शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

दुरुपयोग भएकै हो एन्फाको इमेल ?

आइतबार, ०८ माघ २०७९, १५ : ३५
आइतबार, ०८ माघ २०७९

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आधिकारिक इमेल प्रयोगको सन्दर्भमा बेलाबेला चर्चा भइरहन्छ ।  एन्फामा कमल थापा हुँदै गणेश थापा, नरेन्द्र श्रेष्ठ, कर्मा छिरिङ शेर्पा र अहिले पंकज नेम्बाङको कार्यकालसम्म आइपुग्दा इमेलको विषयमा बेला बेला बहस हुँदै आएको छ । 

विभिन्न व्यक्तिबाट इमेलको प्रयोग हुँदा दुरुपयोग हुने गरेको भन्दै एन्फामा यो विषयमा बेलाबेला बहस हुने गरेको हो । सन् २०१६ को डिसेम्बरमा तत्कालीन अध्यक्ष शेर्पाको कार्यकालमा नेम्बाङले पक्षले एन्फाको इमेलको पासवर्डको विषयमा चर्चा चलाएको थियो । 

आफूहरुले इमेलको विषयमा कुरा उठाउँदा सुनुवाइ नभएको भन्दै विरोध नेम्वाङ पक्षले विरोध गरेको थियो । तर, अहिले कार्यसमितिको अध्यक्ष नै नेम्वाङ भएको बेला पनि यो विषय बाहिर आएको छ ।  नेम्वाङले आधिकारिक रुपमा महासचिव मात्रलाई इमेल दिएको बताइएपनि दुरुपयोगको विषय बाहिरिएको हो । 

६ वर्षअघि नेम्वाङले लेखेका थिए, ‘एन्फाको इमेलको पासवर्ड दुईजना कर्मचारीलाई मात्र जानकारी रैछ । हिजो बैठकमा पासवर्ड कार्यसमितिलाई थाहा हुनुपर्छ भनेर माग गर्दा पाइएन, एन्फाको हिजोको अवस्था र आजमा केही फरक भएन ।’ 

यसरी पहिले विरोध जनाएका नेम्वाङसामू पनि अहिले नैतिक प्रश्न खडा भएको छ । उनी नेतृत्वको कार्यसमिति सदस्यदेखि लिएर एन्फाका पूर्वपदाधिकारीहरुले इमेलको विषयमा एन्फाले धारणा राख्नुपर्ने र कार्यसमिति सदस्यहरुलाई दिनुपर्ने आवाज उठाएका छन् । 

एन्फा अध्यक्ष नेम्वाङका सल्लाहकार नविन पाडेलाई समेत इमेलको पहुँच छ, यो विषयमा एन्फा कार्यसमिति बैठकमा कुरा उठाउने तयारी गरिएको एक सदस्यले रातोपाटीलाई बताए । 

‘एन्फाको आधिकारीक इमेल एन्फाका कार्यसमिति र महासचिव बाहेकले प्रयोग गर्न पाँइदैन भन्ने कुरा हामीले उठाइरहेका छौँ’, उनले भने, ‘अब आउने कार्यसमितिमा इमेल दुरुपयोग भए–नभएको विषयमा निर्णय गर्न दबाब दिन्छौँ ।’

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले एन्फाको इमेल दुरुपयोग भएको विषय आफूले पनि सुनेको बताए ।  उक्त विषय एन्फाले अब आउने कार्यसमितिबाट सुल्झाउने उनको भनाइ छ ।  यदि दुरुपयोग भएको भए केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)को सहयोगमा पत्ता लगाउन सकिने उनले बताए। 

‘एन्फाको इमेल दुरुपायोग भएको हल्ला मैले पनि सुनेको हो । यो विषय साँचो हो होइन भन्ने विषयलाई आधिकारिकता दिन एन्फा कार्यसमितिको बैठक कुर्नपर्ने हुन्छ’, उनले भने, ‘सबै कार्यसमिति सदस्यलाई पासवर्ड दिने देखि लिएर इमेल दुरुपायोग भएको विषयमा हामी छानबिन गर्नेछौँ ।’

कसरी बाहिरियो दुरुपयोगको विषय? 

निर्वाचनलगत्तै बसेको पहिलो बैठकबाट एम्फा अध्यक्ष नेम्वाङले जर्मन नागरिक भइसकेका नविन पाँडेलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएका थिए । तर, एन्फाभित्रै तीव्र मतभेद भएपनि उनको जिम्मेवारी खोसिएको थियो । 

तर, त्यसको केही दिनमा नै अध्यक्षले आफ्नो सल्लाहकारको रुपमा पाडेलाई पुनः नियुक्ति दिएका थिए । आफूलाई चुनावताका सहयोग गरेको गुन तिर्न नेम्वाङले पाँडेलाई च्याप्दै आएको एन्फामा टिप्पणी हुने गरेको छ । 

अहिले उनै पाडेले विश्वकप फुटबल दौरानमा संस्थागत निर्णयबिनै एएफसीलाई इमेल रिप्लाई गरेको कुरा बाहिर आएको हो । जसमा उनले एन्फालाई धेरै टिकट मागेको बाहिरिएको छ । 

यो विषयमा एन्फाले अहिलेसम्म कुनै आधिकारिक धारणा राखेको छैन । यद्यपि दुरुपयोग भएको विषयमा छानबिन गर्ने एन्फाको तयारी छ । एन्फा बैठकको मिति छिट्टै तय हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप