बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कँडेलको ‘मृतसागरमा तैरिँदा’ लोकार्पण

सोमबार, १६ माघ २०७९, ११ : २७
सोमबार, १६ माघ २०७९

काठमाडौँ । शिक्षाविद् डा. सदानन्द कँडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’को लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा थाहा पुस्तकालय, काठमाडौँमा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार र अन्य अतिथिहरूले संयुक्त रूपमा सो कृतिको लोकार्पण गरेका थिए ।  

कार्यक्रमका प्रमुख अतिथि राजकर्णिकारले कृतिमा केही स्वदेशी र विदेशी नियात्रा रहेको बताए । “प्रशासनिक व्यस्तताले पहिले नै साहित्य लेखन गर्न नसकेका उहाँको यो कृति पढेर थाहा हुन्छ,” उनले भने, “नियात्रा कृतिमा देश, विदेशका विभिन्न विषयवस्तु र ठाउँलाई रोचक किसिमले वर्ण गरिएको छ ।” सो नियात्रा सङ्ग्रहमा २१ वटा निबन्ध रहेको पनि राजकर्णिकारले जानकारी दिए ।  

यस्तै स्रष्टा समाजका संरक्षक पवन आलोकले स्रष्टा डा. कडेलसँग धेरै पहिलेबाट सँगै काम गरेको बताए । “पछिल्लो समयदेखि उहाँले लेख्न थाल्नुभएको हो,” उनले भने, “धेरै पहिलेदेखि साहित्यक व्यक्तित्वका रूपमा नचिने पनि उहाँको लेखन उत्कृष्ट छ ।” नियात्रामा जहाँ पुग्यो त्यहीँको भाषा, परिवेश, रहनसहन, मौलिकता टपप्क टिपेको उनले बताए । कँडेल राष्ट्रियताको पक्षमा पनि सजग रहेको कुरा नियात्राहरूमा देखिने उनले बताए । पहिलो कृति नै उत्कृष्ट आएकाले भविष्यमा अझ राम्रा कृति आउने अपेक्षा उनको थियो । 

सो कार्यक्रममा नियात्राकार जय छाङ्छाले पुस्तकका बारेमा विस्तृत समीक्षा गरेका थिए । समीक्षाका क्रममा उनले एउटा उत्कृष्ट कृति पाठक माझ आएको बताए । “स्वदेशका ९ वटा र विदेशका १२ वटा गरी जम्मा २१ वटा नियात्रा यस कृतिमा समावेश छन्,” उनले भने, “नियात्राको अध्ययनबाट धेरै ठाउँका नयाँ सूचना र जानकारी प्राप्त हुन्छ ।” नियात्राको सौन्दर्य भनेको नयाँ सूचना दिनु पनि भएकाले सो कुरा डा. कँडेलको यो कृतिले दिने उनले बताए ।
नियात्राकार डा. कँडेलले साहित्यका क्षेत्रमा अहिले आफू केटाकेटी नै भएको बताउँदै उनले आगामी दिनमा अन्य कृतिहरू पनि प्रकाशन गर्न तयार रहेको बताए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले नेपाली साहित्यमा ८५० भन्दा बढी नियात्राकृति आइसकेको बताए । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको लोकार्पण समारोहमा नियात्रा समाजका संस्थापक अध्यक्ष चन्द्रप्रसाद भट्टराई, प्रतीक ढकाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका अतिथिहरूलाई समाजका सदस्य शङ्कर भारतीले स्वागत गरेका थिए भने समाजकी सदस्य डा. शान्तिमाया गिरीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप