शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
गृहमन्त्रीको नागरिकता विवाद

न्यायाधीशको प्रश्न : नागरिकताको प्रमाणपत्र नलिएको व्यक्ति उम्मेदवार हुन मिल्छ कि मिल्दैन ?

बुधबार, ११ माघ २०७९, १९ : २२
बुधबार, ११ माघ २०७९

काठमाडौँ । संवैधानिक इजलासमा बुधवार दिनभर गृह मन्त्री रवि लामिछानेको नागरिकता विवादमा बहस भएको छ । बहसको केन्द्रबिन्दु बनेको थियो–‘लामिछानेले अब फेरि नयाँ नागरिकता लिनु पर्छ वा पर्दैन ?’

उनी नेपाली नागरिक हुन् वा होइनन् भन्नेबारे न्यायाधीश र कानुन व्यवसायीको बीचमा सवाल जवाफ भएको छ । संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिल कुमार सिन्हाले सुनुवाइ गरेका हुन् ।

गृहमन्त्री रवि लामिछानेको तर्फबाट सह–न्यायाधिवक्ता सञ्जिवराज रेग्मी सहित ३ जनाले बहस गरे । रेग्मीले रिट निवेदक क्षेत्राधिकार बाहिर गएर लामिछाने सांसद हुन अयोग्य भएको मुद्दा लिएर आउन नमिल्ने दाबी गरेका छन् ।   

सार्वजनिक सरोकारको विषय भनेर निवेदक अदालत आउनु गलत भएको जिकिर गरेसँगै सह–न्यायाधिवक्ता रेग्मीलाई न्यायाधीश ईश्वर प्रसाद खतिवडाले प्रश्न गरे ।

न्यायाधीश खतिवडा : नागरिकता प्रमाणपत्र नलिएको व्यक्ति उम्मेदवार हुन मिल्छ कि मिल्दैन ?

सञ्जिवराज रेग्मी : नागरिकता नलिँदैमा नागरिक होइन भन्न पाइँदैन, श्रीमान् । प्रमाणपत्र मात्र मुख्य कुरा होइन । प्रमाणपत्र नहुँदैमा उ विदेशी हुँदैन ।

न्यायाधीश : प्रश्न विदेशीको होइन, उम्मेदवार हुन मिल्छ कि मिल्दैन ? प्रमाणपत्र नभएपछि कसरी नागरिक प्रमाणित गर्नुहुन्छ ?

रेग्मी : नागरिकता पाउन योग्यहरू नेपाली नागरिक हुन् । प्रमाणपत्रको कुरा संविधानले भनेको छैन । प्रमाणपत्र नलिँदैमा नागरिक होइन भन्न मिलेन तर, सेवा सुविधा पाउन प्रमाणपत्र लिनुपर्छ ।’

सहन्यायाधिवक्ता रेग्मीले अमेरिकाको नागरिकता त्यागेपछि लामिछानेले २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट लिएको नागरिकता स्वतः सक्रिय हुने जिकिर गरेका छन् । नागरिकता सम्बन्धी नियमावलीले पुन:प्राप्तिबारे त्यागेको निस्सा मात्र दिए हुने वा प्रक्रियामा जानुपर्छ भन्नेबारे स्पष्ट व्याख्या नगरेको बताए ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र अधिवक्ता सुनिल पोखरेलले पनि बहस गरेका छन् । वरिष्ठ अधिवक्ता पन्तले नेपालको नागरिकता छाड्छु भन्ने निर्णय गरेर विदेश गएको अवस्थामा मात्र फेरि नागरिकता लिनुपर्ने व्यवस्था रहेको बताए । बहसमा उनले भने–‘तर, निर्णय नगरेर गएकाहरूको हकमा अर्को मुलुकको छाडेपछि पुरानो पुन:कायम हुन्छ ।’ नागरिकता सम्बन्धी ऐनको दफा–११ ले त्यागेर गएको अवस्थामा अर्को देशको छाडेपछि पुराना पुनः कायम हुने व्यवस्था गरेको उनले जिकिर गरे । उनले भने–‘पुन:प्राप्त गर्नुपर्ने भन्ने व्यवस्था नै कानुनमा छैन ।’

 अमेरिकाको नागरिकता त्यागेको प्रमाणित निस्सा लामिछानेले अध्यागमन विभागका बुझाएको पन्तले बताए । उनले भने–‘त्यतिवेला विदेशी नागरिक भएको हुनाले अमेरिकाको त्यागेर अध्यागमनमा जानकारी गराएका छन्, विदेशीको हकमा निस्सा दिने ठाउँ अध्यागमन नै हो ।’

अधिवक्ता सुनिल पोखरेलले नागरिकताको विषय र रवि नेपाली हुन् कि हैनन् भन्ने मुद्दा प्रोपर च्यानलबाट नआएको जिकिर गरे ।  

माघ १३ मा (शुक्रवार) सुनुवाइ हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । निवेदक तर्फका कानु व्यवसायीले बहस सकेका छन् । शुक्रवार लामिछानेका कानुन व्यवसायी र सरकारी वकिलको बहस सकिएपछि निवेदक तर्फका कानुन व्यवसायीले जवाफ दिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप