शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘यो मुर्दा संसद् हो, जनप्रतिनिधि भन्नपनि मलाई लज्जाबोध छ’: राजकिशोर यादव

बुधबार, १८ माघ २०७९, १५ : ४५
बुधबार, १८ माघ २०७९

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले विगत केहीसातादेखि देशमा घटेका घटनाका कारण आफूलाई जनप्रतिनिधि भन्नपनि लज्जाबोध भएको बताएका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले आत्मदाह गरेका युवा व्यवसायी प्रेमप्रसाद   आचार्यको बारेमा संसदमा आवाज नउठ्नु दुःखदायी भएको उल्लेख गरे । 

उनले भने,‘आज हामी यो सदनमा बहस गरिरहेका छौँ, यही सदनअगाडि एकजना युवाले यो देशमा गरिखान पाइएन भनेर प्रेम  आचार्यले आत्मदाह गरे । आज मैले सोचेको थिएँ यो सदनभित्र एउटा विशेष प्रस्ताव आउला कि के कारणले प्रेम  आचार्यले के कति कारणले प्रेम आचार्यले आत्मदाह गर्न बाध्य भए ? त्यसको बारेमा चर्चा होला तर आज यो सदन मुर्दाको रुपमा स्थापित भएको छ । प्रेम  आचार्यको बारेमा कसैलाई चिन्ता भएन, चासो भएन । हामीचाँही अर्कै गाथा, अर्कै गीत गाइरहेका छौँ ।’ 

उनले सप्तरी निवासी सामाजिक रुपमा पिँधमा रहेको दलितको पनि महादलित रामदेव मरिक छोराको बिहेमा लिएको ऋण तिर्न नसक्दा आफ्नो इज्जत जोगाउनका लागि आत्महत्या गरेको बताउँदै संसदमा सांसदहरुले ठुला ठुला गफ दिने गरेको बताए । उनले भने,‘ हामी रामदेव मरिकको बारेमा चर्चा गर्दैनौँ । हामीमा त्यो संवेदनशीलता, हामीमा त्यो जिम्मेवारी देखिएन ।’

उनले सरकार, सदन र व्यवस्थाले आफ्नो ज्यान बचाउन सकेपनि नाक बचाउन गाह्रो रहेको टिप्पणी गरे । 

उनले सर्वोच्चको फैसलाले पूर्वमन्त्री रवि लामिछाने १ दिनका लागि अनागरिक बनेपनि पुरै देशका लाखौँ नेपाली नागरिकता पाउनका लागि योग्य हुँदाहुँदै सरकारको निर्णयहीनताको कारणले गर्दा उनीहरू अनागरिक, राज्यविहीन भएर बस्नुपर्ने बाध्यतामा रहेको टिप्पणी गरे । यादवले कसका कारणले उनीहरू अनागरिक हुन पुगे भन्दै सरकारलाई प्रश्न समेत गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप