शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वार्षिक १४ लाख आम्दानी गर्दै जुम्लाको तातोपानी धारा

शुक्रबार, २० माघ २०७९, ०८ : १२
शुक्रबार, २० माघ २०७९

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका- २ मा अवस्थित तातोपानी धारामा वार्षिक १४ लाख आम्दानी हुने गरेको छ। चिसोको बेलामा मासिक १ लाख  २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताइएको छ। त्यो रकम तातोपानी धारामा नुहाउने पर्यटकबाट आम्दानी भएको तातोपानी धाराका कर्मचारी धनबहादुर रावत बताए।

चिसो मौसम भएकोले तातोपानी धारामा नुहाउने पर्यटक बढेको उनले बताए। रावतका अनुसार चिसो मौसममा तातोपानीमा नुहाउने आन्तरिक पर्यटक बढेका हुन्। तातोपानी गाउँपालिका-२ मा रहेको जर्मी गाउँमा रहेको तातोपानी धारामा अहिले दैनिक १ सय जनाभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गर्दछन्। शनिबार र बिदा दिन पर्यटक भिडभाड हुने गरिरहेको धनबहादुर रावत बताउँछन्।

प्रति महिना यो सिजनमा १ लाख २० हजार रुपैयाँसम्म  आम्दानी हुन्छ। गर्मी सिजनमा भने पर्यटकको सङ्ख्या घट्ने गरेको उनले जनाए। अहिले विदेशी नागरिकलाई प्रवेश शुल्क १ सय तथा अन्यलाई ३० रुपैयाँ टिकट बापत लिने गरिएको छ। 

धाराको सञ्चालन तथा व्यवस्थापन विषयमा तातोपानी गाउँपालिकाले कार्यविधि बनाएको छ । तातोपानी गाउँपालिका ( २ का अध्यक्ष चन्द्रमान बुढाले कार्यविधि भर्खर पास भएको र कार्यविधि अनुसार नयाँ शुल्क निर्धारण गर्ने तयारी भइरहेको जानकारी दिए। उनले अहिले धाराको व्यवस्थापनको जिम्मेवारी वडा कार्यालयले लिएको बताए। उनका अनुसार ३ जना कर्मचारी रेखदेखका लागि राखिएको छ। 

तातोपानीमा नुहाउन पाउँदा भने पर्यटक खुसी देखिन्छन् । जुम्लामा हिउँदे सिजनमा चिसो पानीमा नुहाउन कठिन हुने भएकाले तातोपानीमा नुहाउनेको भिड पनि लाग्छ। शनिवारको दिन कार्यालयका कर्मचारी तथा आन्तरिक पर्यटकहरू नुहाउन आउने गरेका छन् । तातोपानीमा नुहाउन आएका जुम्ला सिंजा  गाउँपालिकाका ( ६ कि मैना रोकाया तातोपानीले नुहाउने मात्रै नभई औषधि समेत हुने विश्वास रहेको बताउँछिन्।

पछिल्लो समय तातोपानीमा सरसफाइ पनि निरन्तर गर्ने गरिन्छ। गाउँपालिकाले तातोपानीको सरसफाइमा जोड दिएको अध्यक्ष नन्दप्रसाद चौलागाईँले  बताए।उनले जिल्लाकै पर्यटकीय केन्द्र तातोपानी भएको हुँदा यसलाई विशेष ध्यान दिने बताए। 

तातोपानीको धारा व्यवस्थापनका लागि पर्याप्त बजेट अभावका कारण समय अनुकूल संरचना बनाउन नसकिएको उनले जनाए। तर यसका लागि स्थानीय सरकारले पहल गरिरहेको छ । अहिले महिलाहरू नुहाउने धारा सुरक्षित गरिएको वडा कार्यालयले जनाएको छ । तातोपानीमा जुम्लासहित नजिकको जिल्ला कालिकोट, मुगु, जाजरकोट, डोल्पाबाट पनि मानिसहरू नुहाउन आउने गरेका छन् ।

IMG_20230202_215909

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप