शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाध्यकारी श्रमलाई शुन्यमा पुर्‍याउन पहल गर्नेछु : श्रममन्त्री अर्याल

आइतबार, १५ माघ २०७९, १६ : ५९
आइतबार, १५ माघ २०७९

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी श्रमलाई शुन्यमा पुर्‍याउन पहल गर्ने गरी काम गर्ने बताएका छन् । आइतबार मन्त्रालयमा बाध्यकारी श्रम सम्बन्धी प्रोटोकल (P29) भएको २०१४ को अनुमोदन र बाध्यकारी श्रम उन्मुलनका लागि एकिकृत कानुनको आवश्यकता सम्बन्धी संघिय सांसद र सरोकारवालाहरुसँगको छलफलमा उउनले बाध्यकारी श्रमलाई शुन्यमा झार्ने गरी काम गर्ने बताएका हुन् ।  अहिले बाध्यकारी श्रम निषेध र पुनःस्थापन गर्नका लागि बनाउन लागिएको विधेयकलाई परिपक्क र प्रभावकारी ढंगले अगाडि बढाउन सबै सरोकारवाला निकायलाई आग्रह गरे ।  

ऐन कानुन, लामो समयसम्म काम गर्ने गरी बनाउनुपर्ने भन्दै उनले भने, ‘एक पटक बनाएको नीति नियम र ऐनले लामो समयसम्म काम गर्नु पर्दछ । ताकि त्यो मन्त्री र सरकारी कर्मचारी फेरिने वित्तिकै फेर्न पर्ने नहोस् । हामीले गर्ने काममा फल्ट नहोस् परिपक्क होस् त्यसको लागि पीडित पक्ष, सरोकारवाला निकायहरुसँग मसिनो गरी छलफल गर्न म तयार छु ।’

मन्त्री अर्यालले नेपालमा गरिने यस्ता छलफल र अन्तरक्रिया कार्यक्रममा शहर केन्द्रित मात्रै हुने र सम्बन्धित निकायसम्म नपुग्ने भन्दै यस्ता कुराहरूमा समेत ध्यान दिनुपर्ने बताए । बाध्यकारी श्रम गरिरहेका पीडिले पनि अपनत्व महशुस हुनेगरी काम गर्न सरोकारवाला निकायलाई अनुरोध गरे ।   त्यस्तै कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले बाध्यकारी श्रमलाई न्यूनीकरणका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफु तयार रहेको बताए । बाध्यकारी श्रमको समुल अन्त्य नहुँदासम्म मुलुकमा आर्थिक, राजनीतिक तथा शैक्षिक रुपान्तरण हुन नसक्ने भएकाले बाध्यकारी श्रमको अन्त्यका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।  

बाध्यकारी श्रम (निषेश र पुर्नस्थापना गर्ने)  सम्बन्धी विधेयक २०७९ लाई पूर्णता दिनका लागि श्रम मन्त्रालको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका सहसचिव डण्डुराज घिमिरेको संयोजकत्वमा ७ सदस्यीय एक समिति गठन गरिएको छ । कार्यक्रममा मन्त्रालयका कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव निर्मला गुरुङले उक्त विधेयकको मस्यौदा प्रस्तुत गरेकी थिइन् । अधिवक्ता सोम लुइटेलले बाध्यकारी श्रम सम्बन्धि नेपालमा भएका प्रावधान र अन्तराष्ट्रिय प्रावधानका बारेमा जानकारी गराए ।  

नेपाल श्रम सर्वेक्षणले २०१८ मा गरेको सर्वेक्षणका अनुसार नेपालमा ३१ हजार ३ सय ३८ जना बाध्यकारी श्रम गरिरहेका छन् । त्यस्तै नेपालमा मुक्त कमैया ४० हजार, हलिया १६ हजार ९ सय ५३ जना, हरुवा चरुवा ४५ हजार ६५ र इटाभट्टामा ६ हजार २ सय २९ जनाले काम गरिरहेको (आइएलो) को रिपोर्टमा छ ।
अहिलेको बाध्यकारी श्रम (निषेश र पुनःस्थापना  गर्ने) सम्बन्धी विधेयक २०७९ मा पनि यिनै चार क्षेत्रका श्रमिकलाई समेटिएको छ ।

नेपालमा यति धेरै संख्याले बाध्यकारी काम गरिरहेका भएपनि उजुरी गर्ने निकाय र प्रक्रियाका बारेमा जानकारी नभएका कारण एउटा पनि मुद्दा अदालतमा नपरेको अभिवक्ता सोम लुइँटेलले बताएका छन् । बाध्यकारी श्रम (निषेश र पुनःस्थापना गर्ने) सम्बन्धी विधेयक २०७९ ले पूर्णता पाएपछि पीडितलाई न्याय दिन सहज हुने आशा सारोकारवाला निकायले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप