रपति पदमा उम्मेदवार उठाउँछ र त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ । हाम्रो सहमति पनि त्यही हो’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने । एमालेले उठाउने उम्मेदवारको सवालमा अरू पार्टीले सहमति जनाएर राष्ट्रिय सहमतिका रूपमा अघि बढ्न सकिने उनको भनाइ थियो । 

ओलीको यो भनाइबाट एमालेबाहेकका उम्मेदवारमा राष्ट्रिय सहमति हुन सक्दैन भन्ने बुझ्न कुनै कठिनाइ छैन । तर ओलीभन्दा केही मिनेटमात्रै अघि सांसदबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले राष्ट्रपतिका सवालमा आफू राष्ट्रिय सहमति जुटाउने प्रयासमै रहेको र त्यसमा अझै लागिरहने प्रतिक्रिया दिएका थिए ।

सत्ता साझेदार दल र आफ्नो व्यक्तिगत तर्फबाट पनि सहमतिको प्रयास भइरहेको प्रचण्डको दाबी थियो । ‘राष्ट्रपतिका लागि समय बाँकी छ । हामी सत्ता साझेदार दल र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बन्दिए हुन्थ्यो भन्नेतिर कोसिस छ, त्यो कोसिस अझै जारी राख्छौँ’, प्रचण्डको भनाइ थियो । 

यो दुबिधाको सुविधा दिने काम भने अरू कसैले नभएर प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल भएरपनि सरकार बनाउन नसकेको नेपाली कांग्रेसले दिएको हो । कांग्रेस गठबन्धन कायमै रहँदा प्रचण्डलाई प्रधानमन्त्री दिन अस्वीकार गरेको कांग्रेसले एमालेको सहयोगमा जब प्रचण्ड प्रधानमन्त्री भएर सुविधाजनक बहुमत कायमै रहँदा समेत प्रचण्ड (सरकार)लाई विश्वासको मत दियो जसले अध्यक्ष ओली सहमतिअनुसार राजनीतिक कोर्स अघि बढ्दैन कि भन्ने निष्कर्षमा पुगे । यही निष्कर्षसहित त्रासको अभिव्यक्ति एमाले अध्यक्ष ओली र अन्य नेताहरूले समेत पटक पटक दिने गरेका छन् । सोही क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासलाई समेत जारी राखेपछि एमाले नेताहरूमा त्यो त्रास अरू बढ्न पुगेको छ ।

हुन त पुस १० गते एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच सत्ताका मुख्य पदहरूमा सहमति गरेर बनेको नयाँ राजनीतिक समीकरणपछि प्रचण्ड प्रधानमन्त्री भैसकेका छन् । सोही सहमति अनुसार नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका सांसद देवराज घिमिरे पहिलो कार्यकाल अर्थात् साढे २ वर्षका लागि सभामुख निर्वाचित भएर शुक्रवार शपथ पनि लिइसकेका छन् ।  यस्तै प्रतिनिधि सभाको उपसभामुख चयन पनि सहमति अनुसार नै शनिवार हुँदै छ ।

त्योबाहेक प्रदेशका मुख्यमन्त्री र त्यहाँका सभामुख तथा उपसभामुख समेत प्रचण्ड–ओलीको सहमति अनुसार नै चयन भैसकेका छन् । नेताहरूका अनुसार पुस १० को सहमति अनुसार प्रचण्ड–ओलीबीच प्रधानमन्त्रीमा आधाआधा कार्यकाल लिने सहमति भएको छ । यस्तै सभामुखमा पनि एमाले र माओवादीबीच आधाआधा कार्यकाल लिने सहमति छ । त्यस्तै राष्ट्रपति पद ५ वर्ष नै एमालेले लिने सहमति भएको दाबी गरिए पनि अन्तिम समयमा माओवादी केन्द्रले धोका दिन्छ कि भन्ने त्रासमा एमाले देखिन्छ । राष्ट्रपतिको निर्वाचन यही माघ अन्तिममा गर्ने तयारी छ । 

 त्यसो त साढे २ वर्षपछि प्रधानमन्त्री र राष्ट्रपति दुवै ओली र उनी निकटका मानिस हुनसक्ने भएकाले माओवादी पनि ओलीसँग त्रसित नै छ । नेकपाकालमै प्रधानमन्त्री र राष्ट्रपति दुवै ओली अनुकूल हुँदा व्यहोरेको पीडा माओवादीले पुरै भुलिसकेको छैन । सोही कारण प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग विश्वासको मत मागेर ओलीलाई राजनीतिक ‘साइज’मा राख्ने प्रयत्न गरेको कतिपयको बुझाइ छ ।

पुराना कम्युनिस्ट नेता राधाकृष्ण मैनाली नयाँ समीकरणमार्फत प्रचण्ड प्रधानमन्त्री भएपनि प्रचण्ड ओलीसँग र ओली प्रचण्डसँग ढुक्क हुन नसकेको बताउँछन् । मैनालीको भनाइमा नेपालको अहिलेको राजनीतिको केन्द्रमा रहेका तीन नेता ओली, प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा अति महत्त्वाकाङ्क्षी छन् । त्यही महत्त्वाकाङ्क्षाका कारण एकले अर्कालाई पछारेर आफू कसरी शक्तिशाली हुने भन्ने योजना सफल पार्ने प्रयत्न गरिरहेका छन् ।

‘तीनैजना नेता एक अर्कासँग त्रसित देखिन्छन् । त्रसित हुनुको कारण तीनै जनालाई एकैचोटी प्रधानमन्त्री चाहिएको छ’, मैनाली भन्छन्, ‘अहिले ओली र प्रचण्डबीच पालो लगाइएको छ । तर त्यो पालोअनुसार प्रचण्डलाई साढे २ वर्ष होइन कि चार महिनामै हटाएर आफू हुन पाए हुन्थ्यो भन्ने ओलीको चाहना छ ।’

मैनालीका अनुसार ओली र प्रचण्डबीचको यस्तो रमिता हेरिरहेका देउवा भने ओली कित्ताबाट प्रचण्डलाई आफ्नो कित्तामा पार्न चाहन्छन् । ‘यस्तो अवस्थामा प्रचण्डलाई तानेर ओलीलाई हुत्त्याएर जसरी हुन्छ आफू आउन पाए हुन्थ्यो भनेर देउवा पनि लागेकै छन्’, मैनालीले रातोपाटीसँग कुरा गर्दै भने, ‘तर प्रचण्ड,ओली र शेरबहादुरलाई दुवैलाई लडाएर पाँचै वर्ष आफैले प्रधानमन्त्री चलाउन पाइन्छ कि भन्ने दाउ छ ।’

नेताहरूमा देखिएको यस्तो अविश्वासकै कारण पछि हुने राष्ट्रपति चुनावमा पनि यसको असर पर्न सक्ने मैनालीको दाबी छ ।‘अहिले राष्ट्रपति एमालेको हुने अनि भोलि आलोपालो अनुसार प्रधानमन्त्री पनि हुने र सभामुख पनि ओलीकै पार्टीको हुने भएपछि त्यस बेला ओलीले संसद् विघटन गरेर मध्यावधिमा जान सक्छन् भन्ने शेरबहादुर र प्रचण्ड दुवैमा त्रास छ’, मैनालीको भनाइ छ । उनले यो बुझेर नै प्रचण्ड र देउवाले राष्ट्रपतिमा ओलीको ग्रीपभन्दा बाहिरको मान्छे ल्याउन खोजिरहेको बताए ।

‘यसमा प्रचण्ड र देउवा सफल भए भने ओलीलाई लफन्याउँछन्, तर, ओलीले नै आफ्नो मान्छे ल्याउन सफल भएभने देउवा र प्रचण्ड दुवैलाई ओलीले कर्नर पार्छन्’, मैनालीको टिप्पणी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप