शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

बागमती सभ्यता विस्तारका क्रममा संरचना भत्किएपछि अस्तव्यस्त विद्यालय

बिहीबार, १९ माघ २०७९, ०८ : २०
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । नयाँबानेश्वरबाट तीनकुनेतर्फ जाँदा पुल नजिकै हेर्दा एउटा विद्यालय देखिन्छ । भर्खरै निर्माणाधीन अवस्थामा रहेको जस्तो देखिने विद्यालय अस्तव्यस्त देखिन्छ । बालबालिका लागि खेल्न न चौर देखिन्छ भने बिहानको प्रार्थना गर्न सकिने अवस्था छ । 

बालबालिकालाई कक्षाकोठाभित्रै राखेर प्रार्थना गर्नुपर्ने अवस्था छ । तीनकुने पुल नजिकै रहेको शिद्धेश्यर माध्यमिक विद्यालयको अवस्था अहिले दयनीय देखिन्छ । 

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले कोरिडोर निर्माण गर्ने भन्दै विद्यालयको भवन नै भत्काइदिएको छ । नदी किनारमा रहेको विद्यालयको आधा भन्दा बढी भाग कोरिडोरका लागि खाली गरिएको छ । जसले गर्दा अहिले विद्यालयको भवन बाहेक केही बाँकी छैन । विद्यालय भवनको अगाडिको चौरमा कोरिडोर पर्खाल लगाइएको छ । जसले गर्दा विद्यार्थीहरूलाई बिहानदेखि बिदा नहुँदासम्म कक्षा कोठामा थुनेर राख्नुपर्ने अवस्था छ । 

shiddheshwor school (7)

कोरिडोरका लागि विद्यालयको पुस्तकालय राखिएको भवन पुरै भत्काइएको छ । अहिले उक्त पुस्तकालयलाई स्टाफ रूपमा सारिएको छ । त्यस्तै अगाडिको भवन पनि भत्काइएको छ । विद्यालय अगाडि रहेको चौरमा नै पर्खाल लगाएर राखिएको छ । जसले गर्दा विद्यार्थीहरूलाई खेल्ने समेत ठाउँको अभाव देखिन्छ । 

रातोपाटीको टोली विद्यालयमा प्रवेश गर्दा विद्यालय नभई भर्खरै निर्माण भइरहेको भवन जस्तो देखिन्थ्यो । सबै कक्षा कोठामा ढोका लगाएर विद्यार्थीहरूलाई पढाइरहेका थिए । एकदमै बिजोग अवस्था थियो ।  

shiddheshwor school (3)

माथिल्लो तलामा माथिल्लो तहका विद्यार्थीलाई राखिएको छ । बाल विकासदेखि तल्लो कक्षाका विद्यार्थीलाई भवनको भुईतलामा राखिएको छ । शिक्षक/शिक्षिका निकै चनाखो भएर बस्नुपर्ने हुन्छ । आजभोलि उनीहरूलाई कुनै विद्यार्थीमाथि अप्रिय घटना त घट्ने होइन भनेर निकै चिन्तित हुने गरेका छन् । 

विद्यालयका प्रधानाध्यापक प्रभाकर न्यौपाने टिफिन टाइममा सबै शिक्षक-शिक्षिकाहरू विद्यार्थी भन्दा पहिला बाहिर आएर बस्नुपर्ने अवस्था रहेको बताउँछन् । 

‘बिहानको प्रार्थना गर्न सकिएको छैन । एक त रोड नजिकैको विद्यालय । त्यसमा खोला नजिकै छ । अहिले त झन् पर्खाल पनि छैन । विद्यालयको चौर पनि छैन । विद्यार्थीहरूलाई कोठाभित्रै राख्नुपर्ने अवस्था छ ।’ प्रधानाध्यापक न्यौपानेले भने । 

shiddheshwor school (4)

सुकुम्वासी बस्तीका बालबालिकालाई लक्षित गरेर २०४७ सालमा विद्यालयको स्थापना गरिएको थियो । उक्त विद्यालयबाट विद्यार्थीहरूले २०६७ सालबाट एसएलसीमा सहभागिता जनाउन थालेका थिए । उक्त क्षेत्रमा निकै अब्बल मानिएको  विद्यालयको एसएलसीको नतिजा पनि उत्कृष्ट नै आउने गरेको छ । 

५०२ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयको अहिलेको अवस्था निकै बिजोग देखिन्छ । भवन भत्काएपछि समितिले नै ३ वटा कोठा बनाइदिएको छ । तर, बालबालिकाका लागि खेल्न र प्रार्थना गर्ने चौरको अभाव छ । 

२७ जना शिक्षक कर्मचारीको रहेको उक्त विद्यालयमा बेलुकाको समयमा कलेज सञ्चालनमा छ । बाग्मती सामुदायिक कलेज सञ्चालनमा छ । उक्त कलेजले विद्यालयलाई मासिक भाडा तिर्दै आएको छ । सोही भाडाबाट आएको पैसाले विद्यालयको खर्च व्यवस्थापन भइरहेको प्रधानाध्यापक न्यौपानेले बताए । 

विद्यालयको भवन त समितिले ८० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेर निर्माण गरेको छ । तर, विद्यार्थीका लागि खेल्न चौर नहुँदा प्रार्थना समेत गर्न नपाइएको उनको भनाई छ । 

shiddheshwor school (8)

उक्त विद्यालयमा हाल विभिन्न निजी विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थीहरू समेत पढिरहेका छन् । कोरोना महामारीपछि निजी विद्यालयमा पढ्दै आएका विद्यार्थीहरू समेत त्यहाँ पढ्न आएका हुन् । विशेष गरी कक्षा ८, ९ र १० मा पढ्नका लागि उनीहरू त्यहाँ आएको देखिन्छ । 

विद्यालयले समस्या समाधान गरिइदिनका लागि विभिन्न निकाय नगुहारेको भने होइन । तर, कहीँ कतैबाट पनि सुनुवाइ हुन सकेको छैन । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश तिमिल्सिनाले भत्काएर केही भाग बनाइए पनि यसको दीर्घकालीन समाधान हुनुपर्ने बताए । ‘विद्यार्थीहरूलाई निकै जोखिममा राखेर पढाउनुपरेको छ । नजिकै खोलाको पनि डर छ । यसको दीर्घकालीन समाधानका लागि सरकारसँग पहल गरिरहेका छौँ ।’ अध्यक्ष तिमिल्सिनाले भने । 

विद्यालयको नजिकै सार्वजनिक जग्गा छ । अध्यक्ष तिमिल्सिनाका अनुसार त्यो वरपर ३४ रोपनी भन्दा बढी सार्वजनिक जग्गा छ । विद्यालयले त्यही जग्गालाई प्रयोग गर्न मिल्ने गरी व्यवस्थापन गरिदिन पनि अनुरोध गर्दै आएको छ । त्यसका लागि काठमाडौँ महानगरपालिकामा पत्र पनि पठाइएको उनको भनाइ छ । 

विद्यालयको पछाडि रहेको सार्वजनिक जग्गामा हाल मित्सुबिसी मोटर्सले प्रयोग गर्दै आएको छ । उसले के कसरी प्रयोग गरेको हो भन्नेबारेमा कोही जानकार छैनन् । 

काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले विद्यालय व्यवस्थापनका लागि पहल भइरहेको बताए । 

‘विद्यालयको समस्याबारे महानगर जानकार छ । त्यसको दीर्घकालीन व्यवस्थापन कसरी गर्ने भनेर छलफल गरिरहेका छौँ । अन्यत्रै सार्ने कि भन्ने विषयमा छलफल भइरहेको छ । कुनै भाडाको घरमा सार्ने कि भन्ने विषयमा समेत छलफल चलिरहेको छ । अहिलेसम्म कुनै ठोस निर्णय भने भइसकेको छैन ।’ प्रमुख सुवेदीले भने । 

‘भवन नै भत्काइएपछि विद्यार्थीहरूमा समेत असर परेको छ । आफूले पढिरहेको विद्यालयको भवन भत्किएपछि त्यसको असर त हामीलाई पनि स्वाभाविक रूपमा परिहाल्छ । हामीले सरहरूलाई कहिले व्यवस्थापन हुन्छ भनेर भनिरहेका हुन्छौँ ।’ कक्षा १० मा अध्ययनरत छात्र सविन घोरासैनीले भने । 

विद्यालयको गुणस्तर :

खोला किनारमा सञ्चालित भए पनि विद्यालयको गुणस्तर अन्य नाम चलेका विद्यालयको तुलनामा कम छैन । त्यो क्षेत्रमा नाम चलेका विद्यालय मध्येको एक हो । कुनै बेला १५० जना मात्रै विद्यार्थी रहेको उक्त विद्यालयमा हाल ५०२ जना अध्ययन गरिरहेका छन् । यति मात्र नभएर कक्षा ९ र १० मा पढ्न आउने विद्यार्थीलाई फर्काइएको छ । 

‘कक्षाकोठा छैनन् । बी सेक्सन बनाएर राख्न सकिने अवस्था छैन । भर्ना हुन आएका धेरै विद्यार्थीलाई फर्काएका छौँ ।’ प्रधानाध्यापक न्यौपानेले भने । 

shiddheshwor school (1)

विद्यार्थीहरूका लागि आवश्यक पर्ने पाठ्यपुस्तक समेत विद्यालयमै उपलब्ध गराइन्छ । त्यसका लागि ५ हजार भन्दा बढी पाठ्यसामग्री रहेको पुस्तकालय स्थापना गरिएको छ । 

त्यति मात्र नभएर कम्प्युटर ल्याबको समेत व्यवस्था गरिएको छ । जसमा एक कक्षाका विद्यार्थीले हप्तामा दुई दिन कम्प्युटर क्लास लिन पाउँछन् । उक्त विद्यालयमा पढ्नको लागि पेप्सिकोला, मुलपानी, गैरीगाउँ, सिनामंगल लगायतका क्षेत्रबाट पनि आउने गरेका छन् । 

‘विद्यालयको गुणस्तर र पढाइको स्तर राम्रो भएर नै मुलपानीबाट आउँछु ।’ कक्षा ९ मा अध्ययनरत छात्रा अनिशा गिरीले भनिन् । उनी विद्यालयमा आउनको लागि गाडीमा ४५ मिनेट लाग्छ । घर नजिकै अन्य विद्यालय नभएका भने होइनन् । तर पनि मुलपानीबाट पढ्नको लागि शिद्धेश्वर माविमा नै आउने गरेको उनको भनाइ छ । shiddheshwor school (9)

बालबिकासदेखि तल्ला तहका कक्षाका लागि बालबालिकाको रुचि अनुसार पढाउने गरिएको हुन्छ ।

नपढ्ने विद्यार्थीलाई कुटपिट गरेर डराउनु/तर्साउनुभन्दा उनीहरू सम्झाई बुझाई गरेर पढ्ने बनाउने गरिएको प्रधानाध्यापक न्यौपानेको भनाई छ । 

भवन भत्किएपछि अब अर्को वर्ष विद्यार्थी घट्ने हुन भन्ने चिन्ता छ । निकै असहजताका साथ विद्यार्थीहरूलाई पढाइरहेको भन्दै यसले गर्दा अर्को वर्ष विद्यार्थीमा कमी आउने चिन्ता रहेको उनको भनाइ छ । 

(तस्बिर : रोशन पोखरेल ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप