बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सोमबार, ०९ माघ २०७९, २३ : ०८
सोमबार, ०९ माघ २०७९

काठमाडौँ । स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदुवाको बीउको खरिद कार्यमा भ्रष्टाचार भएको ठहर गर्दै सोमबार अधिकारीसहित नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, आपूर्तिकर्ता स्पुक ट्रेडर्सका प्रतिनिधिसमेत ६ जना विरुद्ध मुद्दा दायर गरेको हो । 

अधिकारीले अदुवाको बीउको दररेट तय गर्ने गरी गरेको सिफारीसमा अस्वभाविकरुपमा दररेट थप गरेर नगरपालिकालाई १३ लाख रुपैयाँ क्षति पुर्याएको अख्तियारको ठहर छ ।  जसअनुसार अधिकारीलाई तेह्र लाख रुपैयाँ बिगो कायम गरी मागदावी लिएर विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

यसैगरी अधिकारीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेशिफिकेशनमा उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको अख्तियारको ठहर छ ।  

जसअनुसार उनीहरुले आपूर्तिकर्तालाई पटक पटक गरेर २ करोड १४ लाख ५० हजार भुक्तानी दिएको अख्तियारले जनाएको छ ।  उनीहरुउपर करबापत कट्टा गरिएको रकम घटाई कायम हुने एक करोड सन्तानव्वे लाख सत्तरी हजार चार सय उनान्सय रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरिएको भण्डारीले बताए । 

साथै, अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स र उक्त कम्पनीका प्रतिनिधि शिव प्रसाद न्यौपाने विरुद्ध पनि दुई करोड दश लाख सत्तरी हजार चार सय उनान्सय रुपैयाँ बिगो कायम आरोपपत्र दायर गरिएको भण्डारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप