शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय लगानीमा सिमरा सेजमा टायल उद्योग शिलान्यास

शनिबार, १४ माघ २०७९, २१ : २१
शनिबार, १४ माघ २०७९

बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा भारतीय लगानीमा टायल उत्पादन गर्ने उद्योग शिलान्यास भएको छ । करिब डेढ देखि २ अर्ब रुपैयाँ लगानी हुने बताइएको छ ।

 भारतीय टायल उत्पादन कम्पनीको मुख्य लगानी र नेपालको तर्फबाट पशुपति सिरामिक्स प्रा.लि को सहकार्यमा सिमरा सेजमा सो कम्पनीको शिलान्यास गरिएको सिमरा सेजका इन्जिनियर आनन्द भट्टले जनाएका छन् । ‘उहाँहरूले ४ महिनाभित्र उत्पादन सुरु गर्ने गरी  उद्योगको शिलान्यास गर्नुभएको छ,’ इन्जिनियर भट्टले भने । 

सिमरा सेजले  डेढ वर्षदेखि पटक पटक सार्वजनिक सूचना निकालेर उद्योगीहरूलाई आह्वान गरेपछि शुक्रबार पहिलो उद्योगको शिलान्यास भएको हो । पशुपति सेरामिक्स कम्पनीका प्रमुख तुलसी साह रौनियारले अगामी आर्थिक वर्षको सुरुवातदेखि नै उत्पादन सुरु गर्ने गरी उद्योग निर्माणको काम तीव्र गतिमा अगाडी बढाइने बताए । ‘२ सय जनालाई प्रत्यक्ष रोजगारी दिनेगरी हामीले काम अगाडी बढाएका छौँ,’ रौनियारले भने ‘उत्पादनका लागि अधिकतम कच्चा पदार्थ मुलुकभित्रकै प्रयोग गर्ने र बजारको लागि भारतको बिहार, उत्तर प्रदेश, भुटान र बंगलादेशमा निर्यात गर्ने हाम्रो लक्ष्य छ’ ।

sez simara

सो कम्पनीले उद्योग सञ्चालनकै लागि ८ वटा प्लट भाडामा लिएको छ सिमरा सेजले जनाएको छ । सेजले १ देखि डेढ बिगाहा क्षेत्रफलको प्रतिप्लट तयार गरेको छ  भने प्रति वर्गमिटर मासिक १० रुपैयाँ भाडादर निर्धारण गरेको छ । ८३३ बिगाहा क्षेत्रफल रहेको सिमरा सेजका ५ वटा ब्लक रहेका छन् । जसमध्ये ब्लक ‘ए’को ३४३ बिगाहा क्षेत्रफल मध्ये १६३ बिगाहालाई ६८ वटा प्लटमा विभाजन गरिएको छ । उद्योग सञ्चालनका लागि सेजले   ब्लक ‘ए’ मा बैंक, बिमा, भन्सार, प्रशासन भवन, खानेपानी, विद्युत्,ढल, बालबालिकाको लागि केयर हाउस, क्यान्टिन, दुधौरा खोला तटबन्धमा ५अर्ब भन्दा बढी लगानी गरिसकेको छ । 

यसअघि जग्गाको भाडादर उच्च भएको, उद्योगमा सुरक्षाको ग्यारेन्टी नभएको, बैंकले लगानी गर्ने वातावरण नभएको, ब्याजदर उच्च भएको, पथलैया–वीरगञ्ज औद्योगिक करिडोरदेखिको सिमरा टेलिकमदेखि सेजसम्म जाने साँघुरो र कच्चा सडक खण्डका कारण समस्या भएको र उत्पादनको ६० प्रतिशत तेस्रो मुलुक निर्यात गर्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण नेपाली उद्योगीहरू सेजप्रति सकारात्मक भने देखिएका थिएनन् ।

 सिमरा सेजका इन्जिनियर आनन्द भट्टले भने केही दिनभित्र अन्य उद्योग पनि शिलान्यासको तयारीमा रहेको बताएका छन् ।  सेजका कार्यकारी प्रमुख डा.चण्डिका भट्टले शुक्रवार टायल उद्योग भवनको शिलान्यास गर्दै विशेष आर्थिक क्षेत्र ‘सेज’ मा ए ब्लक’ को ६८ वटा प्लट उद्योगीहरुले भाडामा लिइसकेकोले छिट्टै अन्य उद्योगहरू पनि धमाधम आउने दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप