बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
पोखरा विमान दुर्घटना

२४ वटा शव पहिचानमा समस्या, डीएनए परीक्षण गरिए रिपोर्ट आउन तीन महिना लाग्ने

फसेन्सिक विभागले माग्यो मृतकका परिवारको सहयोग
शनिबार, ०७ माघ २०७९, ०९ : ५३
शनिबार, ०७ माघ २०७९

काठमाडौँ । पोखरामा गत आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये २४ वटा शव पहिचानमा समस्या भएको छ । यससँगै  त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले आवश्यक सहयोग र सहजीकरणका लागि मृतकका आफन्तसँग आग्रह गरेको छ ।  

अस्पतालको फरेन्सिक विभागका विशेषज्ञ डाक्टर गोपाल चौधरीले शव पहिचान हुन बाँकी रहेका मृतकका परिवार तथा आफन्तहरुलाई त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा आएर एन्टिमोटम डाटा उपलब्ध गराउन आग्रह गरे । 

उनले भने, ‘एन्टिमोटम डाटाहरु आफन्तले उपलब्ध गराइदिएको खण्डमा शव पहिचान गर्न सहज हुने थियो ।’ डा.चौधरीका अनुसार एन्टिमोटम डाटा भन्नाले मृत्यु हुनुभन्दा अगाडि दाँत, शरीरलगायतको बनावट कस्तो थियो भनेर थाहा  पाउनु हो । यस्तै शरीरका कुनै भागमा कोठी थियो कि या ट्याटु वा दुर्घटना भएको दाग थियो कि भन्ने जानकारी पनि एन्टिमोटम हो । 

जसमा अप्रेसन गरेको ठाउँमा भएको खत, दागका साथै कपाल ट्रान्सप्लान्ट–इम्प्लान्ट गर्दाको दागहरु, मृत्यु हुँदाको क्षणमा कुन लुगा लगाएका थिए जस्ता कुराको जानकारी आएपछि र पोस्टमार्टम गर्दा आउने रिपोर्ट म्याचिङ भएमा सहज हुन्छ । 
 
आइतबार बिहान पोखरा महानगरपालिका वडा नं. ७ र १५ को बीचमा रहेको सेती नदी खोचमा भएका विमान दुर्घटनामा चार जना चालकदलका सदस्यसहित ७२ जना दुर्घटना परेका थिए । जसमा महिला २५ जना, पुरुष ३७, बालक ३, शिशु ३ जना सवार थिए । विमानमा ५३ जना स्वदेशी नागरिक र १५ जना विदेशी नागरिक गरी ६८ जना सवार थिए । जसमा  पुरै भाग जलेका २४ वटा शवमा कुनै निसी, दाग, खत नदेखिएकाले पहिचान गर्न समस्या भएको डा. चौधरीले बताए ।  

‘जलेको शवमा दाग, खत केही देखिएको छैन, त्यस्तो अवस्थामा पहिचान गर्न सकिन्न । यस्तो अवस्था डीएनए प्रक्रियामा जाने प्रवल सम्भावना हुन्छ,’ उनले भने । ती शवको डीएनए परीक्षण जानुभन्दा अगाडि अन्य माध्यमबाट जस्तै ‘डेन्टल इप्mरमेसन’ अर्थात् दाँतको माध्यमबाट जानकारी प्राप्त गरी शव पहिचान गर्ने कोशिस गरिरहेको उनले बताए । सकेसम्म कमभन्दा कम शवलाई डीएनए परीक्षणमा लैजाने योजना रहेको डा.चौधरीले सुनाए ।

डिएनए परीक्षणमा गए ढिलाइ हुन्छ ?
शवको डीएनए परीक्षणको रिपोर्ट तत्काल नआउने भएकाले कमभन्दाकम शव डिएनए परीक्षणमा लैजान खोजिएको उनले बताए । डीएनए परीक्षण गरिएको खण्डमा रिपोर्ट आउन साढे दुईदेखि तीन महिनासम्म लाग्ने उनको भनाइ छ । डीएनए परीक्षणको प्रक्रिया लामो हुने भएकाले ढिलाई हुने भन्दै उनले सकेसम्म पोस्टमार्टम र एन्टिमोर्टमबाट शवको पहिचान गर्न कोशिस गर्ने बताए । 

विशेषज्ञ डा. चौधरीका अनुसार डीएनए परीक्षण रिपोर्टको विश्लेषण कार्य प्रहरीको  हो । ‘हामीले नमुना संकलन गर्ने मात्रै हो । सो नमुनाको परीक्षण विश्लेषण गर्ने काम प्रहरीको क्षेत्राधिकारभित्र पर्छ ।’   शवको पोष्टमार्टम डाटा निकाल्ने कार्य शनिबारसम्म सकिने उनले बताए ।

मृत्युको कारण पत्ता लगाउनका लागि सामान्य पोस्टमार्टम गरिन्छ । तर, विमान दुर्घटना जेलेको शवलाई पहिचान गर्ने कार्य सामान्य पोस्टपार्टम नभएको डा. चौधरीले बताए ।

‘जुन शरीरहरु जलिरहेका हुुन्छन् । त्यसरी जलेको शरीरलाई नाङ्गो आँखाले चिन्न सकिँदैन’, उनले भने, ‘शरीर पहिचान गर्नका लागि प्रोटोक्लमा आधारित भई दाँतहरुको अवस्था लगायत अन्य कुरा परीक्षण गरेर परिचय खुलाउनुपर्ने हुन्छ ।’ परीक्षणहरु गर्नुपर्ने लामो प्रक्रिया भएकाले ढिलाइ जस्तो देखिएको उनको भनाइ छ । तर, काम निरन्तर भइरहेको डा चौधरीले बताए । 

शवको पहिचानको लागि परीक्षण गर्दा अन्र्तराष्ट्रिय मापदण्डमा आधारित भई गरिरहेको उनले बताए । ‘प्रक्रिया अनुसार जाँदा ढिलो भएजस्तो लागेको हो तर, हामीले ढिला गरेका छैनौँ,’ उनले भने, ‘शव पहिचान गर्ने कार्य निरन्तर भइरहेको छ ।’

७० वटा शवमध्ये पहिचान खुलेका २२ वटा शवलाई पोखराबाट आफन्तलाई बुझाइसकिएको छ । ती बुझाइएका २२ वटा शव सग्लो शरीर भएकाले आफन्तहरुलाई छिट्टै बुझाउन सकिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप