बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र

नयाँ वर्षमा ५ फिल्मको भीड : स्टारको भिडन्त, लगानीको जोखिम

बिहीबार, १९ माघ २०७९, ०९ : ५०
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । कोरोनामा सुस्ताएको नेपाली फिल्म क्षेत्र पुरानै लयमा फर्किएको छ । फिल्म निर्माण, प्रदर्शन, फेस्टिभल, अवार्डलगायतका गतिविधि पहिलेझैँ हुन थालेका छन् । पहिले झैँ हुन नसकेको फिल्मको व्यवसाय मात्र हो ।

केहीलाई छोडेर भन्ने हो भने जस्ता फिल्म आए पनि लगानी स्वाहा भएका छन् । यो वर्ष वैशाखदेखि माघको तेस्रो साता (माघ १७) सम्म करिब १० महिनामा ४ दर्जनको हाराहारीमा फिल्म रिलिज भए । तीमध्ये जम्मा ७ फिल्म लगानी सुरक्षित गर्न सफल छन् । जसमा ‘कबड्डी ४’, ‘ए मेरो हजुर ४’, ‘झिँगे दाउ’, ‘२ नम्बरी’, ‘प्रेम गीत ३’ र ‘महापुरुष’ र ‘के घर के डेरा’ हुन् । अन्यको लगानी बालुवामा पानी झैँ भएको छ । लगानी असुरक्षित भएको मात्र कहाँ हो र ? कतिपय फिल्म त रिलिजकै भोलिपल्ट उत्रिएका छन् ।

के अहिले स्टार, के पुराना या नयाँ कलाकार नै किन नहुन्, सबैमा फिल्म चिलिम भएका छन् । कतिपय फिल्म एकअर्काेसँग भिड्दै सकिएका छन् भने कतिपयले सिङ्गल रिलिजमा पनि दर्शक नपाएको यथार्थ हो ।

हरेक नयाँ वर्षमा दर्शकले निर्माण समय चर्चा भएका, राम्रा भनिएका र स्टार कलाकारले भरिएका फिल्म हेर्न अवसर मिल्दै आएको छ । रिलिज क्यालेन्डर हेर्दा आउँदो नयाँ वर्ष पनि त्यस्तै हुने देखिन्छ ।

जुनै समय रिलिज भएका फिल्मको व्यवसाय नभएकाले होला सायद अहिले निर्माता, निर्देशकको ध्यान अगामी नयाँ वर्ष अर्थात् वैशाख १ मा पर्न थालेको छ । अहिलेसम्मको रिलिज क्यालेन्डर हेर्दा नयाँ वर्षमा ५ फिल्म आउने देखिएको छ । जसमा ‘भगवत् गीता’, ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ रहेका छन् । सम्भवतः अब यो मितिमा अन्य फिल्म नथपिन सक्छन् ।

कस्ता छन् फिल्म ?

हरेक नयाँ वर्षमा दर्शकले निर्माण समय चर्चा भएका, राम्रा भनिएका र स्टार कलाकारले भरिएका फिल्म हेर्न अवसर मिल्दै आएको छ । रिलिज क्यालेन्डर हेर्दा आउँदो नयाँ वर्ष पनि त्यस्तै हुने देखिन्छ ।

नयाँ वर्षमा आउने भनेर रिलिज मिति तोकिएका फिल्महरू ‘भगवत् गीता’, ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ पनि विभिन्न कारणले चर्चामा रहन सफल र स्टारले भरिएका फिल्म हुन् । फिल्ममार्फत स्टारको पनि भिडन्त हुँदैछ ।

नयाँ वर्षमा आउने भनिएका मध्ये ‘भगवत् गीता’ अभिनेत्री निर्देशक झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म हो । सुहाना थापा र धीरज मगरको मुख्य भूमिका रहने फिल्म निर्माण घोषणा समयदेखि नै चर्चामा छ । यसअगाडि केही व्यावसायिक रूपमा सफल फिल्म दिएकी निर्देशक झरनाको यो फिल्म अहिलेसम्म छायाङ्ककन भने भएको छैन । त्यसैले आउँछ, आउँदैन भन्न सकिने अवस्था छैन । तर रिलिज मिति भने उनीहरूले लक गरेर बसेका छन् ।

त्यस्तै ‘नाइँ नभन्नु ल ६’ सफल फिल्म ‘नाइँ नभन्नु ल’को छैटौँ सिरिज हो । थुप्रै सफल फिल्मका निर्देशक विकासराज आचार्यको यो महत्त्वकाङ्क्षी फिल्म भनिएको छ । फिल्ममा आँचल शर्मा, आशीर्वाद क्षेत्रीलगायतको अभिनय छ ।

अर्को फिल्म ‘प्रसाद २’ पनि सफल फिल्म ‘प्रसाद’ को सिक्वेल हो । छायाङ्कन समयदेखि नै विवाद र चर्चा दुवै हँुदै आएको फिल्म सुदर्शन थापाले निर्देशन गरेका हुन् । प्रेमकथाको फिल्म राम्रो बनाउन माहिर निर्देशक थापाको यो फिल्ममा विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिकामा छन् ।

नेपाली फिल्मको व्यवसाय यो समयमा राम्रो हुन्छ भन्ने कुनै निश्चित छैन ।

यस्तै ‘जारी’ अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म हो । लिम्बू समुदायको प्रेमकथामा आधारित यो फिल्ममा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन छ । फिल्मका निर्माता रामबाबु गुरुङ हुन् । फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

नयाँ वर्षमै आउने भनिएको ‘बीए पास’ पनि कुनै न कुनै कारणले चर्चा भएको फिल्म हो । दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको फिल्ममा दयाहाङ, प्रकृतिको साथमा बुद्धि तामाङ, शिशिर वाङ्देल र रवीन्द्र झाको पनि मुख्य भूमिका छ । फिल्म प्रवेश पौडेलले निर्देशक गरेका हुन् भने निर्माता रोहित कट्टेल र रत्न श्रेष्ठ हुन् ।

यो समयमै किन भीड ?

नेपाली फिल्मको व्यवसाय यो समयमा राम्रो हुन्छ भन्ने कुनै निश्चित छैन । कुनै फिल्मले चाडपर्व बाहिर पनि व्यवसाय गरेका छन् भने कतिपय फिल्म राम्रो मानिएको समयमा पनि नभएको अवस्था छ । विगत केही वर्षअगाडि फर्किने हो भने तीज, दसैँ, तिहार र नयाँ वर्षमा रिलिज भएका फिल्मले राम्रो व्यवसाय गरेको पाइन्छ ।

यस्ता समय एकसाथ ४ फिल्मसम्म रिलिज भएका छन् । ती सबै फिल्मले दर्शक पाएका उदाहरण पनि छन् । त्यसैले पनि यस्ता मितिमा निर्माता निर्देशकले फिल्म थोपार्ने गरेको निर्माता, वितरक र प्रदर्शक छविराज ओझा बताउँछन् ।

‘दसैँ, तिहार, तीज, नयाँ वर्षमा दर्शकले बढी फिल्म हेर्छन्’, ओझाले भने ‘नयाँ वर्षमा मैले धेरै पटक फिल्म रिलिज गरेको छु । सबै फिल्मले राम्रो व्यवसाय गरेका छन् ।’ नयाँ वर्षमा रिलिज भएका फिल्मले पहिलो दिन मात्र होइन केही  दिनसम्म राम्रो व्यवसाय गर्ने ओझाले सुनाए । ‘अन्य समय फिल्म नचलेको भएकाले पनि निर्माता निर्देशकले नयाँ वर्षमा फिल्म थुपारेका हुन्,’ ओझाले थपे ।

ओझाको विचारसँग निर्माता वितरक गोपाल कायस्था पनि सहमति जनाउँछन् । उनी पनि व्यवसायको आसले नयाँ वर्षमा फिल्म थुपारिने दोर्‍याउँछन् । ‘तीज, दसैँ, तिहार र नयाँ वर्ष पहिलेदेखि नै फिल्म रिलिजका लागि राम्रो डेटको रूपमा बुझिँदै आएको छ,’ कायस्थले भने ‘विगतका दिनमा यस्ता मितिमा राम्रो व्यवसाय गरेकाले पनि निर्माताको ध्यान पर्ने गरेको हो ।’ यस्ता मितिमा ४ फिल्म रिलिज आउँदा पनि व्यवसाय हुने विश्वास निर्माता, निर्देशकमा अझै रहेको कायस्थ सुनाउँछन् । भन्छन्, ‘अन्य समय फिल्म जुधाउन निर्माता डराउँछन् । यो समय हौसिन्छन् । त्यो भनेको व्यवसाय हुने कन्फिडेन् पनि हो ।’ 

राम्रो मात्र चल्छ

नयाँ वर्ष ठूलो चाड होइन र त्यसमा पनि सबैलाई बिदा हुन्छ भन्ने पनि छैन । तर यो समय दर्शक मनोरञ्जन खोज्दै हलसम्म पुग्छन् भन्ने विश्वास निर्माता, निर्देशकमा छ । त्यसैले उनीहरू यो समय फिल्मको भीड लगाउने गर्छन् । एउटा सत्य के हो भने फिल्मले दर्शक पाउन रिलिज मिति मात्र राम्रो भएर हुँदैन । फिल्म पनि राम्रो हुनुपर्छ । राम्रो फिल्मले यस्तो मिति पनि कुर्नु पर्दैन । राम्रो मितिमा लागेका फिल्मले पनि व्यवसाय नगरेको यथार्थ सबैमाझ लुकेको छैन ।

निर्माता तथा वितरक गोपाल कायस्थ पनि व्यवसायका लागि राम्रो मितिभन्दा फिल्मको कन्टेन्ट बलियो हुनुपर्ने बताउँछन् । ‘कन्टेन्टमा ध्यान नदिने रिलिज मितिको पछि लाग्ने धेरै छन् फिल्म क्षेत्रमा,’ कायस्थले भने, ‘कन्टेन्ट बलियो भयो भने जुनै समयमा पनि फिल्मले व्यवसाय गर्छ ।’ बलियो कन्टेन्टलाई रिलिज मितिले व्यवसायका लागि प्लस मात्र गर्ने कायस्थ सुनाउँछन् । उनले थपे, ‘कन्टेन्ट राम्रो भएन भने राम्रो मितिमा पनि फिल्म चल्दैन ।’

निर्माता तथा वितरक रोहित कट्टेल पनि फिल्म चल्नका लागि मितिभन्दा पनि कन्टेन्ट बलियो हुनुपर्नेमा जोड दिन्छन् । 

‘कन्टेन्ट पनि राम्रो छ र मिति पनि राम्रो भए, सुनमा सुगन्ध हुन्छ’, कट्टेलले भने, ‘राम्रो कन्टेन्टका लागि राम्रो मिति अनिवार्य छैन ।’ कट्टेलले पनि आफ्नो फिल्म ‘बीए पास’को रिलिज मिति नयाँ वर्षमै जुराएका छन् । 

आफूले फिल्मको रिलिज मिति नयाँ वर्ष पहिले खालि भएकाले जुराएको र अहिले अन्य भिड्न आएको सुनाए । ‘जे जसरी भीड लागे पनि नेपाली बजारले एकै मितिमा ५ फिल्म धान्न सक्दैन,’ कट्टेलले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप